तेजेन्द्र क्षेत्री ##
उदार समाजवाद उन्नाइसौँ शताब्दीको उत्तरार्ध र बिसौँ शताब्दीको सुरुआतमा युरोपमा विकसित भएको एक राजनीतिक दर्शन हो । यो समाजवाद र उदारवाद दुबैको विचारलाई मिश्रण गरेर बनेको छ, जसका केही प्रमुख विचारक यस प्रकार छन् : जोन स्टुअर्ट मिल, उनले समाजवादी नीतिलाई उदारवादी मूल्यसँग जोड्ने प्रयास गरे† कार्लो रोस्सेली, इटालियन विचारक जसले उदारवादी समाजवादको अवधारणा प्रस्तुत गरे; टिएच ग्रिन, ब्रिटिस दार्शनिक जसले सामुदायिक हितमा व्यक्तिगत स्वतन्त्रताको महत्त्व राखे ।
उदार समाजवाद भनेको राजनीतिक र आर्थिक विचारधारा हो जसले समाजवादी आर्थिक नीति (सामाजिक न्याय, समानता र सार्वजनिक हितमा संसाधनको वितरण) र उदारवादी मूल्य (व्यक्तिगत स्वतन्त्रता, लोकतन्त्र, मानवअधिकार र बजारको सीमित स्वतन्त्रता) लाई समन्वय गर्न खोज्छ । यो पुँजीवाद र साम्यवादबिचको मध्यमार्ग हो ।
सामाजिक न्यायअन्तर्गत आर्थिक असमानता घटाउने, गरिबी नियन्त्रण र सबैलाई शिक्षा, स्वास्थ्य र रोजगारीको अवसर प्रदान गर्ने, समाजवादी लक्ष्यहरू लोकतान्त्रिक प्रक्रियाद्वारा व्यवस्था परिवर्तन प्राप्त गर्ने (हिंसा वा क्रान्ति नगरी) । निजी क्षेत्र र सार्वजनिक क्षेत्र दुबैलाई सहअस्तित्वमा राख्ने तर प्राकृतिक संसाधन, बैङ्क र मूलभूत सेवाहरू राज्यको नियन्त्रणमा राख्ने । नागरिकको अभिव्यक्ति, धर्म र जीवनशैलीको स्वतन्त्रतालाई संरक्षण गर्ने आदि विशेषता छन् । यो नै सामाजिक उदारवादको मूलभूत विशेषता हो ।
स्क्यान्डिनेभियन देशहरू (स्वीडेन, नर्वे, डेनमार्क) ले उदार समाजवादी मोडल अपनाएका छन् । यहाँ उच्च करप्रणाली, सार्वभौम स्वास्थ्य सेवा र निःशुल्क शिक्षा छ तर बजार अर्थव्यवस्था र निजी सम्पत्तिको अधिकार पनि कायम छ । भारतको संविधानमा समाजवादी लक्ष्य (धारा ३८ र ३९) र उदारवादी मूल्य (मौलिक अधिकार) दुबै समावेश छन् ।
समाजवादले उत्पादनका साधन सामूहिक स्वामित्वमा विश्वास गर्छ; केन्द्रीय योजना र पुँजीवादको पूर्ण विरोध गर्छ तर उदार समाजवादले बजारलाई नियन्त्रित गरी सामाजिक सुरक्षाका मूल विश्वास गर्छ । सँगै निजी उद्यमलाई पनि स्थान दिन्छ । यसकारण समाजवाद र उदार समाजवाद वा सामाजिक उदारवादमा मौलिक र आधारभूत भिन्नता छ ।
सामाजिक उदारवादको खास गरी दुई प्रकारले विरोध गरेको पाइन्छ : पहिलो– दायापन्थीहरू, यसले अर्थव्यवस्थामा राज्यको हस्तक्षेप बढाउँछ भनेर विरोध गर्छन र दोश्रो वामपन्थीहरू, यो पुँजीवादसँग सम्झौता गरेर वास्तविक समाजवादलाई कमजोर पार्छ भन्ने आरोप छ ।
सारमा समानता र स्वतन्त्रताको सन्तुलन खोज्ने यो विचारधारा आधुनिक युगमा धेरै देशको नीतिगत आधार हो ।
