मोहनविक्रम सिंह ##
आदरणीय अतिथिज्यूहरू
सर्वप्रथम हामीले आजको यो भेटघाट कार्यक्रममा आमन्त्रित र उपस्थित सबै अथितिलाई अभिनन्दन गर्न चाहन्छौँ ।
१. आजको कार्यक्रम सामान्य भेटघाटको कार्यक्रम भए पनि ऐतिहासिक र राजनीतिक दुबै दृष्टिकोणले यसको विशेष महत्त्व छ किनभने आज हामीले गणतन्त्रको प्रश्नमाथि विशेष रूपले विचार गर्न थालिरहेका छौँ । आज देशमा जुन बहुदलीय व्यवस्था, गणतन्त्र वा धर्मनिरपेक्षता कायम भएको छ, लखन थापा, खड्गमानसिंह बस्नेत, गङ्गालाल, धर्मभक्त, शुक्रराज र दशरथ चन्द तथा पञ्चायतीकालमा लाखौँ जनता मजदुर, किसान, बुद्धिजीवी, विद्यार्थी, लेखक र साहित्यकार, पत्रकार आदिको लामो एउटा गौरवपूर्ण, सङ्घर्ष, त्याग र बलिदानका उपलब्धि हुन । आज प्रतिगामी शक्तिले ती उपलब्धिलाई समाप्त गर्नका लागि सङ्गठित र योजनाबद्ध प्रकारले अभियान चलाइरहेका छन । यदि उनीहरू आफ्नो त्यो उद्देश्यमा सफल भए भने नेपाल प्रतिगमनको दिशामा धकेलिनेछ र वर्तमानका प्राप्त उपलब्धिहरूलाई प्राप्त गर्नका लागि हामीले अरू ५० वर्ष सङ्घर्ष गर्नुपर्नेछ । त्यसकारण देशलाई प्रतिगमनको दिशामा जानुबाट रोक्नका लागि वा इतिहासले हामीलाई सुम्पेका उपलब्धिको रक्षाका लागि सङ्घर्ष गर्न सम्पूर्ण नेपाली जनता एकताबद्ध हुनुपर्दछ । आज हामी केही गम्भीर राष्ट्रिय र ऐतिहासिक प्रश्नमाथि विचार गर्न यहाँ उपस्थित भएका छौँ । त्यसैले आजको भेटघाटको कार्यक्रमले ठुलो ऐतिहासिक र राष्ट्रिय महत्त्व राख्दछ ।
२. इतिहास सधैँ सिधा रेखामा अगाडि बढ्दैन र त्यो टेडामेडा र बक्ररेखाका बिचबाट हुँदै अगाडि बढ्छ । निश्चय नै इतिहास निश्चित रूपले निम्न चरणबाट उच्चस्तरमा वा अग्रिम दिशामा नै अगाडि बढ्दै जान्छ । विश्वको र नेपालको पनि राजनीतिक इतिहासले त्यो कुरा बारम्बार प्रमाणित गर्दै आएको छ । प्रजातान्त्रिक आन्दोलनको इतिहास पनि त्यही प्रकारले अगाडि बढ्दै आएको छ । कैयौँ देशमा क्रान्ति हुन्छन् । पुनः प्रतिक्रान्ति हुन्छन् तर त्यो अस्थायी अवस्था हो । क्रान्ति हुन्छ र इतिहास अग्रगामी दिशामा अगाडि बढ्छ । नेपालको इतिहास पनि यही प्रकारले अगाडि बढ्दै आएको छ । २००७ सालमा राणाको निरङ्कुश शासनको अन्त्य भयो । २०१७ सालमा तात्कालीन राजा महेन्द्रले बहुदलीय व्यवस्था समाप्त गरेर निरङ्कुश राजतन्त्र र पञ्चायती तानाशाही व्यवस्था कायम गरे । २०४६ मा त्यो व्यवस्थाको अन्त्य भयो । तत्कालीन राजा ज्ञानेन्द्रले २०५९ सालमा बहुदलीय व्यवस्थालाई समाप्त गरेर निरङ्कुश शासन कायम गरे तर त्यसका विरुद्ध २०६२–६३ सालमा जनआन्दोलन भयो र त्यसले २०४६ सालमा भन्दा ठुलो फड्को माऱ्यो र देशमा राजतन्त्रको अन्त्य भएर गणतन्त्रको स्थापना भयो । त्यही प्रकारले आज राजावादीले गणतन्त्रलाई समाप्त गर्न प्रयत्न गर्दछन् भने देशको राजनीतिक आन्दोलनले अरू उच्च तहमा फड्को मार्नेछ ।
