काठमाडौं, ३ असार । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी अहिले प्रतिपक्षमा भए पनि सत्ता पक्षको जस्तो भूमिका खेल्नुपर्ने बाध्यतामा रहेको बताएका छन् ।
उनको भनाईलाई नै केन्द्रीत गरेर टिप्पणी गर्दा उनलाई यस्तो बाध्यता कसले र कहाँबाट श्रृजना भएको छ ? मंगलबार बिहान चितवनस्थित निजी निवासमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले यस्तो बाध्यता संविधान र ऐन कानुनका कारण आइपरेको बताए । तर वास्तविकता अरु केही छ कि ? शंका आशंकाहरू गर्ने ठाउँहरू धेरै छन् ।
यसै सन्दर्भमा चर्चा गर्दैगर्दा यहाँ कतिपय विषय तर्फ जाँदा अनुपयुक्त नहोला । विगत लामो समयदेखि विभिन्न प्रकारका प्रकरण र काण्डहरूमा धेरै माओवादी नेताहरू मुछिएको विषय सबैलाई अवगत नै छ ।
नक्कली भुटानी शरणार्थी काण्ड, लडाकु घोटाला, सुन काण्ड, बालुवाटार जग्गा काण्ड, बलात्कार काण्ड लगायतका काण्डहरूमा माओवादी नेताहरूका नाम सीधा नखुलेता पनि सञ्जालमा मुछिएका छन् भनिएको छ ।
‘लहरो तान्दा, पहरो घर्किन्छ’ नेपाली प्रचलित उखान टुक्काले भने जसरी प्रचण्डलाई त्रसित बनाएको त छैन ? शंका गर्ने प्रमुख विन्दु यहाँनेर देखिन्छ । प्रचण्डले आफूहरू प्रतिपक्षको हिसाबले कमजोर भएको स्वीकार्नु र गएको शुक्रबार नेकपा एमालेसँग बेअर्थको दुईबुँदे सम्झौता गर्नुले प्रचण्ड माथि दुईवटा राजनीतिक संकट परेको पनि बुझ्न सकिन्छ । प्रथमः प्रचण्ड राजनीतिक रुपमा अस्थिर छन् । द्वितीय : प्रचण्ड अवसरवादी एवं संझौताप्रस्त छन् भन्ने सहजै रुपमा बुझ्न सकिन्छ ।