काठमाडौँ । गोरखा सैनिकको वंशजको नेपाली नागरिकता कायम राख्न माग भूतपूर्व गोर्खा सैनिकहरूले गोर्खा सैनिक र उनीहरूका सन्ततिलाई वंशजको नागरिकता दिन माग गरेका छन्।
सोमबार प्रतिनिधि सभाअन्तर्गको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनीहरूले गोरखा सैनिकहरूको नेपाली नागरिकताको निरन्तरता र उनीहरूको सन्ततिलाई वंशजको आधारमा नागरिका दिनुपर्ने माग गरेका हुन्। देशले सम्झौता गरेर पठाएका नागरिकलाई राज्यविहीनताको अवस्था आउन नदिन उनीहरूको माग छ।
बैठकमा बोल्दै ब्रिटिस गोरखा सत्याग्रह संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले आफूले अर्को नागरिकता खोजेको नभई भएकै नागरिकताको निरन्तरता चाहेको बताए। उनले गोर्खा सैनिकका सन्ततीले शिक्षा, स्वास्थ्यजस्ता आधारभूत सेवा लिनको बाध्य भएर बेलायतको नागरिकता लिने गरेको उल्लेख गर्दै उनीहरूलाई नेपालको नागरिकता उपलब्ध गराउनुपर्ने माग राखे।
उनले भने, ‘यदि त्यहाँ गोर्खाको बालबालिकाहरूले नागरिकता लिएन भने राज्यबाट कुनैपनि अधिकार पाउँदैन। ऋणमा अध्ययन गर्नुपर्यो भनेपनि त्यहाँ पैसा पाउँदैन। त्यहाँ कुनैपनि कम्पनीको म्यानेजर हुनुपर्याे भने त्यहाँको नागरिक नै हुनुपर्छ। नत्र भने पाइँदैन। त्यहाँ विभिन्न समस्या भएर बालबालिकाहरू त्यहाँको नागरिकता लिन्छन् तर बाउ चाहीँ नेपाली नागरिक नै हुन्छ। समस्या के भयो त भन्दा आर्मीमा काम बिगा¥यो भने चाहीँ निकालिदिन्छ। त्यस्तो भएको अवस्थामा बाउ चाहीँ नेपाल आउनुप¥यो श्रीमति र बालबालिकाहरू लण्डनमा छ। त्यस्तो घटनाहरू पनि भइरहेको छ। उसले १० वर्षसम्म त्यहाँ जान पाउँदैन। यो समस्या त सरकारले बनाएको हो नि। त्यसकारण हामीले अर्को नागरिकता खोजेका होइनौँ हामीसँग भएको नागरिकताको निरन्तरता मात्रै खोजेका हौँ। हरेक वर्ष तीन चार मानिस भर्ती भएर जान्छ।’
वरिष्ठ अधिवक्ता डा चन्द्रकान्त ज्ञवालीले जुनसुकै मुलुकमा रहे पनि नेपाली नागरिकका सन्ततिलाई वंशजका आधारमा नागरिकता प्राप्तिमा संविधानतः कुनै बाधा नहुने तर्क गर्नुभयो। उनले राज्यले कुनैपनि नागरिकलाई राज्यविहीनताको अवस्थामा राख्न नहुने जिकिर गरे। ब्रिटिस गोरखाले प्राप्त गर्ने निवृत्तिभरण राष्ट्र बैंकमार्फत प्राप्त गर्ने व्यवस्था मिलाउनुपर्नेमा समेत उनको जोड छ। ज्ञवालीले गोर्खा सैनिकहरूलाई गैरआवासीय भिसा दिएर चुनावी प्रक्रियामा भाग लिनबाट वञ्चित गर्न नहुने समेत बताए। आफूहरूलाई पनि नेपाली नागरिक सरह मान्नुपर्ने भन्ने गोरखा सैनिकहरूको माग रहेको बताए। गोरखा सैनिकमा जाँदा नेपाली नागरिकता प्रयोग गरिएको र बेलायतको नागरिकता पाएपनि नेपाली नागरिकता कायम हुने नागरिकता ऐन संशोधन गर्न उनको आग्रह छ।
सोमवार समितिले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा गैरआवासीय नेपाली संघ र ब्रिटिस गोरखा सैनिकसँग छलफल गरेको छ।