तम्घास खानीगाउँका खेत भलामीको घर हो यो । धन बहादुर भलामीलका अनुसार उनका हजुरबुबा कुलमान भलामीले बि.सं. १९६४ सालमा बनाएका थिए । उति बेला खरले छाएको त्यो घर उनका जेठा छोरा धन बहादुर भलामीले २०१९ साल तिर ढुंगाले छाएका थिए । माईला छोरा मोहन भलामी र कान्छा खेत बहादुर हुन् ।
घरकै कोखमा लोभलाग्दो उरिम र भित्र ढिकी जाताहरू पनि छन् । केहि बर्ष अघिसम्म उरिमको तलामा मकै राखिन्थ्यो रे, अहिले रित्तै छ । ढिकी जाता, नारा, हलो, जुगा पनि प्रयोग विहिन छन् ।
उनै ताकाको ढुंगाको तगारो, ढुंगा बिछाईएको बिशाल आगन छ । चारै तिर बस्ने कुर्चिका रुपमा पर्खाल र ढुंगा कै बेन्च बनाईएको छ । यो घर खानीगाउँका भलामीहरूको बुढो घर र मुल घर मानिन्छ ।
जुन घरले पश्चिम नेपालको मौलिक घरहरूको प्रतिनिधित्व गर्दछ । तर आरसिसि ढलान गरिएका घरहरू ५० बर्ष नपुग्दै थोत्रा बनेका छन् । नेपालका कैयौं जिल्लाहरूमा ढुंगा, माटो र काठबाट बनेका यस्ता घरहरू अझै सयौं बर्ष केहि नहुने देखिन्छ । राज्यले सरकारी कार्यालय, विद्यालय भवन, अझ स्थानीय आधारभुत अस्पतालका भवन निर्माणमा खर्बौं सकाएका छन्, प्रयोग र सदुपयोग दृष्टिले भुत घरजस्तै बन्दै छन् ।

यस्तै आफ्नै मौलिक र ऐतिहासिक पक्षलाई सम्बोधन गर्ने प्रकारका माटो, ढुंगो र काठ प्रयोग गरेर बनाए के हुन्छ ? अझ दुःख लाग्दो कुरा आफ्नो देशको सल्लो, साल लगायतका कैयौं महत्वपूर्ण काठहरू बन जंगल मै कुहेर खेर गइरहेका छन् ।
यतिवेला कस्को घर कति सुन्दर र कस्ले विदेशबाट कति धेरै सामाग्रीहरू ल्याएर घर बनायो भन्ने प्रतिस्पर्धा नै चलिरहेको छ । भन्नु पर्दा बिदेशबाट लिइएका काठ र अन्य निर्माण सामग्रीले सरकारी भवन समेत बन्ने गरेका छन् । सरकारी भवनदेखि सर्वसाधारणसम्मको घर निर्माण गर्दा यो देशको काठ, ढुंगा र माटोबाट बनेको घरहरू निर्माणमा प्रोहत्साहन गर्ने सरकार कहिले बन्ला ?