खलङ्गा । प्युठान जिल्लाको माण्डवी गाउँपालिकाका वडा नम्बर ५, ६, ७, ८ र ९ का वासिन्दाले आफूहरूलाई प्रभावित क्षेत्रभित्र पुनः कायम गर्दै थ्री फेज लाइन विद्युत् वितरण गर्न हस्ताक्षर अभियान सञ्चालन गरेका छन् ।
वडा नं. ३ दारिमचौरमा रहेको १२ मेगावाट विद्युत् परियोजनाको गत ३० वर्षदेखि प्रभावित अवस्थामा रहेकोमा हाल सो श्रेणीबाट हटाइएपछि माण्डवीवासीले सो अभियान सञ्चालन गरेका हुन् ।
प्रभावित क्षेत्रका वासिन्दा खगेश्वर सुनारका अनुसार २०८२ असार २७ गते शुक्रबारदेखि सुरु गरिएको सो हस्ताक्षर अभियान समापन भएपछि पालिका कार्यालय र पालिकास्थित कार्यालयमार्फत बुटवल पावर कम्पनीलाई बुझाइनेछ ।
बुटवल पावर कम्पनीको स्वामित्वमा रहेको सो परियोजनाले माण्डवीका उपर्युक्त पाँचओटा वडालाई प्रभावित क्षेत्रबाट हटाएपछि सो क्षेत्रमा बारम्बार विद्युत् जान थालेको उनीहरूको गुनासो छ ।

राष्ट्रिय जनमोर्चा माण्डवी पालिका समितिको ब्यानरमा हस्ताक्षर अभियानका लागि तयार पारिएको ज्ञापनपत्रमा उनीहरूले सो सम्बन्धमा पालिकालाई जानकारी गराउँदा पनि सुनुवाइ नभएको गुनासो गरेका छन् ।
माण्डवीवासीले यी वडाका लागि छुट्टै विद्युत् लाइन विस्तार गर्नसमेत माग गरेका छन् ।
त्यस्तै उनीहरूले पालिकामै रहेको विद्युत् ग्राहक संस्थामार्फत महसुल सङ्कलन गरिएकोमा हिसाब पारदर्शी नभएको आशङ्का गरेका छन् ।
उनीहरूले हिसाब लेखापरीक्षण गरी सार्वजनिक गर्न पनि माग गरेका छन् ।