• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

सङ्घीयता विरोधी राजधानीकेन्द्रित आन्दोलन सफल पारेकोमा महामन्त्री सिंहद्वारा धन्यवाद


  •   बुधबार, जेठ ०७, २०८२ मा प्रकाशित
  • मोहनविक्रम सिंह ##

    Advertisement

    (२०८१ चैत २८ गते समापन भएको सङ्घीयता विरोधी राजधानीकेन्द्रित आन्दोलनमा दिइएको प्रशिक्षणात्मक मन्तव्यको पूर्ण पाठ)

    नेपालमा सङ्घीयता खारेजीका लागि जुन आन्दोलन सुरु भएको छ, त्यो ऐतिहासिक महत्त्वको कार्यक्रम हो । सङ्घीयता विरुद्ध राजधानीकेन्द्रित आन्दोलनलाई तपाईंहरूले सफलतापूर्वक सम्पन्न गर्नुभएको छ । त्यसरी तपाईंहरूले नेपालको राजनीतिक इतिहासमा एउटा सुनौलो पाना जोड्नुभएको छ । यो प्रक्रिया अगाडि बढ्दै जानेछ । हामीलाई विश्वास छ, अन्तमा नेपाली जनताले राजतन्त्र पुनर्स्थापनाका सबै षड्यन्त्रलाई असफल बनाएर गणतन्त्र र धर्मनिरपेक्षतालाई सुदृढ बनाउनेछन् र सङ्घीयतालाई खारेज गर्नेछन् । तपाईंहरूले नेपालमा सङ्घीयता विरुद्धको आन्दोलनमा जुन सुनौला पाना जोड्नुभएको छ, त्यसको लागि तपाईंहरू सबै बधाईका पात्र हुनुहुन्छ ।

    सुरुमा हाम्रो कार्यक्रम खालि सङ्घीयताका विरुद्ध सङ्घर्ष गर्ने मात्र थियो । हामीले त्यही प्रकारको कार्यक्रम बनाएका थियौँ तर बिचमा स्थितिमा केही परिवर्तन भयो । राजावादीले गणतन्त्रलाई समाप्त गरेर त्यसको ठाउँमा राजाको शासन कायम गर्ने योजना बनाए । चैत १५ गतेको उनीहरूको कार्यक्रम त्यही उद्देश्यद्वारा निर्देशित थियो । बङ्गलादेश र श्रीलङ्कामा जस्तो भएको थियो, त्यही प्रकारको आतङ्क मच्चाएर, तोडफोड गरेर, गणतन्त्रलाई समाप्त गर्ने र त्यही दिन राजालाई नारायणहिटी दरबारमा भित्राएर राजाको शासनको घोषणा गर्ने उनीहरूको योजना थियो । त्यसैले चैत १५ गते नेपालको इतिहासको कालो दिन हो । नेपाली जनताले गणतन्त्र विरुद्धको त्यो षड्यन्त्रलाई असफल पारिदिए तर प्रतिगमनको खतरा अहिले पनि छ । त्यसकारण गणतन्त्ररक्षाको लागि हामीले हाम्रो आन्दोलनलाई अरू अगाडि बढाउनुपर्दछ । त्यसैले सङ्घीयता विरुद्ध सुरु गरिएको हाम्रो कार्यक्रमले नयाँ चरणमा प्रवेश गरेको छ । त्यो आन्दोलन सङ्घीयताको खारेजीका साथै गणतन्त्रको रक्षा र राष्ट्रियताको रक्षाका लागि पनि गर्नुपरेको छ ।

    करिब १५ वर्षपहिले पनि हामीले सङ्घीयताका विरुद्ध राजधानीकेन्द्रित आन्दोलन गरेका थियौँ । त्यो बेला शान्तिपूर्ण वातावरणमा हामीले त्यो आन्दोलन गरेका थियौँ तर त्यो बेलाको स्थिति र अहिलेको स्थितिमा धेरै फरक छ । अहिले काठमाडौँमा कैयौँ आन्दोलन चलिरहेका छन् । वातावरण धेरै तातेको छ । राजावादीले राजाको शासन फर्काउन सङ्घर्ष गरिरहेका छन् । जुलुस प्रदर्शन गरिरहेका छन्† तोडफोड, आगजनी गर्ने काम गरेका छन् । माओवादी, विप्लव, माधवहरूसहितको समाजवादी मोर्चाले गणतन्त्ररक्षाका लागि सङ्घर्ष गरिरहेको छ । शिक्षकले आफ्ना न्यायपूर्ण मागका लागि सङ्घर्ष गरिरहेका छन् ।

