• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

अन्तरजातीय विवाहको चोट खेप्दै मनिका परियार, घरबाट निकालिएको गुनासो


  •   बिहिबार, असार १२, २०८२ मा प्रकाशित
  • प्रतीक्षा आले#

    Advertisement

    गोरखा । असारको हपहपी गर्मी, एउटा ढोका मात्र भएको, बिनाझ्यालको एक कोठे टहरो । जस्ताले छाएको होचो अनि साँगुरो खोपीभित्र घामको रापले उखरमाउलो गर्मी छ । सकसलाग्दो यो कालकोठरीभित्र खलखल पसिना काढ्तै ओत लाग्दै छन्, महिना दिनकी सुत्केरी मनिका परियार र उनका नवजात शिशु । आफ्नो नाममा नङमा लाउने माटो पनि नभएको उनी काकी नाता पर्ने पार्वती परियारले ओत लाग्न दिएको यो टहरोलाई सुविधासम्पन्न दरबार मान्न बाध्य छिन् ।

    सहिदलखन गाउँपालिका– १ बक्राङ समिडाँडाकी २१ वर्षीया मनिकाको आशा र भरोसाको त्यान्द्रो एक महिने छोरा यही टहरोभित्र हुर्कँदै छ । जुन शिशु गर्भमा आएदेखि आफू पतिबाट र घरबाट लखेटिइन्, माइतीबाट पनि एक्लिइन्, उनै शिशुलाई उनले गत जेठ १० गते गोरखा अस्पतालमा जन्माएकी थिइन् ।

    ‘अनि बाबुको नाम चाहिँ के राखिदिनुभयो त ?’, यो प्रश्नले मनिकालाई झन भारी चोट दियो । उत्तर दिन नसकेर छाँगाबाट खसेजस्तै भइन् र फेरि सम्हालिँदै भनिन्, ‘खोइ दिदी, बाबु एक महिनाको भइसक्यो तर नाम के राख्ने केही सोचेकी छैन । न्वारान गरेको भए पो नाम राख्नु ।’ मनिकाले २०८० साल मङ्सिरमा धादिङको गजुरी गाउँपालिका–२ छेपाङका २३ वर्षका मिलन श्रेष्ठसँग बिहे गरेकी थिइन् । अन्तरजातीय विवाह भएकाले मिलनको घर परिवारले सहजै स्वीकार गर्ला भन्ने आशा मनिकालाई थिएन । ‘तपाई नेवारको छोरो, म दमाइकी छोरी । तपाईको घरपरिवारले मान्दैन, नबोलौँ भन्थेँ म । उ (मिलन) भने साह्रै जिद्दी, मलाई फकाएर, घुक्याएर अनि एकपटक त तीन तले घरको छतबाट हाम्फालेर माया जालमा फँसायोँ, मनिकाले भनिन्, ‘जीवनमा कहिले कसैको माया नपाएकी म, उसको कुरामा सजिलै फँसिहालेँ । उसले मलाई घरमा बाहुनी हो भनेर धुमधामले भित्र्यायो । इष्टमित्र, छरछिमेक बोलाएर भोजभतेर पनि गर्यो । मैले नढाटौँ भनेकी थिएँ तर उसले बिहे भइसकेपछि जसरी पनि मान्छन्, चिन्ता नगर भन्थ्यो । मैले पनि उसले भनेजस्तै गरेँ ।’

    बिहेपछि उनीहरू चितवनको कार्यथलो फर्किएका थिए । उनीहरू दुवैजना चितवनको भरतपुर महानगरपालिका–१ गोद्राङस्थित कोकाकोला फ्याक्ट्रीमा काम गर्दथे । ‘हामी चितवन आएपछि मिलनको घरमा मेरो जात थाहा भएछ । मिलनको आमा–बाले हामीलाई फोन गरेर तिमीहरू म‍र्यौँ, अब यहाँ नआउनु भन्नुभयो । त्यसपछि उसको घर जाने कुरै भएन’, मनिकाले भक्कानिँदै भनिन् । उनलाई आज पनि त्यही ग्रहण लागेका दिनहरूको याद आयो । विसं २०७५ मा १४ वर्षको उमेरमा गाउँको एकजना चिनेजानेको दिदीको पछि लागेर चितवन पसेकी थिइन । उनै दिदीले मनिकालाई कोक फ्याक्ट्रीमा काम लगाइदिएकी हुन् । उनी भन्छिन्, ‘म गाउँको महेन्द्रशक्ति माविमा पढ्थेँ । आठ कक्षामा फेल भएँ । सँगैको साथीहरू माथिल्लो कक्षा पुगे । म लाज लागेर पढ्न गइनँ । मेरो घरको आर्थिक अवस्था पनि राम्रो थिएन, अभावै अभाव थियो । त्यसैले दुईचार पैसा कमाउँछु भन्ने सोचेर चितवन पसेकी थिएँ ।’

