काठमाडौँ । यातायात व्यवस्था कार्यालय, भरतपुर, चितवनका कार्यालय सहायक (पाँचौँ) ईन्द्रजित गुरुङ र विचौलिया सुरज पाठकलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग घुससहित पक्राउ गरेको छ ।
आयोगको टोलीले उनीहरूलाई शुक्रबार १ लाख ८५ हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको जनाएको छ ।
यस्तै, कार्यालय प्रमुख विष्णु भट्टराई तथा अन्य कर्मचारीहरू र विभिन्न ड्राइभिइ सेन्टरका सञ्चालकहरूको मोबाइल थान– ३१ भन्दा बढी, ल्याप्टप थान–२ र अन्य कागजातहरूसमेत अख्तियारले नियन्त्रणमा लिएको छ ।
कार्यालय प्रमुख एवं कर्मचारीहरु र महालक्ष्मी ड्राईभिङ सेन्टर, गुरुङ ड्राईभिङ सेन्टर र कुमार ड्राईभिङ सेन्टर लगायतको मिलेमतोमा यातायात व्यवस्था कार्यालय भरतपुरबाट सञ्चालन भएको सवारी चालक अनुमति पत्रको परीक्षा संचालन गर्दा फेल भएका परीक्षार्थीहरुबाट विभिन्न वर्गका सवारी चालक अनुमति पत्र दिनका लागि वर्ग अनुसारको १५ हजारदेखि २५ हजारसम्म रकम लिई फेल भएका प्रशिक्षार्थीलाई पास गराउने सूचनाका आधारमा अख्तियारको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
आयोगको टोलीले कार्यालय सहायक गुरुङको कार्यकक्षबाट रु.१ लाख ८५ हजार रुपैयाँ नगद र विचौलिया सुरज पाठकलाई यातायात कार्यालय परिसरबाट नियन्त्रणमा लिएको थियो ।
उनीहरूमाथि थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले बताए ।