नेपालमा राष्ट्रिय स्वतन्त्र पार्टी एक नयाँ राजनीतिक दल हो, जसले आफ्नो विचारधारालाई “उदारवादी, प्रगतिशील, र समावेशी” भनेर परिभाषित गर्दछ । यसले सामाजिक उदारवादलाई आर्थिक स्वतन्त्रता, व्यक्तिगत अधिकार र सामाजिक न्यायको सन्तुलनको रूपमा व्याख्या गरेको छ ।
नागरिकको व्यक्तिगत स्वतन्त्रता (भाषण, धर्म, पहिचान, र जीवनशैली) माथि जोड दिन्छ । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको अधिकार, महिला सशक्तीकरण र युवाको आवाजलाई प्राथमिकता दिने बताएको छ ।
अर्थव्यवस्थाको उदारवादी मोडल
बजारमूलक अर्थव्यवस्था र निजी क्षेत्रको प्रोत्साहनलाई समर्थन गर्दै तर सरकारले गरिबी न्यूनीकरण, शिक्षा, स्वास्थ्य, र रोजगारीमा सक्रिय भूमिका खेल्नुपर्छ भन्ने मान्यता राख्छ । करसुधार, भ्रष्टाचार विरुद्ध कार्य र साना, मझौला उद्यमलाई बढावा दिने योजना पनि यसभित्र अट्न सक्छन । पारदर्शी र जवाफदेही शासनलाई सामाजिक उदारवादको आधार मान्छ । प्रशासनिक सुधार, न्यायपालिकाको स्वतन्त्रता, र भ्रष्टाचारमुक्त नेपालको लक्ष्य राखेको छ ।
यसमा अन्य आधार यी हुन् :
जातीय, क्षेत्रीय र लैङ्गिक विभेद हटाएर समावेशी विकासको अभियान
सबै नागरिकलाई समान अवसर र सुविधा उपलब्ध गराउने “सामाजिक सुरक्षा सञ्जाल” को वकालत
धर्म, संस्कृति र भाषाको विविधतालाई सम्मान गर्दै धर्मनिरपेक्ष राष्ट्रियतालाई बढावा दिनु
सङ्घीय व्यवस्थालाई मजबुत गर्ने तर केन्द्रीय नीतिमा अत्यधिक निर्भरता घटाउने
युवा नेतृत्व, डिजिटलाइजेसन र नवीन प्रविधिलाई विकासको आधार बनाउने
त्यसैगरी, शिक्षा र स्वास्थ्यमा निजी–सार्वजनिक साझेदारी (पी.पी.पी.) बढाउने कुरा रास्वपाले उठाएको छ । सबै सामाजिक उदारवादको सैद्धान्तिक जगमा छन र त्यस्का प्रधान विषय हुन् ।
रास्वपाको सामाजिक उदारवाद भनेको पुँजीवादी उदारवाद र समाजवादी मूल्यबिचको समन्वय हो । यसले नेपालमा परम्परागत राजनीतिक दलहरूको “जातीय र वर्गीय राजनीति” बाट टाढा जाने प्रयास गरेको देखिन्छ तर यसको दीर्घकालीन प्रभाव नेपालको सामाजिक–आर्थिक संरचनामा कस्तो हुने भन्ने विषयमा बहस चलिरहेको छ ।
कम्युनिस्टको नजरमा सामाजिक उदारवाद प्रतिक्रियावादी कार्यक्रम हो । राज्यले सर्वहारा वर्ग (मजदुर) को हितमा काम गर्नुपर्छ र अन्ततः राज्य “विलय” हुन्छ तर राज्यले पुँजीवादलाई नियन्त्रण गर्छ† निजी सम्पत्ति र बजार अर्थव्यवस्थालाई बचाउँछ भने यो वर्गीय सहयोगको षड्यन्त्र हो । समाजवाद निर्माण गर्न पुँजीवादी व्यवस्थालाई पूर्ण रूपमा फाल्ने क्रान्ति आवश्यक छ ।
