वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनसँग ५० दिनभित्र सम्झौता नभए रुसमाथि १०० प्रतिशत ॅसेकेन्डरी ट्यारिफ’ लगाउने धम्की दिनुभएको छ ।
सोमबार ह्वाइट हाउसमा नाटो महासचिव मार्क रुटसँगको भेटका क्रममा ट्रम्पले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनप्रति निराशा व्यक्त गर्नुभयो र ५० दिनभित्र सम्झौता नभए कडा भन्सार शुल्क लगाउने धम्की दिनुभयो ।
‘हामी निकै दुखी छौँ, म रुससँग छु तर हामी त्यो कुरा फरक दिनमा छलफल गर्नेछौँ तर यदि ५० दिनमा सम्झौता भएन भने हामी धेरै कडा भन्सार शुल्क लगाउने छौँ, शुल्क लगभग १०० प्रतिशत । तपाईं तिनीहरूलाई सेकेन्डरी ट्यारिफ भन्नुहुन्छ’ उहाँले भन्नुभयो– ‘हामीले रुस र युक्रेनसँगको यो युद्धमा लगभग तीन खर्ब ५० अर्ब अमेरिकी डलर खर्च गरेका छौँ र यो अन्त्य भएको हेर्न चाहन्छौँ । यो मेरो युद्ध थिएन । यो बाइडेनको युद्ध थियो । यो मेरो युद्ध होइन ।’
ट्रम्पले एउटा सम्झौता पनि सार्वजनिक गर्नुभयो । उक्त सम्झौताअन्तर्गत नाटोले अमेरिकाबाट हतियार खरिद गर्नेछ र त्यसपछि रुससँग चलिरहेको युद्धको बिचमा युक्रेनलाई वितरण गर्नेछ ।
गत हप्ता, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले रुसी समकक्षी सेर्गेई लाभरोभसँगको भेटका क्रममा शान्तिवार्तामा प्रगति नभएकोमा अमेरिकी राष्ट्रपति ट्रम्पको निराशा र हताशा प्रतिध्वनित गरेको बताउनुभएको थियो ।
लाभरोभसँगको भेटपछि जुलाई १० मा क्वालालम्पुरमा पत्रकारसँग कुरा गर्दै रुबियोले रुस र युक्रेनबिचको द्वन्द्वको नतिजा खोज्नमा संलग्न सबै पक्षलाई संलग्न गराउन अमेरिकाको रणनीति रहेको बताउनुभएको थियो । रुबियोले लाभरोभसँगको आफ्नो वार्तालाई स्पष्ट र महत्त्वपूर्ण भन्नुभयो । (रासस/एएनआई)