३. यो वास्तविकतालाई हामीले स्वीकार गर्दछौँ र गर्नु पनि पर्दछ, २००७ साल, २०४६ साल वा २०६२–६३ सालपछि देशमा बहुदलीय व्यवस्था वा गणतन्त्र पक्षधर जुन शक्तिहरू सत्तामा आए, उनीहरूले जनताप्रति सही जिम्मेवारी पूरा गर्न सकेनन् । उनीहरूका शासनकालमा भएका कुशासन, भ्रष्टाचार वा जनविरोधी क्रियाकलापका कारणले जनतामा व्यापक रूपले असन्तोष र निराशा उत्पन्न भयो । तिनीहरूका आधारमा प्रतिगामी शक्तिले आफ्नो स्थितिलाई मजबुत पार्न प्रयत्न गरिरहेका छन् । उनीहरूले यो दाबी गरिरहेका छन् कि राजाको शासन कायम भएपछि देशमा शान्ति र सुव्यवस्था कायम हुनेछ† भ्रष्टाचार र कुशासनको अन्त्य हुनेछ† राजनीतिक स्थिरता आउनेछ† देशको विकास हुनेछ तर हाम्राअगाडि शाहीशासन, राणाशासन वा पञ्चायती शासनसमेतको करिब अढाई सय वर्षको इतिहास साक्षी छ । त्यो कालमा अवश्य पनि पृथ्वीनारायण शाहजस्ता देशभक्त राजा पनि थिए । उनी सामन्ती राजा थिए तैपनि नेपालको एकीकरणमा उनको ऐतिहासिक योगदान रह्यो तर राणाशासनपूर्वको शाही शासनकाल पनि कैयौँ प्रकारका कुव्यवस्था, पारस्परिक अन्तरकलह, हत्याकाण्ड, अशान्ति र जनविरोधी क्रियाकलापका लागि बदनाम छ । २०१७ सालपछि कायम भएको प्रत्यक्ष शासनकाल, पोखराका नमिता–सुनिता बलात्कार र हत्याकाण्ड, राजपरिवारद्वारा अनियन्त्रित प्रकारको तस्करी, राजाद्वारा राष्ट्रिय सम्पत्तिको ठुलो पैमानाको ब्रह्मलुट, देशव्यापी रूपमा मण्डलेको गुण्डाशासन, पञ्चद्वारा देशव्यापी रूपमा कुशासन र भ्रष्टाचार आदि आम रूपमा थाहा भएका कुरा हुन् । यदि पुनः राजाको शासन कायम भयो भने त्यही प्रकारको कालो पञ्चायती शासनको पुनरावृत्ति हुनेछ र जनता ठुलो पैमानामा पीडित हुनुपर्नेछ ।
४. राजावादीले यो दाबी गरिरहेका छन् कि राजाको शासन कायम भएपछि देशमा विदेशी हस्तक्षेप बन्द हुनेछ र राष्ट्रियताको रक्षा हुनेछ तर भारतीय वा नेपाली समाचारपत्रले यो कुरालाई व्यापक रूपमा बाहिर ल्याएका छन् कि राजा त्रिभुवनले नेपाललाई भारतमा सामेल गर्नका लागि भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूसँग प्रस्ताव राखेका थिए । राजाको शासनकालमा नै भारतीय सेनाले कालापानीमा कब्जा गरेको थियो र त्यसका विरुद्ध तत्कालीन नेपाली राजा वा पूर्व राजाले अहिलेसम्म कुनै आवाज उठाएका छैनन् । त्यसबाट राजाको शासन कायम भएमा देशमा राष्ट्रियताको कहाँसम्म रक्षा हुनेछ, त्यो कुरा स्वतः प्रष्ट हुन्छ । अहिले पूर्व राजा वा राजावादीले भारतीय कट्टर हिन्दुवादी शासक वर्गको आडमा नै नेपालमा गणतन्त्र र धर्मनिरपेक्षतालाई समाप्त गरेर राजतन्त्रको पुनर्स्थापना गर्ने, हिन्दु राष्ट्रको स्थापना गर्ने सपना देखिरहेका छन् । त्यसबाट यो कुरामा कुनै शङ्का रहन्न कि राजाको शासन कायम रहेमा नेपालमा विदेशी हस्तक्षेप अरू बढेर जानेछ र राष्ट्रियताका अगाडि गम्भीर खतरा उत्पन्न हुनेछ ।
