• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

२१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

मोहनविक्रम सिंहको ‘पेमा लामा प्रश्नोत्तरमाला’ बारे सङ्क्षिप्त चर्चा


  •   शुक्रबार, असार १३, २०८२ मा प्रकाशित
  • सुवास जिसी ##

    Advertisement

    मोहनविक्रम सिंहद्वारा लिखित ‘पेमा लामा प्रश्नोत्तरमाला’ को प्रथमपटक २०३० सालमा प्रकाशित भएको थियो । पछिल्लोपटक यसको पाँचौँ संस्करण प्रकाशित भएको छ ।

    प्रथम भागमा कमल र पेमाको बिचमा संवाद रहेको छ । यो कृति मोहनविक्रम सिंह (एमबी) काठमाडौँको केन्द्रीय कारागारमा रहँदा जेलभित्र सँगै रहेका मुस्ताङका एकजना व्यक्ति पेमा लामासँग भेट हुन्छ । उनी एउटा ज्यानसम्बन्धी मुद्दामा गाउँका सामन्तले फसाएर जेलमा पुगेका थिए ।

    जेलभित्र नै कैयौँ पार्टीका प्रशिक्षण र क्लास हुनुका साथै कयौैँ राजनैतिक गतिविधि हुन्थे । त्यही क्रममा पेमा लामालाई एमबीको गहिरो प्रभाव पऱ्यो । पेमाले सिंहसँग छलफल गर्न थाल्नुभयो । उहाँले मार्क्सवादी–लेनिनवादी दर्शन, पार्टी र क्रान्तिबारे अनेकौँ प्रश्न गर्नुहुन्थ्यो । एमबीले यसको जवाफ दिनुहुन्थ्यो । अन्ततः बुद्ध धर्मबाट प्रभावित पेमा लामा विस्तारै कम्युनिस्ट पार्टीबाट प्रभावित हुनुभयो । जेलभित्र नै पार्टीसदस्यताका लागि दर्खास्त दिनुभयो ।

    १६ वर्षको जेलजीवनपछि पेमा लामा २०२७ सालमा मुस्ताङ फर्किनुभयो । मुस्ताङ गएपछि उहाँले त्यहाँ पार्टीको काम गर्ने निर्णय भएको थियो । पछि एमबी पनि जेलबाट छुट्नुभयो । पेमा लामा एमबीलाई भेट्न प्युठान पनि जानुभयो । मुस्ताङमा पार्टी र किसान सङ्घको सङ्गठन बनाउने योजना पनि बन्यो । दुःखको कुरो, प्युठानबाट फर्केको केही समयमा नै डायरियाका कारण उहाँको निधन भयो ।

    एमबीको भनाइमा पेमा अन्यन्त इमानदार, कर्मठ र जुझारु व्यक्तित्व हुनुहुन्थ्यो । उहाँ निकै सहयोगी, निस्वार्थी र सबैको आदरणीय हुनुहुन्थ्यो । उहाँ एउटा कम्युनिस्टमा हुनुपर्ने उच्च सर्वहारा दृष्टिकोण र क्रान्तिकारी स्प्रिटले लैस भएको व्यक्तित्व हुनुहुन्थ्यो ।

    उहाँको निधनपछि पार्टीलाई क्षति त भयो नै, उहाँप्रतिको आत्मीयताले एमबीलाई पनि गहिरो दु:ख भयो । उहाँप्रति सम्मान व्यक्त गर्न र सिङ्गो कम्युनिस्ट आन्दोलनका विविध प्रश्न र जिज्ञासा मेटाउने उद्देश्यले एमबीले यो प्रश्नोत्तरमाला उनै पेमा लामाप्रति समर्पित गरेर प्रकाशन गर्नुभयो ।

    पहिलो भागमा कमल र पेमाबिचका २३८ ओटा प्रश्नोत्तर समावेश छन्, जसमा प्रायःजसो पेमाका प्रश्न छन् भने कमलले उत्तर दिएका छन् ।

