मोहनविक्रम सिंह ##
यो कुराको पहिलो अङ्कमा नै चर्चा भइसकेको छ कि जलजला लखनऊमा सुनन्दा की फुपू सरस्वतीको घरमा बसेकी थिइन । उनले लखनऊको एउटा पुस्तक पसलबाट अन्तरिक्षसम्बन्धी केही पुस्तक किनेर ल्याएर पढेकी थिइन् । त्यो बेला गर्मीको महिना थियो र उनी सरस्वतीसित छतमा सँगै सुत्थिन् । सरस्वती निदाइसकेकी थिइन् तर जलजलाले आकाशका तारा हेर्दै आÇनो मनमा कैयौँ कल्पना गरिरहेकी थिइन् । अर्का शब्दमा उनले मनमनै अन्तरिक्षको परिभ्रमण गरिरहेकी थिइन् ।
उनी पृथ्वीबाट चन्द्रमा, सूर्य, बुध र शुक्र ग्रह हुँदै मङ्गल ग्रहमा पुगेको कुराको पहिले नै उल्लेख भइसकेको छ । मङ्गल ग्रहपछि उनले सौर्य जगत्का अन्य बाँकी ग्रहहरू बृहस्पति, शनि, अरुण, वरुण र यमको भ्रमण गरिन् । ती बेग्लाबेग्लै ग्रहको भ्रमणको सिलसिलामा उनले कैयौँ आश्चर्यका कुरा देखेकी थिइन । बृहस्पतिको विशाल आकार देखेर उनी धेरै नै आश्चर्यचकित भएकी थिइन । त्यो सौर्यमण्डलको सबैभन्दा ठुलो ग्रह थियो । त्यसमा सौर्यमण्डलका सबै ग्रह अटाउन सक्थे । पृथ्वीजस्ता १३ सय ग्रह त्यसमा अटाउन सक्थे । त्यो ग्रहबारे अर्को आश्चर्यको कुरा यो थियो कि त्यसका वरिपरि ५ दर्जन भन्दाबढी उपग्रह वा चन्द्रमाले परिक्रमा गरिरहेका थिए ।
त्यो ग्रहमा लगातार आँधी र तुफान उठिरहेका हुन्थे । तिनीहरूले उनलाई कैयौँपल्ट हजारौँ किलोमिटर टाढासम्म पुऱ्याउँथे । त्यसरी आँधी र तुफानका बिचमा खेल्न पाउँदा उनलाई धेरै नै आनन्द लागिरहेको थियो । उपन्यासमा लेखिएको छ– “उनले मनमनै सोचिन्, ती क्रान्तिका आँधीबेहरी वा तुफान थिए । उनलाई लाग्न थाल्यो, धर्तीमा पनि त्यही प्रकारका क्रान्तिका तुफान उठ्नेछन् ।”
उनले कैयौँ बेरसम्म बृहस्पतिलाई परिक्रमा गरिरहेका चन्द्रमातिर हेरिराखिन् । तिनीहरूमध्ये एउटा सबैभन्दा ठुलो चन्द्रमामा लगातार ज्वालामुखी उठिरहेका देखिन्थे । ती ज्वालामुखी तीन सय किलोमिटर माथिसम्म पुग्ने गर्दथे । अर्को एउटा चन्द्रमा बरफले बनेको थियो । त्यहाँ लगातार हिउँका तुफान उठिरहेका देखिन्थे ।
उनको ध्यान बृहस्पतिको केन्द्रमा रहेको एउटा रातो स्थानतिर गयो । त्यो ४० हजार किलोमिटर लामो र १० हजार किलोमिटर चौडा थियो । त्यसभित्र कैयौँ आँधीतुफान पनि उठ्ने गरेका देखिन्थे । त्यहाँको त्यो रातो दृश्यले सम्पूर्ण बृहस्पति ग्रहलाई नै अत्यन्त सुन्दर र रमणीय बनाएको थियो ।
बृहस्पति ग्रहबाट उनी छिट्टै शनि ग्रहमा पुगिन् । उनलाई टाढैबाट त्यो ग्रह धेरै नै राम्रो लाग्यो । त्यसका चारैतिर औँठीजस्तो एउटा चम्किलो माला थियो । त्यो मालाले त्यसको सुन्दरतालाई धेरै नै बढाएको थियो । सायद त्यसैले होला, खगोलशास्त्रीले त्यसलाई ग्रहकी रानी बताउने गर्दथे।
त्यो ग्रहलाई देख्नेबित्तिकै उनले अजितलाई सम्झिन् र मनमनै भनिन् : “हेर्नुहोस् अजित, यति राम्रो ग्रहमाथि मानिसले कतिका आक्षेप लगाउने गरेका छन् ? त्यसलाई अशुभ र अनिष्टकारी ग्रह बताउने गरेका छन् । शनि ग्रह लाग्यो भनेर दोष दिने गरेका छन् । यति सुन्दर ग्रहले पनि कसैलाई नराम्रो गर्न सक्छ ?”