५. अहिले राजावादीले देशमा वैधानिक प्रकारको राजतन्त्र कायम गर्ने कुरा गरिरहेका छन् तर यो कुनै लुकेको कुरा होइन कि पूर्व राजा ज्ञानेन्द्रले नै २०५९ सालमा वैधानिक राजतन्त्रलाई समाप्त गरेर निरङ्कुश शासन कायम गरेका थिए । त्यस प्रकारको पृष्ठभूमिमा उनी पुनः राजा भएमा देशमा वैधानिक राजतन्त्र कायम हुनेछ भनेर सोच्नु एउटा दिवासपना नै हो । नेपालको इतिहासले बारम्बार यो देखाएको छ कि राजाको निरङ्कुशता राजाको वंशानुगत चरित्र नै हो । देशमा जनताको बलमा कुनै बेला वैधानिक राजतन्त्र कायम भए पनि उनीहरूको हातमा सत्ता आउनेबित्तिकै उनीहरूले त्यसलाई पुनः निरङ्कुशतातिर नै लैजाने कोसिस गर्दछन् । नेपालको इतिहासमा बारम्बार त्यही हुँदै आएको छ र अहिले राजावादीले वैधानिक राजतन्त्रको कुरा गरे पनि त्यसको परिणाम निरङ्कुश राजतन्त्र नै हुने कुरामा कुनै शङ्का छैन । त्यसकारण प्रश्न कुन रूपमा राजतन्त्र कायम गर्ने भन्ने होइन, आवश्यकता सम्पूर्ण रूपमा राजतन्त्रलाई समाप्त गर्ने र कुनै पनि रूपमा त्यसको पुनरागमनलाई रोक्ने नै हो ।
६. गणतन्त्र कायम भएपछि देशमा जुन कुव्यवस्था, कुशासन वा भ्रष्टाचार देखा पऱ्यो, त्यसको समाधान देशमा अरू उन्नत प्रकारको लोकतन्त्र कायम गरेर नै हुन सक्दछ, न कि देशलाई प्रतिगमनको दिशामा लगेर । त्यसैले उन्नत प्रकारको लोकतन्त्रका लागि अरू दृढतापूर्वक सङ्घर्ष गर्दै प्रतिगमनलाई वा राजतन्त्रको पुनर्स्थापनाजस्तो प्रयत्नलाई सम्पूर्ण रूपले पराजय गर्नका लागि सङ्घर्षलाई अगाडि बढाउनु हाम्रो जिम्मेवारी हुन्छ र हुनुपर्दछ ।
७. हाम्रो पार्टीले प्रतिगमनका विरुद्ध भएका राजनीतिक शक्तिका बिचमा व्यापक एकताका लागि सधैँ जोड दिँदै आएको छ । २०४६ साल वा २०६२–६३ सालमा वा ओलीद्वारा २/२ पल्ट संसद्को विघटन गरेर देशलाई प्रतिगमनको दिशामा लैजान प्रयत्न गरेको बेलामा पनि हामीले प्रतिगमन विरुद्धको गठबन्धनमा जोड दिँदै आएका थियौँ । त्यस प्रकारको गठबन्धनको नीतिका महत्त्वपूर्ण उपलब्धि भएका थिए । प्रतिगमन विरुद्ध त्यस प्रकारको गठबन्धन नीतिका कारणले नै २०४६ सालमा निरङ्कुश राजतन्त्र र पञ्चायती तानाशाही व्यवस्था समाप्त भएको थियो । २०६२–६३ पछि देशमा राजतन्त्रको अन्त्य भएर गणतन्त्रको स्थापना भएको थियो र ओलीको प्रतिगामी नीति पनि पराजित भएको थियो तर प्रतिगन विरुद्धको सङ्घर्षमा महत्त्वपूर्ण भूमिका खेलेका विभिन्न राजनीतिक शक्तिका ढुलमुल, अवसरवादी, सम्झौतापरस्त वा फुटपरस्त नीतिका कारणले त्यस प्रकारको एकतामा बारम्बार खलल पुग्ने र प्रतिगमनलाई बल पुग्ने गरेको छ । अहिले पनि विभिन्न राजनीतिक शक्तिमा त्यस प्रकारका अवसरवादी प्रवृत्ति देखा पर्ने गरेका छन् । निश्चय नै, त्यसबाट प्रतिगमनलाई नै बल पुग्नेछ ।