    चैत १५ गते राजावादीले तोडफोड गरे । आगजनी गरे । गोली चल्यो । एक जना आन्दोलनकारीको मृत्यु भयो । अर्को एक जना पत्रकारको मृत्यु भयो । कैयौँ जना घाइते छन् । कैयौँ जना गोली लागेर अस्पतालमा छन् । गोली चलेको, मान्छे मरेको हल्ला देशभरि गयो । यो अवस्थामा काठमाडौँकेन्द्रित आन्दोलनमा आउन थालेका हाम्रा साथीहरूलाई घरपरिवार, आफन्त र इष्टमित्रले भनेका थिए– ‘काठमाडौँमा गोली चलिरहेको छ । आगलागी भएको छ । मान्छेहरू मरेका छन् । त्यसकारण आन्दोलनमा नजाऊ ।’ त्यस प्रकारको वातावरणमा पनि तपाईंहरू आउनुभयो । त्यसकारण तपाईंहरूले ठुलो साहस देखाउनुभएको छ । आँट देखाउनुभएको छ ।

    करिब १५ वर्षपहिले शान्तिपूर्ण रूपले चलेको आन्दोलनमा आउनुभएको बेलाभन्दा अहिले आएको बेलाको ठुलो महत्त्व छ । यसबाट नेपालको इतिहासमा तपाईंहरूले एउटा सुनौलो पाना मात्र जोड्नुभएको छैन, आफ्नो चरित्र, आफ्नो व्यक्तित्वलाई पनि धेरै माथि उठाउनुभएको छ । गोली चलेको बेलामा, आगलागी र तोडफोडका घटना भइरहेका बेलामा, मान्छे घाइते र मृत्यु भइरहेको बेलामा पनि तपाईंहरू जसरी आन्दोलनमा सहभागी हुनुभयो, त्यसको सामना गर्नका लागि तयार हुनुभयो । त्यसका लागि तपाईंहरूलाई धेरै धन्यवाद छ । धेरै बधाई छ ।

    अर्को कुरा त्यस प्रकारको स्थितिको सामना गरेर तपाईंहरूले आफ्नो व्यक्तित्वलाई धेरै माथि उठाउनुभएको छ । जुन बेलामा तपाईंहरू आफ्नो गाउँबाट आफ्नो जिल्लाबाट यहाँ आउनुभएको थियो, अब त्यस्ता मान्छे हुनुहुन्न । तपाईंहरू स्पातजस्तै खारिनुभएको छ । डरत्रासबाट मुक्त हुनुभएको छ । यहाँ बस्दा, खाँदा तपाईंहरूलाई धेरै दुःखकष्ट भयो । त्यस प्रकारका सबै दुःखकष्टको सामना गरेर तपाईंहरूले आफ्नो सङ्घर्षलाई अगाडि बढाउनुभयो । त्यसबाट तपाईंहरूको स्तर धेरै माथि उठेको छ । तपाईंहरू धेरै परिपक्व हुनुभएको छ । तपाईंहरूको आफ्नो राजनीतिक स्तर धेरै माथि उठेको छ । दिनदिनैका जुलुस, सभा र आन्दोलनका कार्यक्रमले तपाईंहरूलाई धेरै परिपक्प बनाएको छ । यसको परिणाम के हुनेछ ? यसको परिणाम आउने दिनमा हाम्रो आन्दोलनलाई अगाडि बढाउनका लागि धेरै मदत पुग्नेछ । आउने दिनमा हामीले अझै ठुल्ठुला आन्दोलन उठाउनुपर्नेछ ।

