काठमाडौँ । साम्राज्यवादी युद्धको विरोध गर्दै आगामी असार २७ गते शुक्रबार जुलुससहित सभा सम्पन्न हुने भएको छ ।
२०८२ असार २३ गते सोमबार सम्पन्न १२ राजनीतिक दल तथा दुई अभियानको बैठकले सो निर्णय गरेको हो ।
राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार आनन्द शर्माका अनुसार असार २७ गते दिउसो २ बजे शान्तिवाटिकामा जम्मा भएर जुलुस सुरु हुनेछ । सो जुलुस भृकुटीमण्डपमा पुगेर सभामा परिणत हुनेछ ।
सभालाई आयोजक दल तथा अभियानका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
नेता शर्माका अनुसार अमेरिकी, इजरायलीसहितका साम्राज्यवादी शक्तिले प्यालेस्टाइन, इरानलगायत विश्वभरि थोपरेको युद्धको विरोध गर्न सो कार्यक्रमको आयोजना गरिएको हो ।
बैठकमा नेकपा (मसाल), राष्ट्रिय जनमोर्चा, नेकपा (माओवादी केन्द्र), क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, नेकपा (एकीकृत समाजवादी), विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, नेकपा (बहुमत), अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, मौलाना नेतृत्वको जनता समाजवादी पार्टी, गोपाल किरातीको अभियान र राजनीतिक संवाद थालनी अभियानका प्रतिनिधि सहभागी हुनुहुन्थ्यो ।
माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा सो बैठक सम्पन्न भएको थियो ।