    प्रथम भागमा नौओटा परिच्छेद रहेका छन् । ती परिच्छेद खासगरी मार्क्सवादी दर्शन, कम्युनिस्ट आन्दोलन र राजनीतिसँग सम्बन्धित छन् । उल्लेखित विषयमा आधारित रहेर विभिन्न प्रश्नको निकै सरल, मौलिक, तथ्यपरक र मार्क्सवादी विद्यार्थीका प्रारम्भिक पाठकले सजिलै बुझ्ने गरी विषयवस्तुको प्रस्तुति दिइएको छ ।

    पहिलो भागको पहिलो परिच्छेदमा समाजमा केही धनी र गरिब किन हुन्छ भन्ने अत्यन्त आधारभूत र महत्त्वपूर्ण प्रश्नबाट विषयको प्रारम्भ भएको छ । यस विषयमा लेखकले धनको स्रोत जमिन भएको र जमिनमा परिश्रम मिलेपछि त्यसको मूल्य हुने कुरा स्पष्ट गुर्नभएको छ । जमिन, हावा, पानी यी सबै प्रकृतिबाट निशुल्क प्राप्त हुन्छन् तर तीनमा मानवीय परिश्रमलाई मिसाइयो भने त्यो धनमा परिणत हुन्छ, सम्पत्ति बन्दछ । त्यसकारण मानवीय परिश्रम सबैभन्दा ठुलो धन हो ।

    समाजमा गरिबले सबैभन्दा बढी परिश्रम गर्दछन् तर त्यसको ठिक उल्लो समाजमा परिश्रम गर्नेहरू गरिब हुन्छन् । उनीहरू भोको र आधा पेट खान्छन् तर मुठ्ठीभर व्यक्ति धनी हुन्छन् । त्यसको कारण हो, शोषण । कसैको परिश्रमको फललाई कुनै मूल्य नतिरी हरण गर्नु शोषण हो । शोषण गरेर नै अल्छी धनी बन्दछन्, गरिब सधैँ गरिब हुन्छ । समाजको उत्पत्तिदेखि नै यो विभेद जारी छ ।

    हालै बुर्किना फासोका शासक इब्राहिमले एउटा महत्त्वपूर्ण भिडियोमा भनेका छन्– “बुर्किनाको सानले पेरिस चम्किन्छ तर त्यही सुनखानीमा काम गर्ने मजदुरको छोरा किन भोकले मर्छ ?” यसको कारण हो शोषण । लेखकले निकै सटिक रूपमा पहिलो परिच्छेदमा प्रश्नको उत्तरलाई प्रस्तुत गर्नुभएको छ ।

    धर्मसम्बन्धी पेमा र कमलको संवादमा बढो वैज्ञानिक र तार्किक संवाद भएको छ । धर्मले हाम्रो आँखाको अगाडि भएको संसारलाई असत्य र मिथ्या भन्न लगाउँछ भने अर्कोतिर, उसले हुँदै नभएका परलोक, स्वर्ग र नर्कको कल्पनाले कसरी मानिसको मस्तिस्क भरिन्छ । जीवन जुन हामीले भोगिरहेका छौँ, त्यो अन्त्य र मृत्युपछि बल्ल जीवनको सुरुआत हुन्छ भन्नु निकै ठुलो शोषण हो । शोषकले गरिबले आफूमाथि भएको शोषण थाहा नपाउन् भनेर धर्मको नाममा डर, त्रास पैदा गरेर शोषण गरेका हुन्छन् । उनीहरूले सुरुमा जनतालाई ईश्वरको दासता स्वीकार गर्न लगाउने र जब ऊ एकपटक कसैको दासताका लागि अभ्यस्त भयो भने उसलाई जीवनभर आफ्ना अधिनमा राख्ने नियतले धनीले ईश्वरका कुरा गरेका छन् भन्ने शशक्त विचार राखिएको छ ।