    राजावादीले राजालाई नारायणहिटीमा राखेरै छाड्ने, गणतन्त्रलाई समाप्त गरेरै छाड्ने प्रतिज्ञा गरेका छन् । त्यो चुनौतीको सामना गर्न त्यसबाट गणतन्त्रको पक्ष वा राजतन्त्रका विरुद्ध व्यापक जनमत तयार पार्नुपरेको छ । प्रतिगमन विरुद्धको आन्दोलनलाई माथि उठाउनुपरेको छ ।
    हामी यसबारे स्पष्ट हुनुपर्दछ कि अब इतिहास पछाडि फर्किंदैन, अगाडि बढ्छ । जनवादतिर, समाजवादतिर अगाडि नै बढ्दछ । त्यसका लागि देशमा ठुलो शक्ति पैदा गर्नुछ । जनतामा ठुलो शक्ति छ । इतिहासमा जनताको शक्तिबाट धेरै ठुला ठुला परिवर्तन हुने गरेका छन् । जनताको शक्तिबाट नै राणाशासनको अन्त्य भएको थियो । जनताको शक्तिबाट नै निरङ्कुश राजतन्त्र र पञ्चायती तानाशाही व्यवस्था समाप्त भएको थियो । जनताकै शक्तिले राजतन्त्रलाई खतम गरेर गणतन्त्रको स्थापना गरेको थियो ।

    हामीलाई थाहा छ, जब देशमा २०६२–६३ को आन्दोलन भयो, राजतन्त्र खतम भयो । त्यो त्यसै खतम भएको होइन । हामीले त्यसका लागि लामो र कठिन सङ्घर्ष गर्नुपरेको थियो । कैयौँ जना सहिद हुनुपरेको थियो । हजारौँ मान्छे जेलमा जानुपरेको थियो । गोली खानुपरेको थियो । लाखौँ जनता सडकमा उत्रेका थिए अनि मात्र राजतन्त्र गएको हो । जनतामा अजेय शक्ति हुन्छ तर कसरी पैदा हुन्छ त्यो शक्ति ?
    जङ्गलका प्रत्येक रुख, प्रत्येक घाँसमा आगो छ । त्यसमा झिल्को लाग्नुपर्दछ । जब आगोको एउटा सानो फिलिङ्गो उठ्छ, त्यसबाट सारा जङ्गलमा आगो लाग्छ । ठिक त्यसै गरेर जनतामा पनि असीम शक्ति छ । अमोघ शक्ति छ तर त्यो शक्ति सुतेको छ, दबेको छ, हाम्रो काम त्यो शक्तिलाई जगाउने हो । जब त्यो शक्ति जाग्छ, ढुङ्गाबाट आगो पर्दछ, काठबाट आगो उत्पन्न हुन्छ, पानीबाट अग्नि पैदा हुन्छ । जनताको बिचबाट शक्ति जागेपछि त्यसले सारा संसारमा उथलपुथल ल्याउँछ । ठुला ठुला क्रान्ति हुन्छन् । त्यसकारण काठमाडौँको यो आन्दोलनमा आएर तपाईंहरूको जुन प्रकारको चेतना निर्माण भएको छ, तपाईंहरूमा जुन प्रकारको उत्साह पैदा भएको छ, जुन राजनीतिक परिपक्वता आएको छ, यसलाई गाउँमा गएर सुतेको जनतालाई जगाउने कार्यमा प्रयोग गर्नुपर्दछ । यसरी नै हामीले गणतन्त्र, राष्ट्रियतामाथिको खतराका विरुद्ध तथा सङ्घीयताका विरुद्ध सङ्घर्षलाई माथि उठाउनुपर्दछ । त्यसका लागि विभिन्न साम्राज्यवादी शक्तिका विरुद्ध पनि हामीले सङ्घर्ष गर्नुपर्दछ ।

    ठिक त्यसै गरेर अर्को सङ्घर्षको मैदानमा पनि हामी जुट्नुपरेको छ । त्यो हो– चुनावको मैदान ।

