काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा विपक्षी दलका सांसदहरूले अवरोध कायमै राखेका छन् ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै विपक्षी दलले आज पनि प्रतिनिधिसभा बैठक अवरोध गरेका हुन्।
सोमबार साढे ३ बजे सुरु भएको बैठकमा विपक्षीको अवरोधपछि सभामुख देवराज घिमिरेले सहमतिको प्रयास भइरहेको भन्दै आधा घण्टाका लागि बैठक स्थगित गरे ।
विपक्षी नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का सांसदहरूले भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकमाथि छानबिन गर्न समिति गठन हुनुपर्ने भन्दै जेठ १३ गतेदेखि सदनमा अवरोध गरिरहेका छन्।
वैशाख १५ मा बजेट पेस गर्न दिएका प्रतिपक्षीले त्यसयताका कुनै पनि बैठक सञ्चालन गर्न दिएका छैनन्। सभामुख देवराज घिमिरेले बैठक सञ्चालनको वातावरण बनाउन प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए।
बैठकमा सभामुखले दलीय आधारमा बोल्न दिने प्रस्ताव गरेका थिए। तर विपक्षीले उक्त प्रस्ताव अस्वीकार गरे र उठिरहे।