    शोषण कसरी सुरु हुन्छ भन्ने प्रश्नमा उक्त परिच्छेदले बढो सरल संवादमा उत्तर दिएको छ । आदिम समाजमा व्यक्तिगत सम्पत्ति थिएन र सबै काम सामूहिक हुन्थ्यो । श्रम सामूहिक भएपछि त्यसमा सामूहिक हक लाग्थ्यो र उपभोग पनि सामूहिक नै हुन्थ्यो । जब समाज अलिकति विकसित भयो, त्यसपछि समाजमा श्रमको विभाजन भयो । श्रमको विभाजनले मानिसको उत्पादनमा वृद्धि भयो, जब मानिसले आफूलाई चाहिनेभन्दा बढी कमाउन थाले । त्यसपछि नै शोषणको सुरुआत भयो । मिहिनेत गर्ने जनताले धेरै उत्पादन गर्ने भए, धनीहरूले ती उत्पादनमा कब्जा गरे र गरिबमाथि शोषण गर्न थाले ।

    समाजको परिवर्तन उत्पादन प्रणालीमा आधारित रहन्छ । उत्पादन प्रणाली बदलिएपछि समाजको समृद्ध ढाँचामा परिर्वतन हुन्छ । दास युग, सामन्ती युग, पुँजीवादी युग र समाजवादी युग यी सबै युगमा उत्पादन शक्ति र उत्पादन सम्बन्ध फरक फरक हुन्छ । यसरी नै समाजमा परिवर्तन हुन्छ । जोसँग जीवन निर्वाहका कुनै साधन छैन, उनीहरू नै सर्वहारा हुन्छन् । पुँजीवादी कालमा नै उनीहरूमाथि व्यापक शोषण हुन्छ । पुँजीवादले राष्ट्रका सीमा छोडेर संसारभर शोषण गर्छ । त्यो नै साम्राज्यवाद हो । यो पुँजीवादको उत्कर्ष हो ।

    शोषणबाट कसरी मुक्ति मिल्छ भन्ने पेमाको प्रश्नमा कमल भन्छन्– “प्रकृतिको नियम नै यस्तो छ कि कुनै पनि कुरा स्थिर रहन्न, त्यसमा निरन्तर परिवर्तन हुन्छ । दास युग पनि आफ्नो समयमा शक्तिशाली थियो । त्यो नाश भएर गयो । सबै शोषण वर्गले आआफ्नो व्यवस्था अमर छ भन्छन् तर आफूभन्दा पहिलेको व्यवस्था अन्त्य भएको बिर्सिन्छन् । हरेक व्यवस्थाको गर्भबाट अर्को व्यवस्था जन्मिन्छ । त्यसकारण शोषणको अन्त्य पनि अवश्य हुन्छ । सर्वहारा क्रान्तिले शोषणप्रधान व्यवस्थाको अन्त्य गर्दछ । त्यसका लागि शोषक वर्गलाई तिनीहरूको स्वार्थमाथि आउन नदिन सशस्त्र सङ्घर्ष अनिवार्य छ । मजदुर वर्ग समाजको क्रान्तिकारी वर्ग हो । त्यसकारण शोषणबाट मुक्त हुन सर्वहरा वर्गको विकास गर्नु जरुरी छ ।”

    सन् १८१८ मा जर्मनीमा जन्मेका कार्ल मार्क्स र उनका सहयोद्धा एङ्गेल्सले सन् १८४८ मा कम्युनिस्ट घोषणापत्र लेखे । उनीहरूको सिद्धान्तलाई मार्क्सवाद भनिन्छ । मार्क्सले दुखको कारण पुँजीवादी व्यक्तिगत सम्पत्ति हो र त्यसलाई समाप्त पारेर मिहिनेतकस जनताको स्वामित्वमा सम्पत्ति रहने कुराले गरिबको मुक्ति मिल्छ भन्ने तथ्यको व्यवस्था गरे । यो नै समाजवाद हो ।

    सन् १८४८ ताका नै विश्वमा कम्युनिस्ट आन्दोलनका धेरै ठुला सङ्घर्ष भए । खासगरी फ्रान्स, जर्मनी र युरोपका कैयौँ देशमा ठुला ठुला विद्रोह भए । ती विद्रोहले कम्युनिस्ट आन्दोलनलाई थप उचाइमा पुरायो, जसको कारणले नै रुस र चीनमा क्रान्ति सफल भयो ।

