काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद चित्रबहादुर केसीले कुनै समयमा सत्ताधारी पार्टीले बिस सिटको लोभमा रास्वपालाई जोगाएको आरोप लगाउनुभएको छ ।
२०८२ असार २९ गते आइतबार विशेष समय लिएर बोल्दै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो ।
‘मैले सत्ताधारी पार्टीहरू चोखा छन् भनेर भन्दिनँ’ उहाँले भन्नुभयो– ‘उनीहरूसित बिस सिट छ भनेर घण्टीपार्टीले जस्तोसुकै कुकर्म गरे पनि सत्ताधारीले माया गरेका छन् । घण्टीपार्टीलाई जोगाएका छन् ।’
पुराना दलले देश बिगारे भनेर आएकाको हविगत पनि देखिएको उहाँको भनाइ थियो ।
उहाँले भन्नुभयो– ‘पुराना पार्टीले देश बिगारे, घुस खाए भनेर घण्टी बजाउँदै आएकाहरूको हालत पनि हामीले देखिरहेका छौँ ।’
मन्तव्यको क्रममा उहाँले आफ्ना कुकर्मलाई छोप्न हस्ताक्षर अभियान चलाइरहेको पनि बताउनुभयो ।
लोकतन्त्र पक्षधरबाटै लोकतन्त्रमाथि खतरा
मन्तव्यको प्रारम्भमा उहाँले आफूले २०७९ सालको चुनावपछिको पहिलो संसद् अधिवेशनमा प्रतिगामी खतराबारे चेताएको स्मरण गर्नुभयो ।
‘मैले २०७९ सालको पहिलो अधिवेशनमै भनेको थिएँ’ उहाँले भन्नुभयो– ‘लोकतन्त्र, गणतन्त्रका लागि जेलनेल खाएकाहरूबाटै गणतन्त्र सिध्याउने खेलोमेलो चल्न सक्छ ।’
सत्ताबाट फालिएकाले गुमेको स्वर्ग फिर्ता गर्न प्रयत्न हुने बताउँदै उहाँले त्यसका विरुद्ध सत्ताधारी शक्तिहरू सचेत हुनुपर्ने उहाँको बताउनुभयो ।
‘सत्तामा गएकाहरूले घुस खान, भ्रष्टाचार गर्न लाजै नमान्ने भएपछि नेपाली जनतालाई लोकतन्त्र आवश्यक छैन भनेर प्रतिगामीले प्रचार गर्ने नै भए’ अध्यक्ष केसीले भन्नुभयो– ‘यसरी प्रतिगामी तत्त्वलाई मलजल भएको छ ।’
उहाँले सत्तामा रहेकाहरूले विशुद्ध घुस खाने होइन, जनताको पक्षमा काम गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
प्रतिगमन भए अनिष्ट निम्तिन्छ
सांसद केसीले लोकतन्त्र, गणतन्त्र सिद्धियो भने अनिष्ट निम्तिने दाबी गर्नुभयो ।
सत्ताधारी पार्टीहरूले आफू सही भएको प्रमाणित गर्न पनि उहाँले आग्रह गर्नुभयो ।
‘आफू सही भएको प्रमाणित गरेर देखाउनुपर्दछ’ उहाँले व्यङ्ग्य कस्नुभयो– ‘एक वर्षसम्म सम्पत्तिको विवरण बुझाउन नसक्नेले मुलुक हाँक्न सक्छ ?’
उहाँले सत्ताधारीहरूले गल्ती गर्ने आफ्नालाई सार्वजनिक रूपमा कारबाही गर्ने हिम्मत देखाउन पनि आग्रह गर्नुभयो ।
नेपाल प्यालेस्टाइन बन्न सक्छ
अध्यक्ष केसीले देशमा विदेशी चलखेल बढ्दै गएको बताउँदै देश प्यालेस्टाइन बन्न सक्नेतर्फ सचेत गराउनुभयो ।
‘जसरी आज प्यालेस्टाइनी जनताले ७५ वर्षदेखि मातृभूमि छोडेर ठुला शक्तिका विरुद्ध लड्नु परिरहेको छ’ उहाँले भन्नुभयो– ‘नेपालमा पनि त्यो स्थितिमा जान सक्छ ।’
उहाँले शक्तिकेन्द्रहरूले नेपाललाई गाजाको स्थितिमा पुऱ्याउन सक्नेतर्फ सचेत हुन आग्रह गर्नुभयो ।