हामीले प्रतिगमनका विरुद्ध भएका वा गत कालमा प्रतिगमनका विरुद्धको सङ्घर्षमा महत्त्वपूर्ण भूमिका खेलेका राजनीतिक शक्तिसित त्यस प्रकारका कमजोरीबाट माथि उठेर प्रतिगामी खतराका विरुद्ध एकताबद्ध भएर सङ्घर्षमा अगाडि आउनुपर्ने आवश्यकतामा विशेष जोड दिन्छौँ । प्रतिगमन वा राजतन्त्रको शक्ति यति कमजोर भएर गइसकेको छ कि अब स्वयम् आफ्नो बलमा त्यो अगाडि आउन सक्ने अवस्थामा छैन तर विभिन्न राजनीतिक शक्तिका गलत नीति वा क्रियाकलापका कारणले त्यसलाई बल पुग्न सक्दछ । त्यसकारण एकातिर, उनीहरूले आफ्ना गलत नीति वा क्रियाकलापबाट सम्भावित दुष्परिणामबारे दूरदर्शितापूर्वक विचार गरेर तिनीहरूमा सुधार गर्ने प्रयत्न गर्नुपर्दछ वा अर्कातिर, उनीहरूका त्यस प्रकारका गलत नीति वा क्रियाकलापबारे व्यापक जनचेतना वा आन्दोलन उठाउने प्रयत्न गर्नुपर्दछ । त्यसरी नै प्रतिगमनका विरुद्ध सशक्त आन्दोलन उठाउन सकिनेछ र उठाउनु पनि पर्दछ किनभने त्यो सम्पूर्ण देश वा देशको भविष्यका लागि निर्णायात्मक वा एक प्रकारले जीवन र मरणको प्रश्न हो ।
८. नेपालको वामपन्थी र प्रजातान्त्रिक आन्दोलनमा आफ्ना छुद्र स्वार्थ वा महत्त्वाकाङ्क्षाका लागि राजाप्रति सम्झौतापरस्त नीति अपनाउने कैयौँ उदाहरण रहने गरेका छन् । त्यस सन्दर्भमा कम्युनिस्ट पार्टीका डा. केशरजङ्ग रायमाझी र नेपाली काङ्ग्रेसका तुलसी गिरी र विश्वबन्धु थापाका उदाहरण विशेष रूपले उल्लेखनीय छन् । अब त्यस प्रकारका प्रवृत्ति अतीतका विषय भइसके र अब नेपालको वामपन्थी वा प्रजातान्त्रिक आन्दोलनमा त्यस प्रकारका प्रवृत्तिको पुनरावृत्ति हुने छैन भनेर सोच्नु सही हुने छैन ।
९. नेकाद्वारा राजाप्रतिको सम्झौतापरस्त नीतिलाई सही ठहऱ्याउन वी.पी. कोइरालाको राष्ट्रिय मेलमिलापको नीतिलाई दुहाइ दिने गरिन्छ । त्यो बेला पनि वी.पी. को त्यो नीति गलत थियो । देशको राजनीतिक परिस्थिति र स्वयम् नेकाको इतिहास वी.पी. को त्यो नीतिबाट धेरै अगाडि बढिसकेको छ । वी.पी. ले राष्ट्रिय मेलमिलापको नीतिमा जोड दिएको भए पनि राजाले उनलाई जेलमा हालेका थिए र त्यसरी स्वयम् राजाले नै वी.पी. को त्यो नीतिलाई रद्दीको टोकरीमा Çयाँकिदिएका थिए । त्यसकारण अब त्यसको कुनै औचित्यता बाँकी रहेको छैन । पछि तत्कालीन राजा ज्ञानेन्द्र शाहले वैधानिक राजतन्त्रलाई समाप्त गरेर निरङ्कुश राजतन्त्रको स्थापना गरेको पृष्ठभूमिमा नै गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा नेकाले गणतन्त्र र धर्मनिरपेक्षताको नीतिलाई अपनाएको थियो । यो कुराको अनुमान गर्न सकिन्छ कि यदि वी.