नवीन बस्याल ##
हरेक बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सयौँ युवा नयाँ जीवनको खोजीमा उडिरहेका हुन्छन् । तपाईंले त्यो दृश्यमा देख्नुभएको होला, ठुलो झोला बोकेका युवा, आँखामा सपना, छातीमा डर र पिठ्युँमा घर । जापान, अस्ट्रेलिया, मलेसिया, साउदी अरब, दुबई, कतार, युरोप, मात्र सपना जिन्दगीको । कसैको हातमा भिसा हुन्छ, कसैको झोलामा सपना । सबैको मनमा एउटै प्रश्न गुञ्जिरहेको हुन्छ— ‘देशमा केही छैन र ?’
उनीहरू देश छोड्छन् तर प्रेम होइन । माटो छोड्छन् तर माया होइन । छाड्ने हो बाध्यताले नत्र कसलाई मन पथ्र्यो आफ्नै आमाको अँगालोभन्दा टाढा जान ?
यथार्थ के हो भने देश त छ तर बस्न सकिने अवस्था छैन । यसको मुख्य कारण हो— शासन व्यवस्थामा बसेका मानिसको सोच, योजना र जनताप्रतिको जिम्मेवारीबोधको अभाव, फलस्वरूप जन्मिन्छ बेरोजगारी ।
नेपालले राणाशासनदेखि गणतन्त्रसम्मको लामो यात्रा पार गरिसकेको छ तर यी सबै परिवर्तन नामको मात्र भए । राजा गए, राष्ट्रपतिको पालो आयो तर जनताको अनुहारमा खुसी उस्तै गरिबीको धुलोले ढाकिएको छ ।
गाउँका बारी बाँझा छन् । कुवा सुकिसकेका छन् । चौतारा सुनसान छन् । स्कुलका कक्षामा आवाज हराएको छ ।
युवाका गन्तव्य फरक छन् तर कारण एउटै, देशमा अवसर छैन । के साच्चै अवसर छैन । प्रश्न आफैमा छ । उसैलाई थाहा छ, उत्तर पनि ।
गणतन्त्रले संविधान त दियो तर देशको आत्मा अझै हराइरहेकै छ । गाउँ रित्तिँदैछन् । संस्कृति हराउँदैछ । पहिचान लोप हुँदैछ । देश बनाउने भनेको योजनाले मात्र होइन, युवालाई गाँस्ने भरोसाले हो । अवसर, मार्गदर्शन, सम्मान र सुरक्षित वातावरण—यी चारओटा पिलरबिना देशमा युवा फर्किंदैनन् ।
‘देशमा केही छैन र ?’ सबैले सोध्छन् तर जवाफ कसैले बुझ्दैन । जब विदेशतिर उड्दैछौँ, जहाजको झ्यालबाट तल हेर्दा देश कति सानो, कति राम्री देखिन्छ ।
उही हरियाली, उही पहाड, उही खेत तर ती खेत अब बाँझा छन् । गहुँ र मकैभन्दा बढी विदेशिएको युवाशक्ति उमारिरहेका छन् । सवाल त सबैको उस्तै छ— ‘देशमा केही छैन र ?’
हो, देश छ । पृथ्वीनारायण शाहको एकीकरण, जनआन्दोलनको जागरण, गणतन्त्रको घोषणा—सबै इतिहास छन् तर इतिहासले भोक मेटाउँदैन । संविधानले हाम्रा गाउँ फर्काउने आशा दिन सक्दैन । अधिकारले मात्र त पेट भर्दैन । गरिमा, अवसर र सुरक्षित भविष्य पनि चाहिन्छ ।
हामीले कतिपटक प्रयास ग¥यौँ, देशमै केही गरौँ भनेर तर यथार्थ कस्तो छ भने जसले गर्छ, उसैले मार्छ । नीति छैन, संरक्षण छैन, बजार छैन । सरकारले कागजमा योजना बनाउँछ तर व्यवहारमा उल्टो हुन्छ, कृषि अनुदानको नाममा घुस, उद्योग प्रवद्र्धनको नाममा करको बोझ ।
विदेशमा त भौतिक सुख पाउने हो तर भावनात्मक अभाव चर्को हुन्छ । यहाँ पैसा पाइन्छ तर समय छैन । आफ्नै लागि जिन्दगी बाँकी रहँदैन ।
साँझपख काम सकेर फर्किंदा कोठाको ढोका खोल्दा कोही बोल्ने मान्छे हुँदैन ।
पैसा कमाएको नाममा हामीप्रति समाजको दृष्टिकोण बदलिन्छ । फेसबुकमा घुमेको फोटो हालेपछि कमेन्ट आउँछ– तपाईं त मज्जा गर्नुभएको छ” तर कोही सोध्दैन, त्यो फोटो खिचिनुअघि कति घण्टा काम गरियो ? कतिपटक आँखा रसाइयो ? कति रात निद्राविहीन बित्यो ।
एक मित्रले भने– ‘सर, पैसा धेरै भएछ है ।’ विदेशमा त काम नगरी बस्न त्यो शब्द सुन्दा मनमा घाउ बन्यो किनकि हामी पैसा कमाउन होइन, सपना बाँच्न आएका तर बाँच्न पनि कहाँ सजिलो छ यहाँ ?
