काठमाडौँ । काठमाडौँको गौशालामा यात्रुबाहक बस अनियन्त्रित हुँदा सातवटा सवारी साधन ठोक्किएका छन् । दुर्घटनामा तीन जना घाइते भएको प्रहरीले जनाएको छ।
एयरपोर्टतर्फ जाँदै गरेको बा ५ ख ६७३५ नम्बरको बाबा गोकर्णेश्वर यातायातको बस अनियन्त्रित भई दुर्घटना हुँदा सडकमा गुडिरहेका केही सवारीमा समेत ठक्कर दिएको थियो ।
अनियन्त्रित बसका चालक भने फरार रहेको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी अपीलराज बोहोराले जानकारी दिए। बसले बा ५ ख ७३१ नम्बरको माइक्रोबस, बा प्र–०१–०२६ च ८५७६ नम्बरको कार, बी एसी ९७७३ नम्बरको कार, बा १६ च ४४५२ नम्बरको कार, प्र–२–०१–००३ प १००५ नम्बरको मोटरसाइकल, बा ५१ प २२ नम्बरको मोटर साइकल, बा प्र–०२–०४६ प ४८१९ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो।
दुर्घटनामा बा ५१ प २२ नम्बरका मोटरसाइकल चालक धादिङका राजकुमार श्रेष्ठ, बा ५१ प २२ नम्बरको मोटरसाइकलका पछाडि सवार नुवाकोटका विकास कट्टेल र बा–प्र–२०–१००३ प १००५ नम्बरको मोटरसाइकल चालक खोटाङका शैलेन्द्र राई सामान्य घाइते भएको प्रहरीको भनाइ छ।
उनीहरुको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज (केएमसी) अस्पतालमा उपचार भइरहेको छ।