सर्जन गौतम ##
उत्पादनको सामाजिक स्वरूप तर नाफाको व्यक्तिगत केन्द्रीकरणका कारण पुँजीवादमा चक्रीय सङ्कट दोहोरिरहन्छ । पुँजीवादको साम्राज्यवादमा विकास भएपछि त्यस्ता सङ्कटलाई युद्धको माध्यमबाट हल गर्ने प्रयास गरिन्छ । साम्राज्यवादी राष्ट्रबिचको प्रतिस्पर्धामा एकको श्रेष्ठता कायम हुने, हतियारको बिक्री हुने, तेस्रो विश्वका देशको प्राकृतिक साधन कब्जा गर्न पाइने र आफ्नो नियन्त्रित बजार बन्ने कारणले युद्धले अस्थायी रूपमा साम्राज्यवादले सङ्कट हल गर्दछ ।
त्यस्तो युद्ध विश्वयुद्धको रूपमा वा असङ्ख्य साना युद्धको रूपमा पनि देखा पर्ने गर्छ । तसर्थ अहिले जुन प्रकारको इजरायल भर्सेस मुस्लिम राष्ट्रको रूपमा मध्यपूर्वमा रुस र युक्रेनको बिचमा, एसियामा अफगानिस्तानदेखि भारत र पाकिस्तानका बिचमा तनाव वा अमेरिका र चाइनाको बिचमा जुन व्यापार युद्धको समस्या देखा परेका छन्, त्यो साम्राज्यवादको सङ्कटको परिणाम हो ।
साम्राज्यवादको केन्द्र हुनुको कारणले सङ्कटको लक्षण सर्वप्रथम अमेरिकामा र त्यहाँको पनि वित्तीय क्षेत्रमा देखा पर्दछ । सन् १९३३ को ग्रेट डिप्रेसन आउनुभन्दा अगाडि सन् १९३२ मा अमेरिकाको सिकागोका बैङ्क गम्भीर सङ्कटमा परेका थिए ।
बैङ्कको स्थितिमा सुधार ल्याउन मार्च ९, १९३३ मा राष्ट्रपति फ्रयाङ्लिन रुजबेल्टले इमरजेन्सी बैङ्किङ एक्ट पारित गरेर बैङ्कको पुनर्संरचना गर्न र स्थिरता ल्याउन प्रयास गरे तर सङ्कट समाधान भएन । सन् १९३९ देखि त दोस्रो विश्वयुद्ध सुरु भएरै छोड्यो ।
सन् १९८० को दशकमा अमेरिकामा ७०० भन्दा बढी वचत तथा कर्जा संस्था सङ्कटमा परे, जुन सङ्कटलाई सेभिङ एन्ड लोन क्राइसिस भनेर चिनिन्छ । सरकारले हस्तक्षेप गरी यी संस्थालाई उद्धार गर्न विभिन्न नीति लागु गऱ्यो । एकातिर पूर्वी युरोपमा कम्युनिज्मको पतन र अर्कोतिर खाडी राष्ट्रमा इराकमाथिको नाटोको हस्तक्षेपपछि त्यो सङ्कटको समाधान भयो । कम्युनिज्मको पतन र अमेरिकाको एकल प्रभुत्वका कारण विश्वभरको धन अमेरिकामा थुप्रिने अवस्थाले अमेरिकाको सङ्कट हल भएको थियो ।
अहिलेको साम्राज्यवादको सङ्कटको लक्षण पनि सर्वप्रथम अमेरिकामा नै देखा परेको थियो । सन् २००८ को विश्वव्यापी प्रभाव परेको वित्तीय सङ्कट अमेरिकाको लेम्यान ब्रदर्सजस्ता ठुला लगानी बैङ्कहरू सङ्कटमा परेपछि सुरु भएको थियो । अमेरिकी सरकारले ट्रबल्ड एसेट रिलिफ प्रोग्राम (टी.ए.आर.पी.) मार्फत करिब ७०० अर्ब डलरको उद्धार प्याकेजद्वारा बैङ्कलाई सङ्कटमुक्त गर्ने प्रयास गरे पनि हालसम्म पनि विश्वव्यापी आर्थिक मन्दी समाधान हुन सकेको छैन । तसर्थ हाल २०२५ मा देखा परेको सङ्कट २००८ कै सङ्कटको निरन्तरता हो ।
सन् १९९० को दशकपछि खुला बजार अर्थतन्त्रले नै अमेरिकामा धन थुप्रिने अवस्था सिर्जना भएको थियो तर पुटिनको नेतृत्वमा रुस बौरिएर उठ्नु , चीन वस्तु उत्पादन, हतियार र सञ्चारप्रविधिमा अमेरिकालाई टक्कर दिने अवस्थामा पुगेको मात्र होइन, विश्वभर वित्तीय लगानी फैलाएर साम्राज्यवादी राष्ट्रको रूपमा फड्को मार्नु, भारत, ब्राजिल र अरब नयाँ आर्थिक क्षेत्रको रूपमा उदाउनु, बेलायतबाहेकको अन्य युरोप एकीकृत रूपमा अमेरिकाको पञ्जाबाट मुक्त हुने प्रयास गर्नुजस्ता कारणले एकल ध्रुवीय विश्वमा चुनौती खडा भएको छ ।
पहिलोपटक अमेरिका आफ्नो घोषित खुला बजारको नीतिबाट पछाडि हटेर संरक्षणवादको अभ्यास गर्नेदेखि विश्वव्यापी युद्धको वातावरण सिर्जना गर्न लागेको छ । अहिले देखा परेका सङ्कटको प्रतिध्रुवीय समाजवादी शिविर विश्वभर नै रक्षात्मक भएकाले अग्रगामी समाधान हुने सम्भावना त छैन नै । ठुलो जनधनको क्षतिपछि एउटा न एउटा समाधान† जस्तो कि बहुध्रुवीय विश्वको निर्माण वा फासिवादको स्थापना वा कुनै साम्राज्यवादी मुलुकको श्रेष्ठताको रूपमा भए पनि एउटा समाधान तर साम्राज्यवादको आधारभूत गुणका कारण त्यस्तो समाधान स्थायी भने हुने छैन । चक्रीय रूपमा समस्याको उत्पादन र पुनः उत्पादन गर्नु साम्राज्यवादी पुँजीवादको महत्त्वपूर्ण विशेषता नै हो ।