टोकिया (जापान) । जापान सरकारले भिसा नवीकरण र जापान प्रवेशमा कडाइ गर्ने भएको छ ।
जापानमा बसिरहेका विदेशीहरू (मध्यम वा दीर्घकालीन भिसा भएका) ले यदि राष्ट्रिय स्वास्थ्य बिमा वा पेन्सन तिरेका छैनन् भने, उनीहरूको भिसा नवीकरण वा स्टाटस परिवर्तन गर्न नपाउने जापान सरकारले निर्णय गरेको छ ।
साथै, अघिल्लो पटक उपचार खर्च नतिरी फर्केका विदेशी नागरिकलाई फेरि देश प्रवेशमा रोक लगाउने भएको छ । सरकारले आज (जुन ६) मा यस्तो निर्णय गरेको जापानी संचारमाध्यमहरूले जनाएका छन् ।
सरकारले विशेष सीप भिसा (स्पेसिफाइड स्किल) मा काम गरिरहेका श्रमिकहरूको बीमा तिर्ने अवस्था जाँच गर्नेछ। धेरै बक्यौता भएको कम्पनीले विदेशी कामदार राख्न नपाउने निर्णय पनि गरिएको छ।
जापानी प्रधानमन्त्री सिगेरु इशिबाका अनुसार, जापानी जनताको चिन्ता हटाउन र व्यवस्था मजबुत बनाउन यो कदम चालिएको हो। यसका लागि प्रधानमन्त्री कार्यालयमा नयाँ प्रशासनिक विभाग पनि बनाइनेछ।