शनिजस्तो सुन्दर ग्रहमा अजितसँग घुम्न नपाउँदा उनलाई धेरै दुःख लागेर आएको थियो । त्यो सोचेर उनलाई दुःख लागेर आयो, उनको ध्यान यो कुरातिर गयो कि सायद उनी अहिले नेपालको कुनै गाउँ वा पहाडमा, ओरालोउकालो बाटोमा रातमा एक्लै हिँड्दै थिए । सायद पुलिसबाट बच्न भाग्दै थिए । कैयौँ जङ्गल, पहाड वा गुफामुनि बसेर रातको प्रतीक्षा गर्दै थिए होलान् । रात परे पछि कतै जान… ।
उनले शनि ग्रहका वरिपरिका चन्द्रमा हेरिन् । तिनीहरू १८ ओटा थिए । त्यहाँ १२ घन्टाको दिन र पृथ्वीको हिसाबले साढे उनन्तिस वर्षको वर्ष हुन्थ्यो ।
शनि ग्रहका वरिपरि जुन औठी वा मालाजस्तो बनेको थियो, अरबौँ चट्टान र बरफका टुक्राबाट बनेको थियो । ती सबैले मालाजस्तो भएर शनि ग्रहलाई परिक्रमा गरिरहेका थिए । शनिको गुरुत्वाकर्षणले ती सबैलाई घुमाइरहेको थियो ।
शनिबाट उनी अरुण ग्रहमा पुगिन् । त्यहाँ करिब १७ घन्टाको दिन र ८४ वर्षको वर्ष हुने गर्दथ्यो । त्यसका १६ ओटा चन्द्रमा थिए । तिनीहरूमध्ये सबैभन्दा ठुलो टाइटन थियो । त्यहाँका बेग्लाबेग्लै चन्द्रमा बेग्लाबेग्लै प्रकारका थिए । कुनै चन्द्रमामा ठुला खाल्टा थिए । तीमध्ये कुनैको सतह पूरै बरफले बनेको थियो । टिटानिक उपग्रह बरफले बनेको थियो । त्यहाँ कैयौँ खाल्टा र उपत्यका देखिन्थे । एउटा चन्द्रमामा कैयौँ खाल्टा, भिर पहरा वा पहाड देखिन्थे । अरुणको एउटा उपग्रह पूरै अँध्यारो देखिन्थ्यो ।
उपन्यासमा लेखिएको छ, उनलाई पृथ्वीमा उत्तरी र दक्षिणी ध्रुवमा ६–६ महिनाका दिन र रात पर्ने गरेको कुरा थाहा थियो तर त्यो ग्रहका एउटा पाखाको मुख ४० वर्षसम्म सूर्यतिर फर्केको हुन्थ्यो र त्यहाँ ४० वर्षसम्म दिन भइरहन्थ्यो । त्यही बेला अर्कातिर ४० वर्षसम्म अन्धकार भइरहन्थ्यो । त्यो ग्रहको भित्रपट्टि पानीको समुद्र थियो ।
त्यस सन्दर्भमा यो पनि कम आश्चर्यको कुरा थिएन कि त्यो ग्रहले अरू ग्रहले भन्दा बेग्लै प्रकारले केही कोल्टो परेर सूर्यको परिक्रमा गरिरहेको थियो । त्यो ग्रहमा १६ घन्टाको दिन र १६५ वर्षको वर्ष हुने गर्दथ्यो । कति विचित्रता थिए प्रकृतिमा ?
