तौलिहवा । कपिलवस्तु जिल्ला शिवराज नगरपालिका वडा नं. ११ को सदवागाउँमा भएको आगलागीबाट पीडित परिवारलाई राष्ट्रिय जनमोर्चाले राहत वितरण गरेको छ ।
राजमो कपिलवस्तुका सचिव केरसिंह अदैको नेतृत्वमा २०८२ जेठ ६ गते मङ्गलबार राहत वितरण गरेको हो ।
राहत वितरण कार्यक्रममा जातीय समता समाजका जिल्ला अध्यक्ष दिलबहादुर विक, राजमो कपिलवस्तुका जिल्ला सदस्य रामबहादुर चमार, अखिल नेपाल बुद्धिजीवी सङ्घ कपिलवस्तुका छन्दबहादुर केसी र राजमो शिवराज नगर समितिका सदस्य प्रकाश विकको पनि उपस्थिति रहेको थियो ।
टोलीले चामल, दाल, आलु, प्याज, तरकारी, बिस्कुट आगलागीपीडित परिवारलाई वितरण गरेको थियो ।

वैशाख ३० गते सदवा दलित बस्तीमा आगलागी हुँदा छओटा घर पूर्ण रूपमा जलेका थिए । त्यस क्रममा पाँचओटा गोठमा आगलागीबाट क्षति भएको थियो ।
आगलागीमा बाकेलाल कोरी, दिनेश कोरी, राम वली कोरी, सञ्जय कोरी, शिव चरण कोरी र पुनवंशी कोरीको घर डढेको थियो । त्यसमध्ये दिनेश कोरीको नगद एक लाख ५० हजार रुपियाँ आगलागीमा परेको थियो ।
दिउँसो चाउचाउ पकाएर खाँदा सो आगलागी भएको पीडित परिवारले जानकारी दिउको छ ।
पीडित कोरीको नम्बरी जग्गा नभएकाले ऐलानी जग्गामा टिनको छानो तातीले बारेर बस्दै आएका थिए ।