    कम्युनिस्ट आन्दोलनको समयमा कैयौँ आन्दोलनबाट विद्रोह असफल पनि भएका छन् । क्रान्ति एकैपल्ट र एकैनाशले सफल हुँदैन । त्यसका लागि लामो सङ्घर्ष, साधन र प्रयत्नको जरुरी हुन्छ । कैयौँ हार र असफलतापछि नै विजय मिल्छ । फ्रान्समा उतिबेलै कैयौँ ठुला क्रान्तिकारी आन्दोलन भएका थिए तर ती सबै सफल भएनन् । क्रान्तिमा होमिने साहस मात्र भएर पुग्दैन, उनीहरूमा हार र असफलतापछि पनि लामो समयसम्म निराश नभईकन लड्ने काम गर्ने र अघि बढ्ने धैर्यता चाहिन्छ ।

    लेनिनको जीवनमा पनि कैयौँ हार भएका छन् । सन् १९०५ मा जारशाही विरुद्धको सशस्त्र विद्रोह असफल भएको थियो । पार्टीभित्रका अवसरवादी विरुद्ध पनि निर्मम सङ्घर्ष गर्नुपरेको थियो । त्यस प्रकारका अवसरवादी र खराब विचारका विरुद्ध सङ्घर्ष नगरी क्रान्ति सफल हुन सक्दैन । लेनिनले मेन्सेभिक विरुद्ध कठोर सङ्घर्षपछि नै सन् १९१७ मा रुसमा क्रान्ति सफल पारे । यो तथ्य उक्त खण्डमा बडो रोचक ढङ्गले प्रस्तुत गरिएको थियो ।

    गुरिल्लायुद्धको प्रसङ्गमा कमलले पेमालाई गुरिल्ला भनेको वनको एउटा जनावर हो । त्यो बढी लडाकु हुन्छ । त्यसको चलाकीले धेरै दुस्मनका विरुद्ध थोरै लडाकुले गर्ने क्रान्तिकारी युद्ध हो भनेर स्पष्ट पारिएको छ । चीनमा माओको नेतृत्वमा भएको जनवादी क्रान्ति, उनको अमेरिकी साम्राज्यवाद विरुद्धको लडाइँ, भियतनामको युद्धबारे पनि चर्चा भएको छ ।

    जनवादी क्रान्ति र प्रजातान्त्रिक क्रान्तिका सन्दर्भमा संवादमा पुँजीपति वर्गका दुईओटा विकल्प उठाइएको छ : या त उसले सर्वहारा वर्गको नेतृत्व स्वीकार गर्ने, या त साम्राज्यवादसित गठबन्धन गर्ने । पुँजीवादी प्रजातान्त्रिक क्रान्ति सफल पार्नु उसका लागि सम्भव हुन्न । यदि सर्वहरा वर्गको नेतृत्व स्वीकार गर्छ भने त्यो क्रान्तिको स्वरूप पुँजीवादी प्रजातान्त्रिक क्रान्ति नरहेर नयाँ जनवादी क्रान्ति हुन्छ । यसरी आजको युगमा क्रान्ति हुन्छ भने त्यो नयाँ जनवादी क्रान्ति हुन्छ, नत्र भने प्रजातान्त्रिक क्रान्ति नै हुन्न भन्ने विश्लेषण गरिएको छ ।

    यसरी प्रथम भागमा लेखकले मार्क्सवाद र लेनिनवादका आधारभूत सिद्धान्तमाथि अत्यन्त सरल र सङ्क्षिप्त रूपले प्रकाश पार्न प्रयत्न गर्नुभएको छ ।