अरुण ग्रहपछि जलजला वरुण ग्रहमा पुगिन् । त्यो ग्रहमा ठुला आँधीतुफान उठिरहेका थिए । वास्तवमा सौर्यमण्डलमा सबैभन्दा खराब आँधी त्यही नै चल्थ्यो । ती आँधीतुफानका बिचमा हिँड्दा उनलाई धेरै नै आनन्द लागिरहेको थियो । त्यो ग्रह पानीका तहले भरिएको थियो । त्यो देखेर उनका मनमा एउटा कुरा खेल्यो : पानी भएपछि त्यहाँ जीवनको पनि उत्पत्ति हुनुपर्ने तर त्यहाँ जीवन थिएन । आखिर त्यस्तो किन भएको थियो ? सायद जीवनको लागि पानी मात्र हुनु पर्याप्त हुँदैनथ्यो र त्यसका लागि अरू कैयौँ तत्त्व हुनु पनि आवश्यक हुन्थ्यो । ती तत्त्व के थिए ? ती कुन तत्त्वको कमीले गर्दाखेरि त्यहाँ पानी भएर पनि जीवनको उत्पत्ति हुन सकेको थिएन ? ती कुरा सोच्दासोच्दै उनी यम ग्रहमा पुगिन् । त्यसलाई ग्रह मान्ने वा नमान्ने ? त्यसबारे खगोलशास्त्रीका बिचमा बेग्लाबेग्लै मत पाइन्छन् । जे होस्, त्यो सौर्यजगत्को सबैभन्दा छेउको ग्रह हो ।
सौर्यजगत्को भ्रमणका सिलसिलामा जलजलाले कैयौँ धूमकेतु, पुछ्रेतारा, सूक्ष्मग्रह वा उल्कापिण्ड पनि देखेकी थिइन् । टाढाबाट ती ताराजस्तै देखिन्थे तर वास्तवमा ती तारा थिएनन् । कैयौँपल्ट सुदूर अन्तरिक्षबाट तिनीहरूले सौर्यजगत्को क्षेत्रमा प्रवेश गर्दथे तर सूर्यको गुरुत्वाकर्षणका कारणले उनीहरू त्यही रोकिन्थे र उनीहरूले करोडौँ वर्षदेखि कैदीजस्तो भएर सूर्यको परिक्रमा गर्दै आएका छन् ।
जलजला सूर्यको परिक्रमा गरिरहेका धूमकेतुको विशाल आकार देखेर आश्चर्यचकित भइन् । त्यसका तीनओटा अङ्ग हुन्थे : शिर, नाभी र पुच्छर । त्यसको शिर लाखौँ किलोमिटरको हुन्थ्यो भने नाभीको व्यास आधा किलोमिटरदेखि ५० किलोमिटरसम्मको हुन्थ्यो भने पुच्छर बिस करोड किलोमिटरसम्म फैलिएको हुन्थ्यो ।
आकाशबाट कैयौँ सूक्ष्मग्रह वा उल्कापिण्ड पृथ्वीमा पनि खस्ने गर्दछन् र त्यसका कैयौँ भयानक परिणाम पनि हुने गर्दछन् । त्यसबारे उपन्यासमा लेखिएको छ– “भनिन्छ, त्यही प्रकारको एउटा १० करोड वर्षपहिले सूक्ष्मग्रह (एस्ट्रोइड) का कारणले डाइनोसरको विनाश भएको थियो । त्यो भीमकाय शरीर भएको एउटा प्रजाति थियो । उनीहरूले १३ करोड वर्षसम्म पृथ्वीमा राज गरेका थिए । अन्तरिक्षबाट आएको एउटा सूक्ष्मग्रहका कारणले उनीहरूको विनाश भएको थियो । मेक्सिकोको आसपासमा त्यो (सूक्ष्मग्रह) खसेको थियो । त्यसपछि समुद्रमा ठुला ज्वारभाटा मात्र उठेका थिएनन्, पृथ्वीबाट आकाशसम्म धूलो र आगोका ज्वाला फैलिएका थिए । त्यसको परिणामस्वरूप संसारका वनस्पति र करिब ९० प्रतिशत जीवजन्तु नष्ट भएका थिए र पृथ्वीको तापक्रम पनि धेरै नै बढेर गएको थियो ।”