पी. जीवित भएको भए इतिहासको एउटा बाध्यात्मक अवस्थामा अपनाएको र स्वयम् राजाद्वारा नै रद्दीको टोकरीमा Çयाँकिएको राष्ट्रिय मेलमिलापको नीतिलाई उनले (वी.पी. ले) अवश्य पनि बोकेर हिँड्ने थिएनन् र उनले गिरिजाप्रसादले भन्दा अगाडि बढेर राजतन्त्र विरुद्ध र गणतन्त्रको पक्षमा सङ्घर्षलाई अगाडि बढाउने थिए तर यसलाई इतिहासको विडम्बना नभनेर के भन्ने कि स्वयम् राजाले नै रद्दीको टोकरीमा Çयाँकिदिएको र इतिहासले गलत सावित गरेको वी.पी. को राष्ट्रिय मेलमिलापको नीतिलाई बोकेर नेपाली काङ्ग्रेसको एउटा पक्षले राजावादी नीति अपनाइरहेको छ । उनीहरूको त्यो नीति तुलसी गिरी र विश्वबन्धु थापाको विरासतलाई अगाडि बढाउने प्रयत्न नै हुनेछ ।
१०. नेका मात्र होइन, वामपन्थीका कतिपय पक्षले पनि एक वा अर्को प्रकारले राजापरस्त नीति अपनाएको देखिन्छ । उनीहरूले या त प्रत्यक्ष रूपले नै धर्मनिरपेक्षताको विरोध गर्ने गर्दछन र गणतन्त्रलाई नेपाली जनताको आन्दोलनको परिणाम नभएर विदेशको दबाबमा कायम गरिएको व्यवस्था भनेर त्यसको अवमूल्यन गर्ने गरेको पनि पाइन्छ । त्यसो गर्ने बेलामा उनीहरूले नेपाली जनताले करिब एक शताब्दीसम्म विभिन्न प्रकारका निरङ्कुश शासन वा राजतन्त्रका विरुद्ध सङ्घर्षको गौरवपूर्ण इतिहासको अवमूल्यन गरेका हुन्छन् । उनीहरूको त्यस प्रकारको सोचाइका पछाडि प्रत्यक्ष वा अप्रत्यक्ष रूपले राजापरस्त प्रभावले नै काम गरेको कुरालाई अस्वीकार गर्न सकिन्न ।
११. कतिपय वामपन्थी पक्षले नयाँ जनवादी क्रान्ति वा समाजवादका ठुला क्रान्तिकारी कुरा गरेर विद्यमान गणतन्त्र रहे पनि गए पनि उनीहरूको मतलबको कुरा नभएको बताउँदैछन् । निश्चय नै विद्यमान गणतन्त्र पुँजीवादी गणतन्त्र हो र त्यसद्वारा जनताका आधारभूत समस्याको वास्तविक समाधान हुन नसक्ने कुरा निश्चित छ । जनताका आधारभूत समस्याको समाधानका लागि नयाँ जनवाद वा समाजवादतिर जानुको विकल्प छैन तैपनि लेनिनले भनेझैँ निरङ्कुश राजतन्त्रको तुलनामा वैधानिक राजतन्त्र र त्यसका तुलनामा पुँजीवादी गणतन्त्र प्रगतिशील हुन्छ । त्यो अवस्थामा आज खास गरेर प्रतिक्रियावादी शक्तिले विद्यमान गणतन्त्रलाई समाप्त गरेर देशमा राजतन्त्र पुनर्स्थापना गर्नका लागि प्रयत्न गरिरहेको अवस्थामा नयाँ जनवाद वा समाजवादजस्ता उच्च र क्रान्तिकारी नाराको आडमा भए पनि विद्यमान गणतन्त्रमाथि एक वा अर्को प्रकारले हमला गर्नु प्रकारान्तरले प्रतिगमनको सेवा गर्नु वा प्रतिगामी शक्तिको गणतन्त्रमाथिको हमलालाई सहयोग पुऱ्याउनु नै हुन्छ ।