    तपाईंहरूले देख्नुभएको छ, नेपालमा धेरैपटक चुनाव भए । जनता भन्छन्– चुनाव भयो । सांसद चुनिए । सरकार बने तर देशमा विकास पछाडि पऱ्यो । भ्रष्टाचार बढ्यो । सुशासन हरायो । त्यो किन भएको छ ? जनताले पार्टीलाई दोष दिन्छन् । सरकारलाई दोष दिन्छन । त्यो कुरा सत्य हो । पार्टीका गलत नीतिका कारणले यस्तो भयो । उनीहरूले सबै पार्टीलाई एउटै ठान्दछन् तर सबै पार्टी एउटै हुँदैनन् ।
    तपाईं देख्नुहुन्छ, राष्ट्रिय जनमोर्चा त्यस्तो पार्टी होइन, राष्ट्रिय जनमोर्चाका नेताहरू पनि संसद्मा चुनिएका छन्, मन्त्री बनेका छन् । उपप्रधानमन्त्री भएका छन् । कामरेड चित्रबहादुर केसी हाम्राअगाडि हुनुहुन्छ । उहाँ उपप्रधानमन्त्री पनि बन्नुभयो तर उहाँले मन्त्री भएको बेलामा एक पैसा पनि घुस खाएको कुरा विरोधीले भन्न सक्दैनन् । त्यसकारण सबै पार्टी एउटै हुँदैनन् । देशमा राम्रा पार्टी पनि छन्, नराम्रा पार्टी पनि छन् । उहाँ लेखा समितिको सभापति पनि हुनुभयो । करोडौँ रुपैयाँ घुस दिन आए तर उहाँले एक पैसा पनि लिनुभएन ।
    तपाईंहरूले समाचार सुन्नुभएको होला, अरू पार्टीका सांसदले घुस खाए । विकासका लागि गएको रकमबाट ठेकेदारसँग मिलेर, उपभोक्तासित मिलेर उनीहरूले करोडौँ रुपैयाँ घुस खाए । यसरी विकासका लागि आएको रकमबाट करोडौँ रुपैयाँ घुस खान्छन् । त्यही रकम खर्च गरेर चुनाव जित्छन् । त्यही प्रकारको खेल चलिरहेको छ ।

    गत दशकमा हाम्रा कैयौँ साथीहरू संसद्मा जानुभएको छ तर उहाँहरूलाई एक पैसा पनि घुस खाएको कुरा कसैले भन्न सक्दैन । कैयौँ साथीहरूले पछि हाम्रो पार्टी छाडेर गए तर जबसम्म उनीहरू हाम्रो पार्टीमा थिए, हाम्रा सांसद थिए, उनीहरूले एक पैसा पनि घुस खाएनन् । विरोधीले हामीमाथि अरू धेरै आक्षेप लगाउँछन् तर राष्ट्रिय जनमोर्चाका सांसदले मन्त्रीहरूले घुस खाएको भनेर कसैले भन्न सक्दैनन् । त्यसकारण ती भ्रष्ट पार्टीको बिचमा राष्ट्रिय जनमोर्चाजस्तो निष्कलङ्क पार्टी पनि छ, जसले कहिले घुस खाएन । जहिले पनि दृढतापूर्वक जनताको सेवाको पक्षमा काम गऱ्यो ।

    हामीले जनतालाई यो बताउनुछ– देशको विकास पछाडि पर्दछ, भ्रष्टाचार हुन्छ, कुशासन बढ्छ । यस्तो किन हुन्छ ? यसको कारण हामीले जनतामा पनि खोज्नुपर्दछ । कुनै पनि कुराको फैसला गर्ने अधिकार जनतामा छ । यदि जनताले राम्रो फैसला गरे भने राम्रो परिणाम आउँछ, नराम्रो फैसला गरे नराम्रो फैसला आउँछ । राम्रो वा नराम्रो फैसला गर्ने अधिकार जनताको हातमा छ । जनता निर्णयात्मक शक्ति हो तर जनताले गलत निर्णय गरे नराम्रो हुन्छ । जनताले सही निर्णय गरे राम्रो हुन्छ ।

    बारम्बार देशमा जुन मन्त्री बनेका छन्, जुन सांसद बनेका छन्, ती आफै चुनिएका होइनन्, जनताकै भोटले चुनिएका हुन् । यदि नराम्रा मान्छे सांसद बन्छन्, मन्त्री बन्छन् र भ्रष्टाचार गर्छन् भने त्यसको दोष जनतालाई पनि जान्छ । जनताले त्यस्ता मान्छेलाई किन चुनेर पठाए ? उनीहरूमा चेतना नभएर, भ्रममा परेर । राजनीतिक दल वा तिनका नेताहरूले धेरै भ्रम दिन्छन् । हामीले राम्रो गर्छौँ भन्छन्, विकास गर्छौ भन्छन् । त्यति मात्र होइन, उनीहरूले पैसा बाँड्छन्; भतेर लगाउँछन्; रक्सी र मासु खुवाउँछन् । एउटै भोटका लागि हजार/दुई हजार दिन्छन् । कसैलाई त १० हजारसम्म दिन्छन् । कसैलाई एक लाखसम्म पनि दिन्छन् । अरू बेला जनताले गलत तत्त्वको विरोध गर्छन् । राम्रो कुरा गर्छन् तर जनताले पनि भोट दिने बेलामा पैसा सम्झिन्छन्† रक्सी र मासु सम्झिन्छन् अनि त्यस्ता भ्रष्ट मान्छेलाई भोट दिन्छन् । तिनै मान्छेहरू सांसद बन्छन् अनि मन्त्री बन्छन् । त्यसकारण हामीले जनतालाई चेतना दिनुपर्दछ : त्यसो नगर्नुहोस्† पैसाका लागि नबिक्नुहोस्† रक्सी, मासु र पैसामा तपाईंले आफूलाई भेडाबाख्रालाई जस्तै नबेच्नुहोस् । तपाईंले चेतना दिन सक्नुभयो भने जनता जाग्दछन् ।