निश्चय नै डाइनोसरको विनाशसित सम्बन्धित यो सर्वसम्मत सिद्धान्त होइन । कतिपय वैज्ञानिकले जलवायुमा भएको परिवर्तनका कारणले डाइनोसरको विनाश भएको पनि बताएका छन् । त्यो कुरा जे भए पनि आकाशबाट खस्ने उल्कापिण्डका कारणले पृथ्वीमा कैयौँ भयानक दुर्घटना हुने गरेको कुरा सत्य हो ।
त्यस सिलसिलामा उपन्यासमा लेखिएको छ– “सन् १९०८ मा एउटा उल्कापिण्ड खसेर साइबेरियाको करिब दुई हजार वर्ग किलोमिटरको भूभाग पूरै हल्लिएको थियो । सन् १४९० मा आकाशबाट त्यस्तै एउटा उल्कापिण्ड खसेर चीनको एउटा सहरमा १० हजार जति मानिस मरेका थिए ।”
“आकाशबाट उल्कापिण्ड पृथ्वीमा खस्ने कार्य प्रायः भइरहन्छ । कुनै बेला एकैपल्ट हजारौँको सङ्ख्यामा सूक्ष्मग्रह पृथ्वीमा खस्ने गर्दछन् । अक्टोबर ९, १९३३ मा एक घन्टामा २० हजारभन्दा बढी उल्कापिण्डको पृथ्वीमा वर्षा भएको थियो । त्यस्ता कैयौँ उल्कालाई जम्मा गरेर संसारका विभिन्न सङ्ग्रहालयमा राखिएको छ । अहिलेसम्म खसेका उल्का पिण्डमध्ये अफ्रिकाको होवामा खसेको उल्कापिण्ड सबैभन्दा ठुलो थियो, जो ६० टनको थियो ।”
जलजलाले आकाशमा बनेका कैयौं पेटीजस्ता पदार्थ देखिन् । उनले कैयौँ बेरसम्म तिनीहरूलाई हेरिराखिन् । ती पेटी तीन प्रकारका थिए : क्विपरपेटी, अर्टबादलको पेटी र सूक्ष्मग्रह (एस्ट्रोड) को पेटी । ती पेटीहरू चट्टान र बरफका टुक्रा वा धुलाका उल्काले बनेका थिए । तिनीहरूको सङ्ख्या अरबौँमा थियो । ती सबैले घेरा बनाएर सूर्यको परिक्रमा गरिरहेका हुन्थे ।
सौर्यमण्डलको निर्माण हुँदा आकाशमा कैयौँ ग्रह र उपग्रह बनेका थिए तर कैयौँ चट्टान ती ग्रह वा उपग्रहमा नमिसिएर उनीहरूले बेग्लै घेरा बनाएर सूर्यको परिक्रमा गर्न थालेका थिए ।
जलजलाले कैयौँ बेरसम्म ती पेटीलाई हेरिरहिन् र त्यसपछि स्वयम् पनि उडेर ती पेटीमा गइन् । उनले पेटी वा त्यहाँ लडीबुडी गर्दै सूर्यका वरिपरि घुमिरहेका बरफ, माटो वा चट्टानसित लडीबुडी गर्दै सूर्यको परिक्रमा गर्न थालिन् । त्यसो गर्दा उनलाई धेरै नै प्रसन्नता र उत्साहको अनुभूति भइरहेको थियो । उनले एउटापछि अर्को गर्दै केही बेरसम्म केही पेटीमा घुमिरहिन् ।
उनी सौर्यमण्डलमा घुम्न थालेको धेरै बेर भइसकेको थियो । त्यहाँ घुम्दाघुम्दै उनले मनमनै यो सोच्न थालेकी थिइन् : सौर्यमण्डलको अन्तिम सीमा कुन हो ? उनले केही टाढा बादलको एउटा ठुलो घेरा देखिन् । त्यो घेरा सूर्यबाट १५० अरब किलोमिटर टाढा थियो । त्यो घेरा पूरै अँध्यारो देखिन्थ्यो । त्यहाँ अर्को बादलका टुक्रा थिए । त्यसको व्यास करिब १५ खरब