तौलिहवा । कपिलवस्तु जिल्ला शिवराज नगरपालिका वडा नं। ३ मा अवस्थित सोनुवागढ पर्यटन तथा धार्मिकस्थलमा राष्ट्रिय जनमोर्चाले सरसफाइ गरेको छ ।
२०८२ जेठ ३० गते शुक्रबार खरेन्द्रपुरदेखि तीन किमि उत्तरमा रहेको सो स्थानमा राजमोले सरसफाइ गरेको हो ।
पर्यटकीय स्थलका साथै पुरातात्त्विक र धार्मिक महत्त्व रहेको सो स्थानमा नगरपालिकाले भौतिक निर्माण, पानी, बिजुलीको व्यवस्था गरेपछि यस क्षेत्रमा पार्टी, भोज, विवाहका लागि चहलपहल बढ्दै गइरहेको छ । यहाँस्थित सतीमाईको मन्दिर रहेको र मागेको पुग्ने विश्वास स्थानीयवासीको छ ।
यस क्षेत्रको व्यवस्थापनमा लापरवाही बढ्दै गएको, स्थल परिसरमा फोहोरमैला, अनियन्त्रित भएको हुनाले राजमोले सरसफाई कार्यक्रम आयोजना गरेको राजमो कपिलवस्तुका सचिव केरसिंह अदैले बताउनुभयो ।
उहाँले बेलनदीघाट क्षेत्रमा पनि सरसफाइ गर्ने योजना रहेको बताउनुभयो ।
राजमो शिवराज–३ वडा समितिको आयोजनामा सम्पन्न सो कार्यक्रममा जिल्ला सचिव अदै, राजमो वडा समितिका उपाध्यक्ष रामदेव कुर्मी, जातीय समता समाजका केन्द्रीय सदस्य रामबहादुर विक तथा ठुलो सङ्ख्यामा राजमो कार्यकर्ताको उपस्थिति रहेको थियो ।