    कोक फ्याक्ट्रीमा काम गर्ने क्रममा उनको मिलनसँग भेट भयो । सँगै काम गर्ने क्रममा उनीहरू नजिकिन थाले । ‘काम गर्दै जाँदा चिनजान भयो । एकदिन, दुईदिन बोल्दै जाँदा ऊ मसँग धेरै नै नजिक हुन थाल्यो, पछिपछि त बिहे नगरे आत्महत्या गर्छु भन्दै धम्की दिन थाल्यो’, उनले भनिन्, ‘म सानो मान्छे, अभावै अभावमा हुर्किएको, घरपरिवारबाट पनि माया नपाएकी । उसले त्यस्तो गर्दा माया गर्छ होला नि त भन्ने लाग्यो । फ्याक्ट्रीमा काम गर्ने अरु दिदीबहिनीले पनि यो त पागल छ तेरो लागि, केही गरिहाल्यो भने गाल पर्छ भन्थे त्यसैले, पनि बिहे गरेकी हुँ ।’

    मनिका र मिलनले काम गर्ने कोक फ्याक्ट्रीले गत वर्ष चैतमा उनीहरूसँगै अरु थुप्रै कर्मचारीलाई कामबाट हटायो । चितवनको ठाउँ, बिना काम दुईजना कोठामा बस्न खान समस्या भएपछि उनीहरू वैशाख (२०८१) मा रोजगारीको खोजीमा काठमाडौँ पुगे । काठमाडौँमा मिलनले मासु पसलमा काम पायो । मनिका भने सानोतिनो कामको खोजीमा थिइन् ।

    ‘काम खोज्दै थिएँ, मङ्सिरमा बच्चा बस्यो । मेरो सोच त बच्चा नराख्ने नै थियो । उमेर पनि धेरै भाको छैन, दुईजनाको राम्रो कमाइ छैन । खाने बस्ने ठेगान पनि थिएन’, उनले भनिन, ‘मिलनले भने जसरी पनि पछि पाउनु परिहाल्छ । बच्चा राख्नी भन्यो । उसैको करले बच्चा राखेँ । जसोतसो दुःख गरेर बच्चा हुर्किएला भन्ने सोचेर हामीले बच्चा राखेका थियौँ ।’ गर्भवती भएपछि मनिकालाई डेंगीको सङ्क्रमण भयो । डेंगीले धेरै नै थलिएपछि डाक्टरले गाउँमा गएर बस्न सुझाव दिएको उनको भनाइ छ ।

    ‘डेंगी लागेपछि काठमाडौँ बस्न गाह्रो भयो मलाई, गजुरी जाने कुरै भएन त्यसैले यहीँ माइतमा आएर बसेँ । मिलनलाई उतै काम गर्नु भनेर म यता आको । पछि त, ऊ पनि काम छाडेर मैसँग आयो’, उनले भनिन् । दुवैजना बक्राङ आएर बसेको केही समयपछि उनले मिलनलाई काम गर्न झापा पठाइन् । बक्राङकै दाजुभाइहरूसँग पैसा सरसापटी गरेर मिलनलाई काम गर्न झापा पठाएको उनी बताउँछिन् ।