१२. संसारका विभिन्न देशमा जनप्रियतावादी सोचाइले जहिले पनि प्रतिक्रियावादको नै सेवा गरिरहेको हुन्छ । त्यस प्रकारको सोचाइले अहिले हाम्रो देशमा पनि राजावादीलाई मदत पुऱ्याइरहेको कुरा बुझ्न गाह्रो पर्दैन । हामीले त्यस प्रकारको सोचाइबाट माथि उठाउन जनतालाई जागृत गर्ने प्रयत्न गर्नुपर्दछ । हामीले उनीहरूलाई यसका लागि सचेत पार्नुपर्दछ कि उनीहरूले प्रतिगमनको जुन सेवा गर्दछन्, त्यसबाट अन्त्यमा उनीहरूलाई नै क्षति पुग्नेछ र प्रतिगमन विरुद्धको सङ्घर्षलाई सशक्त रूप दिन हामीले जनताको चेतना माथि उठाउनुपर्दछ र त्यसरी नै प्रतिगनका विरुद्ध सङ्घर्षलाई सशक्त प्रकारले अगाडि बढाउनु सम्भव हुनेछ । जनप्रियतावादी सोचाइ, जसले प्रतिगमनको सेवा गर्दछ, त्यो साधारण जनतामा मात्र होइन, कतिपय अवस्थामा उच्च शिक्षित जनसमूहमा पनि पाइन्छ । नेपालको राजनीतिमा पनि त्यस प्रकारका प्रवृत्ति देखा पर्ने गरेका छन् । त्यसकारण उच्च शिक्षित समूहमा पनि पाइने जनप्रियतावादी सोचाइले अन्ततः प्रतिक्रियावादको नै सेवा गर्दछ । त्यसैले जनसाधारण वा उच्च शिक्षित समुदायमा पाइने जनप्रियतावादी सोचाइको निराकरणका लागि हामीले ठोस पहलकदमी गर्नुपर्ने आवश्यकता छ र त्यसरी नै हामीले प्रतिगमनलाई पराजित गर्न सक्नेछौँ ।
१३. नेपालको राजनीति विशुद्ध रूपले नेपालको मात्र राजनीति हुँदैन, कतिपय विदेशी साम्राज्यवादी शक्तिले पनि नेपालका कैयौँ राजनीतिक शक्तिलाई प्रयोग गरेर आफ्ना स्वार्थ पूरा गर्ने प्रयत्न गर्छन । उनीहरूले कैयौँ देशमा पुराना शासक वर्ग वा राजघरानालाई पनि प्रयोग गरेर आफ्ना साम्राज्यवादी स्वार्थ पूरा गर्ने प्रयत्न गर्छन् । नेपालका कैयौँ राजनीतिक पार्टीलाई उनीहरूले त्यसरी उपयोग गरेका थुप्रै उदाहरण पाइन्छन् । नेपालमा सत्ता वा सत्ताच्यूत भएका राजघरानालाई पनि उनीहरूले मदत गरेर सत्तामा पुऱ्याउने र त्यसरी आफ्ना स्वार्थको पक्षमा उनीहरूलाई उपयोग गर्ने सम्भावना पनि अत्यधिक रहेको कुरालाई पनि अस्वीकार गर्न सकिन्न । नेपालका पूर्व राजाको स्वागतको बेलामा भारतको उत्तर प्रदेशका मुख्यमन्त्रीको फोटोको पनि प्रदर्शन गरेको कुराबाट अहिले नेपालमा राजावादीको अभियानका पछाडि भारतीय कट्टर हिन्दुवादी शासक वर्गको आड रहेको कुरा बुझ्न गाह्रो पर्दैन । भारतले नेपालप्रति कुन प्रकारको नीति अपनाउँदै आएको छ र त्यसको नेपालप्रतिको रणनीति के हो ? त्यो कुनै लुकेको कुरा होइन । त्यसले नेपालमा पूर्व राजा वा राजावादीलाई जुन मदत गरिरहेको छ, त्यसका पछाडि पनि नेपालप्रतिको आफ्नो रणनीतिलाई नै पूरा गर्न प्रयत्न गर्ने उद्देश्यले काम गरेको कुरा बुझ्न गाह्रो पर्दैन ।