    पुस्तकको दोस्रो भागमा गङ्गाधर र पेमाबिचको संवादको रूपबाट प्रस्तुत भएको छ ।

    प्रश्नोत्तरमालामा प्रस्तुत पात्र गङ्गाधर पार्टीको चौथो महाधिवेशनबाट निर्वाचित केन्द्रीय वैकल्पिक सदस्य हुनुहुन्थ्यो । उहाँको घर अर्घाखाँची थियो । चौथो महाधिवेशनअघि न्युक्लसको तयारीमा पनि उहाँको महत्त्वपूर्ण योगदान रहेको थियो । उहाँ पनि पार्टीको अत्यन्त प्रतिभाशाली, कर्मठ र जुझारु कार्यकर्ता हुनुहुन्थ्यो । भारतको आसाम गएको बेला उहाँको निधन भयो । उहाँको निधनबाट पनि पार्टीलाई निकै नोक्सान भयो । उहाँको पार्टीप्रतिको प्रतिबद्धतालाई सम्मान गर्दे पेमा लामाको अर्को संस्करणमा पेमा र गङ्गाधरबिचको संवादका रूपमा एमबीले अर्को भाग थप गर्नुभयो ।

    दोस्रो भागमा १४ ओटा परिच्छेद रहेका छन् भने त्यहाँ ४३८ ओटा प्रश्नोत्तर समावेश रहेका छन् । दोस्रो भागमा खासगरी मार्क्सवाद र लेनिनवादका मूलभूत सिद्धान्त उत्पादन, उपभोक्ता, श्रम, जमिन, अतिरिक्त श्रम, अतिरिक्त मूल्य, सुदखोरी, लगान, कृषिक्रान्ति र जनवादी क्रान्तिका विविध आयामबारे संवादको माध्यमबाट चर्चा गरिएको छ ।

    पुस्तकमा एउटा सामन्तवादी देशमा एकातिर गरिब र भूमिहीन, किसानको समूह हुन्छ । उनीहरूले जमिनमा परिश्रम गर्दछन् तर उनीहरूसित जमिन हुन्न । अर्कातिर, यस्ता भूमिपति हुन्छन्, जसको साथमा जमिन हुन्छ तर त्यसमा तिनीहरूले जनवादी क्रान्तिको बाटोबाट सल्टो बनाउने अर्थात् टाउकोले टेकेको मानिसलाई खुट्टाले टेक्ने बनाउने कार्य नै जनवादी क्रान्ति हो भनेर स्पस्ट गरिएको छ । उत्पादनका साधन र परिश्रमबिचको विरोधाभासलाई समाधान गर्नु अर्थात् कृषिका क्षेत्रमा जनिम र परिश्रमलाई पुनः एकै ठाउँमा मिलाउनु कृषिक्रान्तिको उद्देश्य हो । त्यही कुरालाई संवादले सरलीकृत गरेको छ ।

    जमिनको वितरण किसानको सामाजिक परिश्रमले निर्धारण गर्ने, शोषण, अन्याय र जबरजस्ती धनीले जम्मा पारेको जमिनको मालिक मिहिनेतकश किसान हुने कुरालाई सङ्क्षिप्त रूपमा चर्चा गरिएको छ, जसले जमिनमा परिश्रम गर्छ† पसिना बगाउँछ† रगत बगाउँछ† उही नै असली जमिनको हकदार हो । कसैको बाउबाजेले जोडेको अकुत सम्पत्तिलाई तिनीहरूको व्यक्तिगत सम्पत्ति र जमिनको असली हकदार मान्न नसकिने विषय उल्लेख छ । यसरी परिश्रम र मिहिनेतले नै जग्गामाथि किसानको स्वामित्व स्थापित हुन्छ । त्यो हक कसैले खोस्न सक्दैन । जमिन कसको, जोत्नेको अर्थ यही हो ।

    उत्पादनका लागि तीन कुराको आवश्यकता हुन्छ : प्रथम परिश्रम, दोस्रो जमिन (वस्तु) र तेस्रो औजार । जतिञ्जेल एउटा किसानसँग दोस्रो र तेस्रो पक्ष अर्थात जमिन र औजार हुन्छ, त्यतिञ्जेल किसानको शोषण हुँदैन । उसले परिश्रम गर्छ† आफ्नो लागि उत्पादन गर्छ र जीविकोपार्जन गर्छ । जब किसानलाई जमिन र औजारबाट विमुख गरिन्छ, उससँग उत्पादनको कुनै सम्भावना रहँदैन ।