    अब २०८४ सालमा चुनाव हुँदैछ । हामीले चुनावलाई सफल पार्न पनि ध्यान दिनुपर्ने आवश्यकता छ । चुनावमा राम्रा मान्छे चुनिउन्† पैसा, मासु र रक्सीमा मतदाता नबिकुन् । यसका लागि तपाईंले जनतामा चेतना दिनुपर्दछ ।

    हामीले दुई प्रकारले चुनाव लड्ने गरेका छौँ । कुनै बेला हाम्रो पार्टीले एक्लै चुनाव लडेको छ । कुनै बेला गठबन्धन गरेर चुनाव लडेको छ । एक्लै चुनाव लड्दा पनि हामीले धेरै सिट जित्ने गरेका छौँ । नजितेका ठाउँमा पनि राम्रो भोट ल्याएका छौँ । त्यसरी हामीसित एक्लै चुनाव लडेको पनि धेरै अनुभव छ । पछि देशमा एउटा समस्या पैदा भयो । प्रतिगमनको खतरा बढ्यो । राजावादीले गणतन्त्रलाई खतम पार्ने षड्यन्त्र गर्न थाले, अभियान चलाए । त्यस्तो अवस्थामा गणतन्त्रको पक्षमा रहेका पार्टीसँग मिलेर चुनाव लड्नुपर्ने बाध्यता पऱ्यो । पछि ओलीले प्रतिगमनको बाटो समाते । उनले दुई/दुई पल्ट संसद् विघटन गरे । त्यसका विरुद्ध हामीले पाँचदलीय गठबन्धन बनाएर सङ्घर्ष गऱ्यौँ । गठबन्धन पक्षधर शक्तिसँग मिलेर चुनाव लड्नुपर्ने आवश्यकता पऱ्यो ।

    हामीले जुन गठबन्धन गर्छौँ, जुन समझदारी गर्छौँ वा जुन सहमति गर्छौँ, त्यसलाई इमानदारितापूर्वक लागु गर्ने काम गर्छौँ तर अरूले त्यसो गरेनन् । काङ्ग्रेस, माओवादी, समाजवादीले त्यसो गरेनन् । साझा उम्मेदवार खडा गरेको छ, सहमतिको उम्मेदवार खडा गरेको छ तर उनीहरूले त्यसलाई हराउने कोसिस गरे । अन्तरघात गरे । उनीहरूमा इमानदारिता छैन तर मसालमा इमानदारिता छ ।

    परस्पर राजनीतिक शक्तिका बिचमा जुन सहमति हुन्छ, त्यसलाई हामीले अक्षरशः पालना गर्छौँ । गठबन्धन गर्दा जुन नीति बनाउँछौँ, त्यसलाई हामीले दृढतापूर्वक पालन गर्दछौँ । यदि हाम्रा कुनै नेता तथा कार्यकर्ताले पार्टीको नीतिको उल्लङ्घन गरे भने हामीले उनीहरूलाई कारबाही गर्छौँ । नेकपा (मसाल) को त्यही नीति छ । राष्ट्रिय जनमोर्चाको त्यही नीति छ तर अरू पार्टीमा त्यस्तो छैन । कुरा एउटा, सल्लाह एउटा, सहमति एउटा तर व्यवहार अर्को । सहमति उल्लङ्घन गर्नेलाई उनीहरूले कुनै कारबाही गर्दैनन् ।