किलोमिटर थियो । उनी कैयौँ बेरसम्म बादलको त्यो घेराभित्र घुमिरहिन् । पृथ्वीबाट बादलको त्यो घेरामा पुग्नका लागि प्रतिदिन १० लाख माइलको गतिले जाने अन्तरिक्ष यानलाई पनि ४०० वर्ष लाग्थ्यो भने त्यसको बाहिरी भागमा निस्कन ३० हजार वर्ष लाग्थ्यो तर उनी सजिलैसँग त्यहाँ पुगिन र त्यहाँ केही बेर घुमेर उनी बाहिर निस्किन र उनले दुधपथ (मिल्की वे) तारामण्डलको यात्रा सुरु गरिन् ।
अन्तरिक्षमा अरबौँ आकाशगङ्गा थिए । तिनीहरूमध्ये एउटा दुधपथ आकाशगङ्गा थियो, जो पृथ्वीको सबैभन्दा नजिकको तारामण्ड थियो । त्यसमा करिब दुई खरब तारा थिए । दुधपथ आकाशगङ्गाको एउटा सानो तारा सूर्य थियो । उनले भर्खरै मात्र सूर्य र सौर्यमण्डलको यात्रा पूरा गरेकी थिइन् । त्यो सम्पूर्ण सौर्यजगत् र सूर्य कति विशाल थिए ? तर त्यो सूर्य पनि दुधपथ आकाशगङ्गाको एउटा सानो तारा मात्र थियो । त्यहाँका तारामा एउटाबाट अर्कोमा पुग्न करिब सय प्रकाशवर्ष लाग्थ्यो । सूर्यले पनि दुधपथ तारामण्डलको परिक्रमा गरिरहेको थियो । सूर्यलाई त्यो तारामण्डलको एकपल्ट परिक्रमा गर्न करिब २३ करोड वर्ष लाग्दथ्यो ।
उनले कैयौँ बेरसम्म दुधपथ आकाशगङ्गाको भ्रमण गरिरहिन् । त्यहाँ बेग्लाबेग्लै रङ्गीबिरङ्गी कैयौँ तारा चम्किरहेका देखिन्थे । सम्पूर्ण तारामण्डलको दृश्य अत्यन्त रमणीय, मनमोहक, सुन्दर र अतुलनीय देखिन्थ्यो । उनले त्यो दृश्यलाई पृथ्वीको कुनै कुरासँग तुलना गर्ने कोसिस गरिन् तर पृथ्वीमा कुनै यस्तो चिज थिएन, जोसित त्यसको तुलना गर्न सकियोस् । उनले मनमनै एउटा यस्तो विशाल फूलबारीको कल्पना गरिन्, जहाँ लाखौँ, करोडौँ, अरबौँ प्रकारका फूल फूलिरहेका थिए र बिजुलीको प्रकाशमा चम्किरहेका थिए । सायद त्यो फूलबारीको पनि त्यो आकाशसँग तुलना हुन सक्दैनथ्यो ।
त्यहाँ कैयौँ तारा जन्मिरहेको वा अन्त पनि भइरहेका दृश्य पनि देखिन्थे । ताराको जन्मको दृश्य अत्यन्त सुन्दर हुन्थ्यो भने अन्तको अत्यन्त दुखद, करुणादायक र भयानक पनि ।
आकाशगङ्गामा घुम्दाघुम्दै उनले एक ठाउँमा एउटा कालो प्वाल देखिन् । त्यो अत्यन्त विशाल थियो । त्यसमा अत्यन्त धेरै गुरुत्वाकर्षण थियो । त्यसका नजिक गएको जुनसुकै चिजलाई पनि त्यसले आफूतिर तान्दथ्यो र फेरि कहिल्यै बाहिर निस्कन दिँदैनथ्यो । कुनै एउटा तारा मात्र होइन, सम्पूर्ण आकाशगङ्गालाई पनि त्यसले आफूतिर तानेर निल्न सक्दथ्यो । त्यो “ब्ल्याक होल” थियो । त्यसले जलजलालाई पनि आफूतिर तान्यो । त्यसले उनलाई आफूतिर तानेर तल कहाँसम्म पुऱ्यायो ? त्यो कुरा उनलाई थाहा हुन सकेन् । उनी जति तल गए पनि त्यहाँ अध्यारो मात्र थियो तर यो “ब्ल्याक होल” ले उनलाई पूरै निल्न सकेन र उनी पुनः बाहिर आइन् ।