    ‘यहाँ गाउँमा खासै काम पाइन्न । बच्चा जन्मिएपछि पैसा चाहिन्छ भनेर मिलनलाई गएको पुसमा यतै गाउँको दाजुभाइमार्फत झापा पठाएँ । त्यतिबेला मसँग मोबाइल थिएन । मिलन झापा गएपछि हाम्रो खासै फोन सम्पर्क पनि भएन । उता गएपछि ऊ धेरै परिवर्तन भएछ’, त्यसपछि सुरू भएको कालो दिनको स्मरण गर्दै उनले भनिन्, ‘ऊ झापा गएपछि गाउँका दिदीहरूले तेरो बुढाले फेसबुकमा अरू केटीको फोटो हालेको छ भन्न थाले । मैले पनि अरुसँग मोबाइल मागेर हेरेँ । फोन गरेँ तर उसले मसँग झगडा मात्र गर्न थाल्यो । मैले धेरै नै बोलाएपछि बल्लबल्ल फागुनको १६ गते यहाँ आयो । मेरो लागि मर्न तयार भएको मिलन थिएन, यतिबेला अर्कै भइसकेको रहेछ । उसको चारपाँच दिन बसाईमा हामीबीच सय पटक झगडा भए । त्यसपछि ऊ निस्केर गयो, त्यसयता उसको कुनै खबर छैन ।

    यति कुरा गर्दासम्म मनिकाको आँखामात्र आँसुले भिजेका थिएनन्, गालामा डामपार्दै छातीतिर गुडुल्किरहेका थिए । उनका अनुसार मिलन गएको फागुनमा आउँदा आमाले घरमा बोलाको छ भनेर निस्केका थिए । मिलन गएको केही दिनपछि मनिकाको काकी पार्वतीलाई मिलनको गाउँले भाइको फोन आयो । फोन गर्ने मान्छेले मिलनले घरमा अर्को केटी लिएर आएको खबर दिएको मनिकाले बताइन् । ‘यहाँबाट गएपछि पहिलाको बूढीले छोडेर गई भन्दै फेरि अर्को केटी घर लगेछ । दोस्रो केटी पनि अर्कै जातको लगेपछि दुवैजनालाई घरबाट लखेटिदिएको रे भन्ने उसको गाउँको एकजना भाइबाट थाहा भयो’, मनिकाले गहँभरि आँसु पार्दै भनिन्, ‘मेरो पेटमा उसको बच्चा छ अनि, उ चाँहि यो सबै गर्दै हिँडेको छ भन्ने थाहा पाए पछि म छाँगाबाट खसेजस्तै भएँ । यो सबै सुन्ने बित्तिकै म केही नसोची काकीसँग रु १०० सापट मागेर खैरेनी पुगेँ । पैसा थिएन, गहनाको नाममा एउटा चाँदीको सिक्री र सानो चाँदीको औँठी थियो । खैरेनीमा त्यही बेचेँ । मसँग फोन पनि थिएन त्यसैले खैरेनीबाट मामाको छोरीलाई लिएर गजुरी गएँ । गजुरी पुगेर दिदीको फोनबाट मिलनलाई कति फोन म्यासेज गरे तर उठेन । म त पागलजस्तो कहाँ जाने कसलाई भन्ने भएँ । गजुरीमा एउटा पुलिसचौकी रहेछ । त्यहाँ उजुरी दिन गाको पैसा लाग्छ भन्नुभयो । मसँग फर्किनको लागिमात्र पुग्ने पैसा थियो । पैसाको यतिसम्म अभाव थियो कि पानी किनेर खाने पैसा समेत थिएन । पेटमा बच्चा छ, गाडीमा अरुले पानी खाको देखेर थुक निल्दै गजुरीबाट खैरेनी फर्कियौँ । सिक्री बेचेको पैसाले दिदी र मलाई आउन जान मात्र ठिक्क भयो । खैरेनी आएर एकरात मामाघर बसेँ । मनको पीडा कसलाई सुनाउनु, भोलिपल्ट घर फर्किएँ । कुकुरले नपाएको दुःख पाउनु भनेको यसलाई नै भन्छ होला है दिदी ।’ यति भनिरहँदा उनको भक्कानो फुटिसकेको थियो ।

