काठमाडौँ । नेपाल पत्रकार महासङ्घले नेपाल खबर डट कम र बिजमान्डु डट कम अनलाइनमा प्रकाशित समाचार सामग्री हटाउने काठमाडौँ जिल्ला अदालतको आदेशप्रति आपत्ति प्रकट गरेको छ ।
महासचिव रामप्रसाद दाहालको हस्ताक्षरमा २०८२ जेठ २८ गते बुधबार प्रेसविज्ञप्ति जारी गर्दै महासङ्घले सो धारणा व्यक्त गरेको हो ।
समाचार सामग्रीको विषयमा चित्त नबुझेको अवस्थामा प्रेस काउन्सिलमार्फत उजुरी लिनुपर्ने स्मरण गराउँदै महासङ्घले अदालतको आदेश प्रेस स्वतन्त्रतासम्बन्धी अन्तर्राष्ट्रिय मूल्य मान्यता र नेपालको संविधान–२०७२ को व्यवस्था र मर्म विपरीत भएको बताएको छ ।
संविधानको प्रस्थापनामा नै पूर्ण प्रेस स्वतन्त्रता प्रत्याभूत गरेको बताउँदै महासङ्घले अदालतसित आफ्नो आदेशबारे पुनर्विचार गर्न, त्यसो नगरे अदालती प्रक्रिया र अन्य गतिविधि गर्न बाध्य हुने बताइएको छ ।
प्रकाशित सामग्रीको सन्दर्भमा सम्बन्धित सञ्चारमाध्यम नै जवाफदेही हुनुपर्ने स्पष्ट पार्दै महासङ्घले पत्रकार आचार संहिताको पूर्ण पालना गर्न आग्रह गरेको छ ।