त्यसबाट बाहिर निस्केर उनले पुनः आकाशङ्गाको भ्रमण गर्न थालिन् । उनले त्यहाँका कैयौँ तारालाई कैयौँ ग्रहले परिक्रमा गरिरहेको पनि देखिन् । उनले ती ग्रहतिर जाने विचार गर्दै थिइन् । त्यही बेला उनले सुदूर अन्तरिक्षमा अर्को विशाल आकाशगङ्गालाई देखिन् र उनी त्यतैतिर लागिन् । त्यहाँ आकाशगङ्गाको एउटा समूह थियो, जहाँ ५४ ओटा आकाशगङ्गा थिए । प्रत्येक आकाशगङ्गामा अरबौँ तारा थिए । ती आकाशगङ्गा र त्यहाँका असङ्ख्य तारा देखेर उनी धेरै नै चकित हुँदै थिइन् । त्यही बेला अर्को विशाल आकाशगङ्गा देखेर उनको आश्चर्यको सीमा कैयौँ गुणा बढेर गयो ।
उनी भिग्रो सुपर क्लस्टर आकाशगङ्गामा पुगेकी थिइन् । त्यो १० लाखभन्दा बढी आकाशगङ्गाको एउटा विशाल समूह थियो । त्यो ११ करोड प्रकाशवर्षभन्दा ठुलो क्षेत्रफलमा फैलिएको थियो । जलजलाले आकाशगङ्गाको त्यो विशाल समूहको यात्रा गर्न थालिन् । त्यसको तुलनामा सौर्य, सौर्यजगत् वा दुधपथ आकाशगङ्गाको पनि कुनै तुलना हुन सक्दैनथ्यो ।
उनले अन्तरिक्षमा त्यस प्रकारका कैयौँ सुपर क्लस्टर आकाशगङ्गा देख्न थालिन् । उनलाई छिट्टै यो थाहा भयो कि अन्तरिक्षमा त्यो जस्तो वा त्योभन्दा विशाल दशौँ लाख सुपर क्लस्टर आकाशगङ्गा थिए । आकाशगङ्गाको सङ्ख्या मात्र असीम थिएन । ती आकाशगङ्गा पनि बेग्लाबेग्लै प्रकारका थिए । त्यो कुराको चर्चा गर्दै उपन्यासमा लेखिएको छ– “पृथ्वीबाट ७५० प्रकाशवर्ष टाढा एउटा यस्तो ग्रह पनि थियो, जो पूरै अँध्यारो थियो । एउटा यस्तो ग्रह पनि थियो, जो पूरै नै हीराले बनेको थियो । त्यो ग्रह पृथ्वीभन्दा तीन गुणा ठुलो थियो । त्यो पृथ्वीबाट ४० प्रकाशवर्ष टाढा थियो । एउटा पूरै बरफले बनेको ग्रह पनि थियो तर आश्चर्यको कुरा यो थियो कि त्यसको तापमान अत्यन्त धेरै थियो । एउटा पूरै नै पानी भरिएको ग्रह पनि थियो । अन्तरिक्षमा एउटा चिसो तारा पनि थियो । त्यो पृथ्वीबाट ६३० प्रकाशवर्ष टाढा थियो ।”
उपन्यासमा अगाडि लेखिएको थियो– “पृथ्वीबाट १२ अरब ५० प्रकाशवर्ष टाढा पानीको ठुलो भण्डार थियो । त्यो भण्डारमा पृथ्वीमा भएको सम्पूर्ण पानीभन्दा १४ खरब गुणा बढी पानी थियो । त्यस भण्डारमा भएको पानी विश्वमा भएको सम्पूर्ण पानीभन्दा चार हजार गुणा बढी थियो । त्यो पानीको महासागर देखेर उनलाई त्यहाँ पौडी खेल्न मन लाग्यो । उनी केही बेरसम्म त्यसमा गएर पौडी खेलिन् । त्यसको एउटा छेउबाट अर्को छेउसम्म पौडी खेलिरहिन् ।”