उदार समाजवादले पुँजीवादलाई “सुधार“ गर्न खोज्छ तर यसले शोषणको मूल कारण निजी सम्पत्ति र वर्गीय संरचना हटाउँदैन । त्यसैले यो “अर्धपुँजीवादी” व्यवस्था हो । यसले मजदुर वर्गलाई भ्रमित गरेर क्रान्तिको गतिलाई बाधा पुऱ्याउँछ । उत्पादनका साधन (कारखाना, जमिन, बैङ्क) सामूहिक स्वामित्वमा हुनुपर्छ भन्ने विषयलाई निजी क्षेत्र र सार्वजनिक क्षेत्र सँगै चल्छ भन्ने मान्यता राख्ने भएकोले यो पुँजीपतिको हितमा एक सम्झौता हो । उदार समाजवादले बुर्जुआ लोकतन्त्र (पुँजीपतिको नियन्त्रण) लाई बढावा दिन्छ भन्नुको मतलब संसदीय प्रक्रियाले शोषित वर्गको आवाज दबाउँछ । हुनुपर्ने के भने मजदुर किसान र सर्वहारा वर्गको पक्षमा शासन हो ।
उदार समादवादप्रति कम्युनिस्ट भनाइले सम्पूर्ण सार खिच्न प्रयत्न गर्दछ : पुँजीवादी समाजको अन्तिम उद्धारकर्ता उसैको कब्रिस्तान हुनेछ । उदार समाजवादले यसलाई बचाउन खोज्छ । सामाजिक सुधारहरू पुँजीवादलाई मृत्युबाट बचाउने औषधी मात्र हुन् । वर्गीय शत्रुहरू (पुँजीपति र मजदुर) बिचको सम्झौताले शोषणलाई स्थायी बनाउँछ । यसको विरोध गर्दै क्रान्तिकारीले वर्गविहीन समाजको स्थापनाको लागि क्रान्तिको आह्वान गर्नु सधैँको आवश्यकता हो, अलमलिनु हुँदैन ।
सिद्धान्तको व्यावहारिक प्रयोगले सैद्धान्तिक मूल्यलाई वास्तविक जीवन, निर्णय र कार्यान्वयनमा कसरी उतार्ने भन्ने स्पस्ट पार्छ । यसले सिद्धान्त र व्यवहारबिचको सन्तुलन ल्याउनु हो, जहाँ सिद्धान्तलाई अन्धानुकरण गर्नुको सट्टा यसको यथार्थमूलक प्रयोग गर्नुपर्छ । भौतिक विकास र अत्याधुनिक संरचना विकासको एउटा अङ्ग हुन सक्छ तर समाज समान रूपले एकढिक्का हुन समाज सबै मान्छेको पहुँच बराबर, अधिकार बराबर उत्पादनमा सहभागिता बराबर र वितरणमा समान पहुँच हुन नितान्तै आवश्यक छ । त्यो सम्पूर्ण स्वरूपको गुण भएको व्यवस्था समाजवाद हो । वैज्ञानिक समाजवादको आवस्यकता उदार समादवादले पूरा गर्न सक्दैन । मागेर र कसैले कठै भनेर दिएको अधिकारले सम्पूर्ण मजदुर–किसानका आधारभूत स्वामित्व निर्माण गर्न सक्दैन । त्यसैले खोस्नुपर्छ भनिएको हो । खोस्नका लागि त्यसअनुरूपको हतियार आवश्यक पर्छ । त्यो भनेको मजदुर किसानको एकता, सङ्गठन हुन र क्रान्तिकारी निर्देशनबिना ती अधुरा अपुरा छन ।
उदार समाजवाद राजनीतिको नौलो प्रयोग हैन, यो तेस्रो लिङ्गीय प्रयोग हो । यसबाट कुनै नयाँ व्यवस्थाको जन्म सम्भव छैन । शब्दजालको भ्रममा परेर वास्तविकताबाट टाढा पुग्नु थप अर्को पुस्ताको समय पनि हालकै जस्तो हालतमा लैजानु हो । उदार समाजवाद सारमा शब्दजालको भुमरी नै हो, नफसौँ, नपरौँ ।
(लेखक जापान नेपाली एकता समाजका महासचिव हुनुहुन्छ)