हाम्रो देशले युवा निर्यात गरेर रेमिट्यान्स त कमायो, तर हामीजस्ता बूढाबूढीले आफ्नो मुटुको टुक्रा निर्यात गरेर केवल रित्तो आँगन र अनन्त पर्खाइ कमायौँ।
सिन्धुलीको एउटा डाँडामा बसेको सुनौलो डाँडा गाउँ, कुनै बेला हाँसो, खुसी र युवाहरूको चहलपहलले गुञ्जायमान थियो । तर, आज त्यो गाउँको नामले नै उसलाई गिज्याइरहेको थियो । अधिकांश घरका ढोकामा खिया लागेका ताल्चाहरू झुन्डिएका थिए । आँगनभरि झारपात उम्रिएको थियो । गाउँ युवाविहीन थियो, र यो रित्तोपनको साक्षी बनेर बसेका थिए, ७५ वर्षीय जितबहादुर र उनकी श्रीमती, ७० वर्षीया सानोमाया ।
उनीहरूको एउटा मात्र छोरो थियो, आकाश । जितबहादुरले आफ्नो जीवनको पसिना बगाएर हुर्काएको आकाश, घरको एक्लो आशाको दियो थियो । तर गरिबी र बेरोजगारीको अँध्यारोले त्यो दियोलाई गाउँमा बल्न दिएन । दुई वर्षअघि, आकाशले रुँदै गरेका आमाबुबालाई सम्झाउँदै भनेको थियो, ‘बुबा–आमा, म दुई–चार वर्ष कतारमा दुःख गर्छु, पैसा कमाउँछु अनि फर्केर आउँछु। त्यसपछि तपाईंहरूले यो उमेरमा हलो जोत्नु पर्दैन।’
छोराको खुसीको लागि नयाँ टिनको छाना हाले, तर त्यो छानामुनि उनीहरूको मन भने सधैँ चुहिरहन्थ्यो । ‘हाम्रो देशले युवा निर्यात गरेर रेमिट्यान्स त कमायो, तर हामीजस्ता बूढाबूढीले आफ्नो मुटुको टुक्रा निर्यात गरेर केवल रित्तो आँगन र अनन्त पर्खाइ कमायौँ । जितबहादुर र सानोमायाको जीवनको घाम भने कहिल्यै नफर्किने गरी अस्ताइसकेको जस्तो देखिन्थ्यो ।
जितबहादुरले गहभरि आँसु पार्दै छोरालाई बिदा गरेका थिए । त्यो दिनदेखि, उनीहरूको आँगन रित्तो भयो र मनमा एउटा अनन्त पर्खाइ सुरु भयो ।
हरेक महिना आकाशले पैसा पठाउँथ्यो । जितबहादुर र सानोमाया बजार गएर महिनाभरिको लागि चाहिने सामान किन्थे, तर त्यो पैसाले किनेको चामलको भातमा छोरासँगै बसेर खाएको जस्तो स्वाद आउँदैनथ्यो । उनीहरूले छोराको खुसीको लागि नयाँ टिनको छाना हाले, तर त्यो छानामुनि उनीहरूको मन भने सधैँ चुहिरहन्थ्यो ।
एक साँझ, मुसलधारे पानी परिरहेको थियो । जितबहादुरलाई बेस्सरी ज्वरोले च्याप्यो । उनको जीउ आगोझैँ तातो थियो । सानोमाया आत्तिइन् । गाउँमा कोही थिएन जसलाई गुहार माग्न सकियोस् । नजिकको स्वास्थ्य चौकी पुग्न पनि एक घण्टाको ठाडो उकालो ओरालो गर्नुपथ्र्यो । उनले रुँदै जितबहादुरको निधारमा चिसो पानीको पट्टी राखिदिइन् ।
‘सानोमाया, अब म बाँच्दिनँ होला’, जितबहादुरले काँपेको स्वरमा भने ।
‘त्यस्तो नभन्नुहोस् !’ केही हुन्न तपाईंलाई, सानोमायाले भक्कानिँदै भनिन्, ‘म छु नि तपाईंको साथमा ।’ तर मनमनै उनलाई छोराको अभावले पोलिरहेको थियो । ‘आज छोरो साथमा भएको भए ।’ यो सोंचले उनको मुटु छियाछिया भयो ।
त्यही बेला फोनको घण्टी बज्यो । आकाशको फोन थियो । सानोमायाले आँसु पुछ्दै फोन उठाइन् र गलालाई सक्दो सामान्य बनाउने प्रयास गरिन् ।
‘आमा, सन्चै हुनुहुन्छ ? बुबा खोइ ?’ आकाशले सोध्यो ।
‘बाबु’ सानोमायाको गला अवरुद्ध भयो । ‘तेरो बुबालाई अलि सन्चो छैन । खोकी लागेको छ ।’ उनले पूरा सत्य भन्न सकिनन्, छोरो परदेशमा चिन्तित होला भन्ने डरले ।
‘औषधि खुवाउनु नि आमा । मैले पठाएको पैसा छँदैछ नि । राम्रोसँग ख्याल गर्नु है’ आकाशले भन्यो ।
फोन काटिएपछि, सानोमाया फोन छातीमा टाँसेर धेरैबेर रोइरहिन् । पैसाले औषधि किन्न सकिन्छ, तर छोराको न्यानो हातले निधार छामेको जस्तो सान्त्वना कहाँ किन्न सकिन्छ र ?
रातभरिको छटपटी र सानोमायाको स्याहारले भोलिपल्ट बिहान जितबहादुरको ज्वरो अलि कम भयो । उनी बिस्तारै उठे र पिँढीमा आएर बसे । उनको नजर परको डाँडामा रहेको एउटा घरमा गयो, जहाँ ताल्चा लागेको थियो । उनले सम्झिए, ‘पहिला गाउँमा कोही बिरामी हुँदा कसरी सबैजना मिलेर रातभरि जाग्राम बस्थे, कसरी सहयोगी हातहरू अघि बढ्थे।’ आज उनको गाउँसँग धन थियो, तर मन थिएन । घरहरू थिए, तर छिमेकी थिएनन् ।
सानोमाया चियाको कप लिएर आइन् र उनको छेउमा बसिन् । दुबै चुपचाप थिए । उनीहरूको मौनतामा हजारौँ शब्दहरू थिए— एक्लोपनको, पीडाको, र छोराप्रतिको अगाध मायाको ।
जितबहादुरले लामो सास फेर्दै भने, ‘हाम्रो देशले युवा निर्यात गरेर रेमिट्यान्स त कमायो, तर हामीजस्ता बूढाबूढीले आफ्नो मुटुको टुक्रा निर्यात गरेर केवल रित्तो आँगन र अनन्त पर्खाइ कमायौँ ।’
सानोमायाको आँखाबाट आँसुको एक धारा बग्यो र चियाको कपमा खस्यो। पर क्षितिजमा अस्ताउँदै गरेको घामले सुनौलो डाँडालाई साँच्चै सुनौलो बनाएको थियो, तर जितबहादुर र सानोमायाको जीवनको घाम भने कहिल्यै नफर्किने गरी अस्ताइसकेको जस्तो देखिन्थ्यो । उनीहरू त्यही रित्तो आँगनमा बसेर, एउटा यस्तो बिहानीको पर्खाइमा थिए, जुन सायद कहिल्यै आउने थिएन । कृषि सुचनाबाट