धनगढी । राष्ट्रिय जनमोर्चाले गणतन्त्र दिवसका अवसरमा सुदूरपश्चिमका चार जिल्लामा विभिन्न कार्यक्रम गरेको छ ।
गणतन्त्र र राष्ट्रियताको रक्षा तथा संघीयता खारेजीका लागि देशब्यापी कार्यक्रम गर्दै आइरहेको राजमोले बिहीबार (जेठ १५ गते) विभिन्न कार्यक्रम गरी १७ औँ गणतन्त्र दिवस मनाएको हो ।
राजमो डोटीले दिपायल बजारमा जुलुश तथा कोणसभाको आयोजना गरेको छ । कोणसभामा राजमो जिल्ला उपाध्यक्ष रमेश अवस्थी र जिल्ला सदस्य नरेन्द्र विष्टले सम्बोधन गर्नुभयो ।
कार्यक्रमको सञ्चालन जिल्ला सचिव मानबहादुर खड्काले गर्नुभएको थियो ।
यता, कञ्चनपुरमा ‘प्रतिगामी खतराविरुद्ध संघर्ष गरौँ, गणतन्त्रको रक्षा गरौँ’ भन्ने नारासहित राजमो कञ्चनपुरले शुक्लाफाँटा नगरपालिकाको कालागौडीमा कोणसभाको आयोजना गर्यो ।
कार्यक्रममा राजमो प्रदेश सचिव राजाराम चौधरी र जिल्ला अध्यक्ष राम बहादुर कार्कीले मन्तव्य राख्नु भएको थियो।
जनजाती नेता राजकुमार चौधरीले सञ्चालन गरेको कार्यक्रममा स्वागत अखिल नेपाल किसान महासंघ सुदूरपश्चिम प्रदेश समितिका संयोजक जनक बहादुर कुँवर र अध्यक्षता राजमो सुक्लाफाँटा नगर अध्यक्ष टुङ्गे बोहराले गर्नुभएको थियो ।
यस्तै, राजमो कैलालीले सुख्खडमा आयोजना गरेको कोणसभामा राजमो जिल्ला उपाध्यक्ष मिलन शाही र सचिव मेर्जन शाहीले सम्बोधन गर्नुभयो । कार्यक्रमको सञ्चालन जिल्ला सदस्य प्रेम चन्दले गर्नुभयो ।
कैलालीकै अत्तरियामा साँझ दिप प्रज्ज्वलन गरिएको थियो ।
यता, डडेल्धुरामा भने राजमोसहित नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा एकीकृत समाजवादीले संयुक्त कार्यक्रम आयोजना गरेका थिए । कार्यक्रममा राजमोको तर्फबाट अखिल (छैठौं) का पूर्व केन्द्रीय कोषाध्यक्ष हेमराज भट्टले सम्बोधन गर्नुभएको थियो ।