काठमाडौँ, १ असार । राष्ट्रपति रामचन्द्र पौडेलले सहज, सरल र प्रभावकारी तवरले सेवाप्रवाह गरेर कर्मचारीतन्त्रले नागरिकको मन जित्नसकेमा लोकतन्त्र दरिलो हुने वास्तविकतालाई मनन् गरेर राष्ट्रसेवकहरूले भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ ।
लोक सेवा आयोगको आज यहाँ आयोजित हीरक जयन्ती समारोहमा उहाँले स्थायी सरकारका रूपमा रहेको कर्मचारीतन्त्रले आधुनिक विधि, प्रविधि र दक्ष जनशक्तिको प्रयोग गरी सुशासनको मर्मअनुरुप काम गर्नुपर्नेमा जोड दिनु भयो ।
उहाँले भन्नुभयो, “अब सहज, सरल र प्रभावकारी तवरले सेवाप्रवाह गरेर कर्मचारीतन्त्रले नागरिकको मन जित्न सक्नुपर्छ । कर्मचारीतन्त्रले जबसम्म नागरिक हकका निम्ति सहज पहुँच दिन सक्दैन, तबसम्म लोकतन्त्र दरिलो हुन सक्दैन भन्ने वास्तविकतालाई बिर्सन हुँदैन ।”
राष्ट्रपति पौडेलले मुलुक सञ्चालन गर्ने सरकारी निकायमा स्थायी सरकारका रूपमा रहने योग्य कर्मचारी छनोट गर्ने संवैधानिक जिम्मेवारी पाएको लोकसेवा आयोगले ७५ वर्षमा आफ्नो मूल सिद्धान्त ॅयोग्यता, निष्पक्षता र स्वच्छता’लाई प्रमुख आधार मान्दै निरन्तर क्रियाशील रहनु प्रशंसनीय कार्य भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “आफ्नो भूमिका निर्वाह गर्दै आयोगले सदैव वर्तमान पुस्ताप्रति न्याय तथा भविष्यका पुस्ताप्रतिको आशा एवं भरोसाको केन्द्रका रूपमा आफ्नो कर्तव्य, दायित्व, जिम्मेवारी निर्वाह गर्न चनाखो हुन जरुरी छ ।”
उहाँले कर्मचारी छनोट, बढुवा र परामर्शका क्षेत्रमा यसले आजसम्म गरेको योगदानसँगै आर्जन गरेको विश्वास, भरोसा एवं प्रतिष्ठालाई कायम राख्दै अघि बढ्नेतर्फ आयोग सक्रिय रहने विश्वास व्यक्त गर्नुभयो ।
–रासस