काठमाडौँ । देशको तात्कालिक राजनीतिक परिस्थितिको बारेमा छलफल गर्दै नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह र नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालको माझमा भेटवार्ता भएको छ ।
प्रवक्ता रामप्रकाश पुरीले २०८२ जेठ १९ गते सोमबार प्रेसवक्तव्य जारी गर्दै सो जानकारी दिइएको हो ।
भेटमा देशको राजनीतिक परिस्थिति, कम्युनिस्ट आन्दोलन र बढ्दै गएको प्रतिगामी खतराको बारेमा छलफल भएको उक्त वक्तव्यमा उल्लेख छ ।
क्रान्तिकारी रूपान्तरणका लागि सैद्धान्तिक स्तर उठाउन विशेष पहल गर्नुपर्ने, कम्युनिस्ट ध्रुवीकरणका लागि पहल गर्नुपर्ने र प्रतिगामी खतरा विरुद्धको सङ्घर्ष अगाडि बढाउन राजनीतिक पार्टी र जनस्तरमा ऐक्यबद्धता बढाउनुपर्नेबारेमा छलफल भएको पनि वक्तव्यमा जानकारी दिइएको छ ।
भेटवार्तामा राष्ट्रिय जनमोर्चाकी केन्द्रीय उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलको पनि उपस्थिति रहेको थियो ।
यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :
“आज बिहान २०८२ जेठ १९ गते नेकपा (मसाल) का महामन्त्री कामरेड मोहनविक्रम सिंह र एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता कामरेड झलनाथ खनालका बिचमा भेटघाट भएको थियो । उहाँहरूले आÇनो भेटघाटको बेलामा देशको राजनीतिक स्थिति, कम्युनिस्ट आन्दोलन र देशमा बढ्दै गएको प्रतिगामी गतिविधिबारे पनि विस्तृत रूपले विचार विनिमय गर्नुभएको थियो ।
उहाँहरू दुबै जनाका बिचमा यो कुरामा सहमति भएको थियो कि देशको कम्युनिस्ट आन्दोलनमा क्रान्तिकारी रूपान्तरणको गम्भीर प्रकारको आवश्यकता छ । सबै क्रान्तिकारी मार्क्सवादी–लेनिनवादीले त्यो दिशामा गम्भीरतापूर्वक पहलकदमी गर्नुपर्ने आवश्यकता छ । खास गरेर मार्क्सवादी–लेनिनवादी दर्शनको पथप्रदर्शनमा नै त्यो कार्य पूरा हुन सक्दछ । त्यसैले देशका विभिन्न कम्युनिस्ट समूहको सैद्धान्तिक स्तर उठाउन विशेष पहलकदमी गर्नुपर्ने आवश्यकता छ ।
उहाँहरूको यो कुरामा पनि सहमति बनेको थियो कि देशमा लामो राजनीतिक परिवर्तन तथा कम्युनिस्टहरू बारम्बार सत्तामा गएको भए पनि देशको कृषि, उद्योग वा जनताका समस्यालाई समाजवादी प्रकारले रूपान्तरण गर्ने कार्यमा खास प्रगति हुन सकेको छैन । त्यसले गर्दा जनताको जीवन र अवस्थामा कुनै परिवर्तन हुन सकेको छैन । त्यसले गर्दा जनतामा अत्यन्त असन्तोष र निराशा उत्पन्न भएको छ । त्यसबारे पनि जनतामा बढी जागरुकता ल्याउनुपर्ने आवश्यकता छ ।
उहाँहरू दुबैका बिचमा देशमा देखा परिरहेको प्रतिगमनको खतराप्रति पनि विस्तृत रूपले छलफल भएको थियो । उहाँहरूको बिचमा यो कुरामा सहमति भएको थियो कि गत कालमा बनेका विभिन्न सरकारका गलत नीति वा क्रियाकलापबाट जनतामा पैदा भएको असन्तोष वा निराशाबाट पनि प्रतिगामी शक्तिलाई बल पुगेको छ । त्यसकारण हामीले गत कालका विभिन्न सरकारका त्यस प्रकारका कार्यको आलोचना गर्दै जनतामा जागरुकता ल्याउनुपर्ने तथा उनीहरूमा अग्रगमनोन्मुख चेतनाको विकासमा विशेष जोड दिनुपर्ने आवश्यकता छ । त्यस सन्दर्भमा आपसका कैयौँ मतभेदका बाबजुत प्रतिगमनका विरुद्ध भएका विभिन्न राजनीतिक शक्तिका बिचमा पनि देशमा बढिरहेको प्रतिगामी खतराका विरुद्ध ऐक्यबद्धता कायम गर्नुपर्ने आवश्यकतामा पनि जोड दिनुपर्ने आवश्यकता छ । प्रतिगमनका विरुद्ध त्यस प्रकारको ऐक्यबद्धता खालि राजनीतिक शक्तिको बिचमा मात्र होइन, विभिन्न जनसमूहका बिचमा पनि बढाएर लैजानुपर्ने आवश्यकता छ र प्रतिगमनका विरुद्ध ती सबैलाई परिचालन गर्नुपर्ने आवश्यकतामा उहाँहरू दुबै जनाका बिचमा समान धारणा बनेको थियो ।
उहाँहरू दुबै जनाका बिचमा उक्त विषयमा अरू विस्तृत क्षेत्रमा राजनीतिक सम्पर्क र छलफल बढाउँदै जानेबारे पनि सहमति भएको छ ।”