    अब आउने चुनाव कस्तो हुने छ ? त्यसबारे केही विचार गरौँ ।

    अर्को चुनावमा हामीले एक्लै लड्नुपर्नेछ । राष्ट्रियस्तरमा कसैसँग गठबन्धन हुने सम्भावना छैन । काङ्ग्रेसले त्यही कुरा भनिरहेको छ । एमालेले त्यही कुरा गरिरहेको छ । माओवादीले पनि एक्लै चुनाव लड्ने कुरा गरिरहेको छ । हामीले पनि एक्लै चुनाव लड्नुपर्छ भनेर आत्तिनुपर्ने आवश्यकता छैन । विगतमा एक्लै चुनाव लडेर पनि हामिले कैयौँ सफलता प्राप्त गर्ने गरेका छौँ । त्यसकारण हामी पनि अब एक्लै चुनाव लड्न तयार हुनुपर्दछ ।

    कुनै जिल्लामा वा स्थानीय तहमा अरू पार्टीसँग राम्रो सल्लाह भयो, समझदारी भयो, हाम्रा साथीलाई पनि विश्वास गर्ने वातावरण बन्यो भने त्यहाँ गठबन्धन गर्ने कुरालाई हामीले रोक्दैनौँ । केन्द्रसँग सहमति गरेर गठबन्धन गर्न सकिन्छ तर राष्ट्रियस्तरमा एक्लै चुनाव लड्ने हाम्रो नीति छ । नवौँ महाधिवेशनले पनि त्यही प्रकारको नीति निर्धारण गरेको छ ।

    एक्लै चुनाव लड्दा हामीलाई धेरै फाइदा छ । प्रथमतः गठबन्धन गर्दा हामीले धेरै भोट पाउने सम्भावना भएका क्षेत्र पनि अन्य पक्षलाई छोड्नुपर्ने हुन्छ तर एक्लै चुनाव लड्यौँ भने देशभरि हामीले हाम्रा आफ्नै उम्मेदवारलाई भोट हाल्न सक्छौँ । हाम्रो पार्टीको चुनाव चिह्नमा भोट हाल्न सक्छौँ । कुनै जिल्लामा हामीले जितौँला । कुनै जिल्लामा कडा प्रतिस्पर्धा गरौँला । कुनै जिल्लामा कम भोट आउला तैपनि हाम्रो भोट सुरक्षित हुनेछ । त्यसो गर्दा हामीले हाम्रो आफ्नो राजनीतिलाई देशव्यापी रूपमा लैजान सक्नेछौँ । विरोधी पार्टीका गलत नीति र कार्यप्रणालीको भण्डाफोर गर्न सक्छौँ । जनतालाई पनि प्रशिक्षण गर्न सक्छौँ । हाम्रा कार्यकर्तालाई व्यापक रूपमा परिचालन गर्न सक्छौँ ।

    एकछिनका लागि मानौँ, जुम्लाजस्तो ठाउँ होला । त्यहाँ हाम्रो भोट कम होला । जित्ने सम्भावना कम होला तैपनि त्यहाँ हामीले आफ्नो उम्मेदवार उठाएर प्रतिस्पर्धा गर्न सक्छौँ । अर्को, मुस्ताङजस्तो ठाउँमा जहाँ हाम्रो पार्टीको आधार छैन, त्यस्तो ठाउँमा पनि उम्मेदवार खडा गरेर चुनाव लडेका थियौँ । त्यस्ता धेरै ठाउँ छन्, जहाँ हामी चुनाव लड्न सक्छौँ । हाम्रो भोट सुरक्षित गर्न सक्छौँ । हाम्रा कार्यकर्ता पनि परिचालन हुन्छन् । विरोधीसँग भिड्छन् र अझ परिपक्व हुन्छन् । अर्को कुरा त्यसले गर्दा देशव्यापी रूपमा समानुपातिकतर्फ पनि हामीलाई केही बढी भोट प्राप्त हुन सक्दछ ।

    समानुपातिक चुनावको कुरा गर्दाखेरी अहिले उनीहरूले सकेसम्म समानुपातिक चुनाव प्रणालीलाई खारेज गर्ने, त्यसमा अन्य साना पार्टीलाई प्रतिनिधित्व गर्न नदिने कोसिस गरिरहेका छन् । थ्रेसहोल्डलाई अरू बढाउने कोसिस गरिरहेका छन् ।

