काठमाडौँ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार तथा राष्ट्रियसभाका सांसद राजेश विश्वकर्माले कुलिङ पिरियड प्रकरणको गम्भीर छानबिन गरी कारबाही गर्न माग गर्नुभएको छ ।
२०८२ असार २४ गते मङ्गलबार राष्ट्रियसभामा विशेष समय लिएर बोल्दै उहाँले सो आवश्यकतामा जोड दिनुभएको हो ।
कुलिङ पिरियड राख्नुका पछाडि कर्मचारीको राजनीतिक सेटिङलाई हटाएर संवैधानिक निकायको निस्पक्षता कायम राख्नु रहेको उहाँको भनाइ थियो ।
राज्यव्यवस्था तथा सुशासन समिति र प्रतिनिधिसभामा एक प्रकारको सहमति कायम भएको अवस्थामा विधेयकमा “बाहेक” शब्द थपेर संसद्को भावनामा कुठाराघात भएको उहाँको दाबी थियो ।
उहाँले यस्तो कार्य देशको संविधान र ऐनकानुनको पनि विरुद्धमा रहेको बताउनुभयो ।
संवैधानिक नियुक्तिसम्बन्धी फैसला गलत
मन्तव्यकै क्रममा उहाँले ५२ ओटा संवैधानिक निकायका प्रमुखको नियुक्तिसम्बन्धी सम्माननीय अदालतको फैसला गलत रहेको बताउनुभयो ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय सुनुवाइ छलेर सो खालको नियुक्ति गरेको बताउँदै उहाँले अदालतको फैसलाले सरकारको स्वेच्छाचारितालाई सहयोग गरेको बताउनुभयो ।
उहाँले सो फैसलाबाट जनताको अदालतप्रतिको विश्वास कमजोर हुने उहाँको धारणा थियो ।
तालिबानलाई रुसको समर्थन गलत
त्यस्तै, शून्य समयमा मन्तव्य राख्दै सांसद विश्वकर्माले तालिबान जस्तो कट्टरपन्थीलाई रुसले समर्थन गर्नु गलत भएको बताउनुभयो ।
‘रुसको समर्थन महिलाको विश्वव्यापी अधिकारको हनन् हो’ उहाँले भन्नुभयो ।
तालिबानले महिला स्वतन्त्रताको विरुद्ध रूढिवादी प्रकारले हमला गरेको उहाँको भनाइ थियो ।
उहाँले भन्नुभयो– ‘हामी अफगानी महिलामाथिको दमन, अपमान र मानवअधिकार हनन्को घोर विरोध गर्दछौँ ।’