उनले घुम्दाघुम्दै एउटा रक्सीको विशाल महासागर पनि देखिन् । त्यसलाई देखेर उनी हाँसिन् र मनमनै सोचिन्– ॅरक्सी खाने मानिस यहाँ आएको भए उनीहरू त्यसलाई देखेर कति धेरै खुसी हुन्थे ।’
अन्तरिक्षमा घुम्दाघुम्दै उनले एउटा यस्तो संरचना पनि देखिन्, जो अहिलेसम्म उनले देखेका सबै ठुला ठुला आकाशगङ्गालाई सम्मिलित रूपमा लिँदा पनि तिनीहरूभन्दा कैयौँ गुणा ठुलो क्षेत्रफलमा फैलिएको थियो । उनले एक ठाउँमा १० अरब प्रकाशवर्ष लामो र ७ अरब प्रकाशवर्ष चौडा भएको संरचना देखिन् । त्यो संरचना अत्यन्तै विशाल थियो ।
उनले अन्तरिक्षमा ३३ करोड प्रकाशवर्षको विशाल क्षेत्रमा फैलिएको एउटा यस्तो संरचना पनि देखिन्, जो पूरै अन्धकारमय थियो । कतिपय वैज्ञानिकले त्यो अँध्यारो भाग सम्पूर्ण ब्रह्माण्डको ९५ प्रतिशत भागमा फैलिएको पनि लेखेका थिए । त्यो क्षेत्र पूरै खालि थियो वा त्यसभित्र केही थियो ? उनको मनमा त्यो कुरा जान्न ठुलो उत्सुकता पैदा भयो तर त्यसबारे उनले केही पनि अनुमान गर्न सकिनन् । त्यसबारे अनुमान गर्नु उनका लागि कुनै सम्भावना नभएको मात्र होइन, असम्भव नै थियो ।
उपन्यासमा लेखिएको छ– “उपग्रहले ग्रहको परिक्रमा गर्दथे† ग्रहले सूर्यको र सौर्यजगत्ले दुधपथ आकाशगङ्गाको । उनलाई लाग्यो, स्वयम् दुधपथ आकाशगङ्गाले पनि पुनः कसैको परिक्रमा गरिरहेको थियो । कसको परिक्रमा गरिरहेको थियो, उनले त्यो थाहा पाउन सकिनन् । उनलाई यस्तो लाग्यो, सायद सम्पूर्ण ब्रह्माण्ड नै कतै गइरहेको थियो । सम्पूर्ण ब्रह्माण्डको भन्दा कुनै ठुलो पदार्थको गुरुत्वाकर्षणले सम्पूर्ण ब्रह्माण्डलाई नै आफूतिर तानिरहेको थियो । जलजलाले कैयौँ बेरसम्म त्यसबारे सोचिन् ।”
सायद अध्यात्मवादीका अगाडि त्यो प्रश्न आएको भए उनीहरूले भन्ने थिए होलान्– ‘त्यही शक्ति ईश्वर हो ।’
उनी सम्पूर्ण ब्रह्माण्डको परिभ्रमण गरेर पृथ्वीमा फर्केकी थिइन् । पृथ्वीमा फर्केपछि उनका मनमा बारम्बार एउटा प्रश्न उठिरहेको थियो– उनले जुन विश्वको परिभ्रमण गरेकी थिइन् । के त्यही प्रकारका अन्य विश्व वा ब्रह्माण्ड पनि थिए होलान् ?
उपन्यासमा लेखिएको थियो– “उनले अहिलेसम्म जे जति ज्ञान प्राप्त गरेकी थिइन्, त्यो ज्ञात विश्वका बारेमा नै थियो । त्यो ज्ञात विश्वमा पृथ्वी थियो । सूर्य थियो । सौर्यमण्डल थियो । दुधपथ आकाशगङ्गा र अन्य धेरै आकाशगङ्गा थिए । के विश्व त्यहीसम्म सीमित थियो वा त्यो ज्ञात विश्वबाहेक अन्य विश्वको पनि अस्तित्व थियो ? उनले कल्पना गरिन् । ती सबै विश्वको भ्रमण गर्न पाएँ । त्यहाँका सबै जीवसित सम्पर्क गर्न पाए….. ?”

