गलकोट (बागलुङ) । नेपालकै २२ ठुला परम्परागत खानीमध्येको एक हो जैमिनी नगरपालिका–१० राङखानी । तामाको धाउ निकालिएका दर्जनौँ सुरुङ रहेको राङखानी क्षेत्र उत्खनन्को पर्खाइमा रहेको छ । केही सुरुङमार्ग संरक्षणको अभावमा पुरिएका छन् भने पहिरोले क्षतिसमेत पुऱ्याएको छ ।
तामा निकाल्ने धेरैले ज्यान गुमाएका छन् । पछिल्लो समय यस्तो देख्न पाइएको छैन । जैमिनी–१० राङखानीका ९५ वर्षीय बमबहादुर श्रीसले घरनजिकैको पाखोबाट आफ्ना बाबुबाजेले तामाको धाउ निकालेको जानकारी दिनुभयो ।
‘बाजेले तामाको धाउ निकालेर बिक्री गरेर जीविकोपार्जन गर्नुभएको थियो । पछि तामाको धाउमा कर बढी लगाएपछि खानी बन्द भएको हो’ स्थानीय वृद्ध श्रीसले भन्नुभयो– ‘पाखैभरि तामा खनेका डोब छन् । चारदेखि ५० मिटरसम्मका सुरुङ अझै छन् । हामी सुरुङमा हिँडेका छौँ तर कतिपय सुरुङ मेटिन थालेका छन् । पहिराले पुरिएको अवस्था छ । उत्खनन्मा सरकारले जोड दिन आवश्यक छ ।’
बागलुङको राङखानी क्षेत्रमा तामाखानीका थुप्रै सुरुङ छन्, जसमध्ये केही सुरुङ मेटिन थालेका छन् । राङखानीको डाँडाखानीलगायत क्षेत्रमा एक सय २० वर्षभन्दा अघिसम्म उत्खनन् गरिएका तामाखानी यतिबेला पुरिने अवस्थामा पुगेका छन् । राज्यलाई कर तिर्न नसकेका कारण उत्खनन् बन्द भएका तामाखानी अझै सञ्चालनमा आउन सकेको छैन । तामाखानीबाट राज्यलाई १४ धार्नी कर बुझाउन नसक्दा बन्द भएको स्थानीय बमबहादुर श्रीसले जानकारी दिनुभयो । स्रोतको अभावका कारण कर बुझाउन नसकेर बन्द भएको आफूले सुनेको उहाँले बताउनुभयो । अहिले पनि तामाका अवशेष रहेकाले यहाँको सम्भाव्यता अध्ययन गरेर खानी सञ्चालनमा ल्याउनुपर्ने स्थानीयवासीको माग छ । स्थानीयले खानी सञ्चालनमा ल्याउँदा स्थानीय सरकार र स्थानीयको आयआर्जन बढ्ने बताउनुभयो ।
खानीबाट स्थानीयवासीले आफ्नै सिप र प्रविधिको प्रयोगबाट सानो मात्रामा तामा निकाल्ने गरेकोमा पछिल्लो प्रविधिको विकासले ठुलो मात्रामा तामाखानी निकाल्न सकिने स्थानीय लालबहादुर पुनले बताउनुभयो । यहाँका खानीमा अन्य जिल्लाका मजदुरसमेत आएर काम गर्ने गरेकाले यहाँ ठुलो मात्रमा तामा रहेको अनुमान गरिएको छ ।
खानी सञ्चालन र उत्खनन्को अधिकार स्थानीय सरकारलाई नभएकाले सङ्घीय सरकारले पहलकदमी गर्नुपर्ने वडाध्यक्ष श्रीप्रसाद थापाले बताउनुभयो । दमेक र राङखानी क्षेत्रमा खानीको जैमिनी नगरपालिकाले सम्भाव्यता अध्ययन गरिरहेको उहाँले बताउनुभयो । तामा उत्पादनका लागि निकालिएको धाउलाई स्थानीय भाषामा राङ भन्ने चलन भएकाले राङको खानी भएकाले तत्कालीन राजा रजौटाले यस ठाउँको नाम नै राङखानी राखिएको भन्ने चलन छ । तमानखोला गाउँपालिका, बागलुङ नगरपालिका र जैमिनी नगरपालिकाभित्रको खानी उत्खनन्का लागि सम्भाव्यता अध्ययन गर्न खानी तथा भूगर्भ विभागबाट अनुमतिप्राप्त भए पनि यकिन तथ्याङ्क आउन सकेको छैन ।
बागलुङ नगरपालिका, जैमिनी नगरपालिका र तमानखोला गाउँपालिकाका विभिन्न ठाउँमा तामाखानी छन् । धातुजन्य खानीसँगै जिल्लामा प्रशस्त मात्रामा ढुङ्गाखानी पनि छन् । ढुङ्गाखानी केही स्थानमा उत्खनन् हुने गरे पनि फलाम तथा तामाखानी अहिलेसम्म उत्खनन् हुन सकेका छैनन् ।