१४. अहिले देशमा राजपरिवारको कुनै नाबालिगलाई गद्दीमा बसाल्ने हल्ला पनि निकै चलेको छ । अहिले नेपालमा पूर्व राजा वा पूर्व युवराज धेरै नै बदनाम भएको हुनाले नयाँ अनुहारलाई अगाडि सारेर जनसमर्थन जुटाउने खेल भइरहेको सम्भावनालाई पनि अस्वीकार गर्न सकिन्न । त्यस प्रकारको नयाँ खेलका पछाडि भारतीय शासक वर्गको नेपालको सत्तामाथि पूरै कब्जा गर्ने, सिक्किम वा भुटानको रणनीतिलाई नेपालमा नयाँ प्रकारले लागु गर्ने सुनियोजित षडयन्त्रले काम गरेको कुरा बुझ्न गाह्रो पर्दैन । त्यसले नेपालमा लोकतन्त्र मात्र होइन, नेपालको राष्ट्रियता र सार्वभौमिकतालाई सम्पूर्ण रूपले समाप्त गर्ने खतराप्रति पनि हाम्रो उच्च ध्यान जानुपर्ने आवश्यकता छ । त्यसरी भारतका पूर्व उपप्रधान तथा गृहमन्त्री सरदार पटेलको नेपाललाई भारतीय सङ्घमा सामेल गर्ने अधुरो नीतिलाई पूर्णतया दिने प्रयत्न गरिनेछ । त्यसले नेपालको राजनीति मात्र होइन, नेपालको सम्पूर्ण अस्तित्व वा भविष्यलाई नै कति गम्भीर अवस्थामा पुऱ्याउनेछ ? त्यसप्रति हामी सबैको गम्भीर ध्यान जानुपर्ने आवश्यकता छ । अहिलेको नेपालको अस्थिर राजनीतिक अवस्था तथा राजावादीले राजतन्त्रको पुनर्स्थापनाका लागि गरिरहेको गतिविधिलाई पनि त्यसले आफ्नो त्यो साम्राज्यवादी उद्देश्यको पूर्तिको लागि प्रयोग गर्ने सम्भावनालाई अस्वीकार गर्न सकिन्न ।
१५. अन्तमा, नेपालको राजनीति वा राजावादीको राजतन्त्र पुनर्स्थापनाको आन्दोलन बाहिरबाट जति सरल र सामान्य देखिन्छ, त्यो भन्दा कैयौँ गुणा बढी गम्भीर रहेको छ । अहिलेको उनीहरुको प्रयत्नलाई खालि २०१७ साल वा २०५९ सालमा निरङ्कुश शासन पुनर्स्थापनाको अर्थमा मात्र बुझ्नु सही हुनेछैन । माथि प्रकट गरिएका सङ्क्षिप्त विचारबाट प्रष्ट हुनेछ कि अहिलेको स्थिति २०१७ साल वा २०५९ सालको भन्दा कैयौँ गुणा बढी जटिल र सङ्कटोन्मुख छ । पहिलेका दुबै अवस्थामा प्रतिगमनको रूप मुख्य रूपले राष्ट्रिय रूपमा नै सीमित थियो, यद्यपि त्यसको रूप पनि प्रतिक्रियावादी नै थियो र त्यसैले त्यसका विरुद्ध पनि सङ्घर्ष गर्नु आवश्यक भएको थियो तर अहिले त्यसले अन्तर्राष्ट्रिय रूप लिँदै गएको छ र उनीहरूले विदेशी शक्तिको उपकरणको रूपमा प्रतिक्रियावादी सत्ता कायम गर्ने प्रयत्न गरिरहेका छन् । त्यसैले अहिले प्रतिगमनको खतरा पहिलेभन्दा कैयौँ गुणा बढी गम्भीर हुन गएको छ । त्यसैले नेपालका सबै देशभक्त र लोकतन्त्र पक्षधर राजनीतिक शक्ति, बुद्धिजीवी र आम जनताको समेत त्यसप्रति गम्भीर ध्यान जानुपर्ने आवश्यकता छ । त्यसबारे गरिने कुनै पनि प्रकारको लापरवाही देशको सम्पूर्ण भविष्यको लागि अत्यन्त घातक हुन सक्नेछ र त्यसका दीर्घकालीन र दूरगामी दुष्परिणाम हुनेछन् । त्यस प्रकारको कुनै पनि सम्भावनालाई रोक्नका लागि हामीले तपाईंहरू सबै र सम्पूर्ण नेपाली जनताको ध्यान आकर्षित गर्न चाहान्छौँ ।
(२०८२ जेठ १० गते राष्ट्रिय जनमोर्चाद्वारा आयोजित कार्यक्रममा प्रस्तुत अवधारणा)