हामीलाई हेरिन्छ, कमाउने मेसिनजस्तो । जिन्दगीको पीडा भने आफूभित्र मात्र ।
देश फर्किने सपना देख्न चाहन्छौँ तर बाटो नै छैन । देश फर्कन्छु्र, केही गर्छु भन्ने भावना मनमा कतिपटक आउँछ तर फर्किन खोज्दा एउटा पाइलामै भित्ता लाग्छ ।
कृषिमा रुचि छ तर बिउको संरक्षण छैन, उत्पादनको मूल्य छैन । उद्योग खोल्न चाहन्छौँ तर बैङ्कको ऋण तर्कले होइन, सिफारिसले चल्छ ।
नयाँ प्रविधि ल्याउन खोज्दा फाइल कार्यालयको कुनामा तर सरकार भन्छ— ‘युवा फर्कियुन्, लगानी गरुन्’ तर व्यवहारमा त्यो स्वागत होइन, शङ्का हुन्छ ः कताबाट पैसा ल्याएको होला ? काम गर्ने हैसियत छ ? कसले साथ दिने हो ? यी प्रश्नले आत्मबल चिर्दछ ।
देशमा केवल सपनाको कुरा हुन्छ तर सपनालाई जीवन बनाउने पूर्वाधार छैन ।
सम्बन्ध विदेशले केवल देशसँग हैन, साथीसँग पनि टाढा बनाउँछ । विदेशले मनोविज्ञान बदल्दो रहेछ । साथीहरू पहिले नजिक लाग्थे तर अहिले लाग्छ, के यिनीहरू साँच्चै साथी थिए त ?
अरूका लागि तपाईं अब व्यक्ति होइन, रकम हुन थाल्नुहुन्छ । तपाईंले कति कमाउनुहुन्छ ? कति पठाउनुहुन्छ ? किन घर आउनुभएन ? कसरी गाडी चढ्नुभो ? यी प्रश्न मित्रता होइन, हिसाबको भाषा हुन् र कहिलेकाहीँ यस्तो पनि हुन्छ, कसैले तपाईंलाई ‘अनफ्रेन्ड’ गर्छ किनभने तपाईंले सहयोग गर्न सक्नुभएन । त्यो पीडा शब्दमा होइन, अनुभवमा मात्र देख्न सक्रिन्छ ।
नेपालले पुल बनाएको छ, सडक खनेको छ, भ्युटावर बनाएको छ तर यिनले खान दिदैन । देशको आत्मा भनेको युवाको आशा हो, किसानको आँट हो, शिक्षकको प्रतिबद्धता हो ।
आज गाउँ सुस्ताउँदैछन्, चौतारा सुनसान छन्, स्कुलका कक्षामा आवाज छैन । गाउँले माया मागिरहेको छ, योजना होइन ।
गणतन्त्र आयो तर गाउँका छोराछोरी सब विदेशिएका छन् । सहर उज्यालो भयो तर गाउँमा अन्धकार बाक्लिँदैछ । नाम फेरिए तर नतिजा फेरिएन र आखिर लाग्छ, देश बनाउने भाषणले होइन, कर्मले मात्र सम्भव छ । अन्ततः हामी फर्कन्छौँ त ? देशले बोलाउँछ त ?
हामीलाई देश चाहिएको छ, देशलाई पनि हामी चाहिएको छ तर हामीबिचको पुल चुँडिएको छ । यो पुल केवल सडकले होइन, भरोसाले बनाउँछ ।
देशले युवालाई साथसुरक्षाको वातावरण र संवेदनशील नीति दिन सके मात्र हामी फर्कन सक्छौँ । हामी फर्कन चाहन्छौँ तर एउटा यस्तो माटोमा जसले हाम्रो श्रमको सम्मान गर्छ ।
हाम्रो पहिचान जोगाउँछ । विदेशको जीवन कुनै सपना होइन, त्यो पनि जीवन हो, थप जिम्मेवारी र थोरै हामीलाई हेर्छ, एक ‘प्रवासी कमाउने’ होइन, एक ‘सपना देख्ने नागरिक’ को रूपमा ।