    जब किसानले आफ्नो जीवननिर्वाहको लागि सामन्तकोमा पुग्नुपर्छ । उसले औजार र जमिनबापत अतिरिक्त परिश्रम गर्न लगाउँछ । जमिनबाट उत्पादन भएको अधिकांश भाग सामन्तले लैजान्छ र किसानमाथि शोषण हुन्छ ।

    सामन्तले आफ्नो जमिनमा काम गराउनको लागि उनीहरूलाई गरिब आवश्यक हुन्छ । त्यसकारण सामन्तले समाजको ठुलो भागलाई गरिब बनाएर राख्छन् ताकि उनीहरूबाट न्यून मूल्यमा अतिरिक्त परिश्रम गराउन सकियोस् । यस प्रकारको षड्यन्त्र युगौँयुगबाट चलिआएको हो । यसका रूप बदलिन्छन् तर शोषण जारी रहन्छ ।

    उत्पादनका साधनमाथिको शोषण वर्गको एकाधिकारले गर्दा नै मिहिनेतकश जनता अतिरिक्त परिश्रम गर्न बाध्य हुन्छन् । दास युगमा उत्पादनका साधन दासमालिकको स्वामित्वमा हुन्थे । सामन्ती युगमा सामन्तको स्वामित्व, पुँजीवादी युगमा पुँजीपतिको हातमा उत्पादन गर्नका लागि परिश्रम भएर मात्र पुग्दैन, परिश्रमका उत्पादनका वस्तु औजार र सङ्क्षेपमा उत्पादनका साधन अनिवार्य हुन्छन् । तिनीहरूमाथि शोषक वर्गको स्वामित्व हुन्छ । उनीहरूका लागि अतिरिक्त परिश्रम नगरी शोषण वर्गले मिहिनेतकश जनतालाई आफ्नो स्वमित्वमा भएका उत्पादनका साधनमा काम गर्न दिन्नन् । त्यसले गर्दा नै मिहिनेतकश जनता अतिरिक्त परिश्रम गर्न बाध्य हुन्छन । जनवादी क्रान्तिले नै यस प्रकारको सामन्ती र शोषक वर्गको स्वमित्व खतम गर्दछ र किसानलाई मुक्ति दिन्छ ।

    सर्वहारा वर्गको नेतृत्वमा जनवादी अधिनायकत्व कायम भएपछि नै त्यस प्रकारको क्रान्तिकारी सत्ताअन्तर्गत नै विद्यमान भूव्यवस्थामा आमूल र क्रान्तिकारी परिवर्तन हुन सक्दछ । त्यस प्रकारको क्रान्तिकारी सत्ता निर्माण नहुँदा भूमिसुधारसम्बन्धी सबै कुरा धोका मात्र हुन्छन् । त्यसकारण जमिनमाथि जोत्नेको स्वामित्व र त्यसका लागि जनवादी अधिनायकत्व अर्थात् नयाँ जनवादी सरकार स्थापना गर्नका लागि प्रयत्न गर्न नै हाम्रो प्रधान र केन्द्रीय कार्य भएको कुरा दोस्रो भागले स्पष्ट गरेको छ ।

    यसरी प्रस्तुत प्रश्नोत्तर माला एउटा साधारण तर असाधारण मार्क्सवादी दर्शनको उपज हो । यसले वास्तवमा क्रान्तिका उद्देश्य पूरा गर्नको लािग मदत पुऱ्याऊँ ।

    (प्रगतिशील पाठक मञ्चद्वारा २०८२ असार ८ गते आयोजित भर्चुअल कार्यक्रममा प्रस्तुत नोटमाथि आधारित)

    शुक्रबार, असार १३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘अग्निस्पन्दन’ कवितासङ्ग्रहको शल्यक्रिया
    आदर्शको पहाड
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति
    गजल

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      २१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न

    • २.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • ३.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ४.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ५.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ६.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ७.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ८.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.