    मिलन सम्पर्कविहीन भएपछि उनलाई गाउँका दिदीबहिनीहरूले यस्तो अवस्थामा छः पक्कै आउँछ होला भन्दै सान्त्वना दिन्थे । ‘मिलन सम्पर्कविहीन भएको पनि तीन महिना बितिसक्यो । यसबीचमा मैले जे जति दुःखकष्ट भोगेँ त्यो सम्झँदा अब मलाई कोही चाहिन्न जस्तो लाग्छ’, उनी भन्छिन्, ‘जेठ ६ गतेको डेट थियो मेरो । तर, बच्चा पाउने सुरसार भएन । गते बिना पैसा गोरखा अस्पतालमा भर्ना हुन गएँ । बच्चा पनि छ घण्टा अड्कियो । बल्लतल्ल बच्चा त जन्मियो । तर, बच्चालाई जन्डिस र थाइराइड देखिएछ । मलाई गोरखा अस्पतालमा राखेर बच्चालाई थप उपचार गर्न भरतपुर सरकारी अस्पताल लग्यो । बच्चालाई भरतपुर अस्पतालमा तीन दिन एनआइसियुमा राख्यो । मेरो उपचार, बच्चाको उपचार, सुत्केरी हुँदाको सबै खर्च खानापिना अहिलेसम्म सबै सहयोग जुटाएको पैसाले जसोतसो धानेको छु । गाउँको शिव विक (दाइ) र मन्दिरा विक (भाउजु)ले सबै सहयोग गर्नुभयो । गाउँमा अरुले पनि सहयोग जुटाएर सबै उपचार खर्च टारेको छु ।’

    श्रीमानको साथको खाँचो हुँदा एक्लै परेकी मनिकालाई अब कसैसँग कुनै आशा छैन । ‘यस्तो अवस्थामा छोडेर जाने पापीसँग के आशा राख्नु ?’ मेरो लागि त मरिसक्यो ऊ । अब आएर छोरालाई नाम दिए, उसको हकअधिकार दिलाइदिए हुन्छ । मचाहिँ अब यस्तै हो, आमाको अभाव बुझेकी छु । दुःखसुख गरेर बाबुलाई ठूलोमान्छे बनाउनु नै मेरो जीवनको लक्ष्य छ’, उनले भनिन् ।
    ‘के बनाउने लक्ष्य छ नि बाबुलाई ?’, थोरै हाँस्दै मनिकाले भनिन्, ‘अञ्जानमा सम्बन्ध भयो, भविष्य पनि जानेको छैन त्यसैले उसको बाउ नआए पनि नाम अञ्जन राखिदिन्छु । के बन्छ त अब उसको भाग्यको कुरो हो, जे होः यसको बाउ जस्तोचाहिँ नहोस् । असल, ठूलो मान्छे होस् ।’

    मनिका आफू सात वर्षको हुँदा आमा बितेको बताउँछिन् । ‘आमाको त केही सम्झना नै छैन । बुबा इण्डियातिर हुनुहुन्थ्यो आमा बित्दा । भाइ जम्मा दुई वर्षको थियो । म र भाइलाई हजुरआमाले हुर्काउनुभएको हो’, उनले भनिन्, ‘आमा बितेको धेरै वर्षपछि मात्र बुबा घर आउनुभयो । बुबाले दोस्रो बिहे त गर्नुभएन तर हाम्रो हेरविचार पनि गर्न सक्नुभएन । गाउँमा यस्तै त हो । पैसाको अभाव, फेरि बुबा बूढो हुनुहुन्छ अरूले जस्तो काम पनि गर्न सक्नुहुन्न ।’ बुबाले आफू आठ कक्षामा पढ्दापढ्दै पढाइ छोड्दा, चितवनमा काम गर्न जाँदा, कलिलो उमेरमै बिहे गर्दा र अहिले बच्चा जन्माउँदा समेत केही नभनेको मनिका सुनाउँछिन् ।

    ‘बुबाले त केही भन्नुहुन्न, धेरै बोल्नु पनि हुन्न । त्यही भएर नै म र मेरो १९ वर्षको भाइ अहिले अलपत्र परेका हौँ । भाइ पनि अहिले पोखरातिर गाको छ पढाइ छाडेर । तर, बुबालाई केही मतलब हुन्न । सायद आमा भइदिएको भए हामीलाई सम्झाउनुहुन्थ्यो होला, मेरो यस्तो अवस्था आउँदैन थियो होला । यदि यही अवस्थामा पनि आमा भइदिएको भए मेरो स्याहारसुसार गर्नुहुन्थ्यो होला’, गहँभरि आँसु पार्दै मनिकाले भनिन् ।

    दुःखको रहरमा पौडिएर हुर्केको अहिले झन ठूलो दुःखको सागरमा डुब्नुपरेको दुखेसो गर्दै उनले भनिन्, ‘मेरो जिन्दगी हाँडीबाट उछिट्टिएर भुंग्रोमा परेको माछोझैँ भयो ।’

    बिहिबार, असार १२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.