    हाम्रा साथीहरूको पनि एउटा कमजोरी रहने गरेको छ । जब हाम्रा साथी चुनावमा जान्छन्, उनीहरूले प्रत्यक्षतर्फ उम्मेदवारलाई जिताउन पूरा कोसिस गर्छन् तर समानुपातिक चुनावलाई उनीहरूले कम महत्त्व दिने प्रयत्न गर्दछन् । केन्द्रमा पनि त्यस्तो हुने गरेको छ । प्रदेशमा पनि त्यस्तो हुने गरेको छ । हामी प्रत्यक्ष निर्वाचनमा जति भोट ल्याउँछौँ, समानुपातिकमा त्यही भोट ल्याउँदैनौँ । त्यो कमजोरीलाई हामीले सुधार्नुपर्छ । समानुपातिक चुनावको पनि धेरै महत्त्व हुन्छ । त्यसकारण अरू चुनावमा समानुपातिक उम्मेदवारलाई मदत गर्ने हामीले पूरा प्रयत्न गर्नुपर्दछ ।

    चुनावलाई हामीले कुनै बेला बहिष्कार गर्छौं, कुनै बेला उपयोग गर्छौं । उपयोग वा बहिष्कार जुनसुकै बेलामा पनि हामीले चुनावलाई महत्त्व दिनुपर्दछ, बहिष्कार गर्दा पनि वा उपयोग गर्दा पनि ।

    एउटा अर्को कुराप्रति पनि हाम्रो ध्यान जानुपर्ने आवश्यकता छ । एकातर्फ हाम्रो लडाइँ गणतन्त्रलाई रक्षा गर्न, राष्ट्रियतालाई रक्षा गर्नका लागि छ । अर्कोतर्फ प्रतिगमनलाई परास्त गर्ने कुरामा पनि छ । प्रतिगमनबारे हाम्रो नीति सधैँ स्पष्ट रहने गरेको छ । अरूको नीति त्यस विषयमा ढुलमूल रहने गरेको छ ।

    निश्चय नै गणतन्त्र ल्याउने कुरामा काङ्ग्रेसको पनि महत्त्वपूर्ण भूमिका रहेको थियो । काङ्ग्रेसभित्र एउटा ठुलो पङ्क्ति छ, जसले राजालाई ल्याउने र हिन्दु राष्ट्र चाहिन्छ भन्छ । त्यसकारण त्यसको पनि कुनै स्पष्ट नीति छैन । माओवादीको सधैँभरी ढुलमूल नीति रहेको छ । सत्ताप्राप्त हुने स्थिति भयो भने सरकारमा जाने वा प्रधानमन्त्री बन्ने स्थिति भयो भने उसले बारम्बार आफ्ना घोषित नीतिलाई परित्याग गर्ने गर्दछ ।
    जुन दिन हाम्रो पार्टीको आन्दोलनको उद्घाटन भइरहेको थियो, त्यो बेला वैद्यहरूको पनि सभा भइरहेको थियो । त्यो बेला उनीहरूको भनाइ थियो– यो गणतन्त्रसँग हाम्रो कुनै मतलब छैन । यो गए पनि जाओस्, रहे पनि रहोस् । हामीलाई त नयाँ जनवादी गणतन्त्र चाहिन्छ । उनीहरूको दस्तावेजमा पनि त्यही कुरा आएको छ । राजावादी भनिरहेका छन्– यो गणतन्त्र फाल्नुपर्छ अनि हाम्रा यी क्रान्तिकारी वामपन्थी साथीहरू भन्छन्– गणतन्त्र गए पनि हामीलाई मतलब छैन, गए जाओस् अनि उनीहरूको यो भनाइले कसको सेवा गरिरहेको छ ? प्रतिगमनको सेवा गरिरहेको छ । हाम्रो पार्टीमा पनि केही त्यस प्रकारका साथीहरू थिए, जसले राजाबाट खतरा छैन, प्रतिगमनको खतरा छैन भन्ने सोचाइ राख्थे । उनीहरू हामीबाट फुटेर त्यतैतिर मिल्न पुगे ।

    अर्कोतिर कतिपय वामपन्थी शक्ति छन् । जसले आफ्नो कार्यालयमा पृथ्वीनारायण शाहको फोटो राख्दछन् र भन्छन्– धर्मनिरपेक्षता हामीलाई चाहिँदैन, हिन्दु राष्ट्र चाहिन्छ । हामीले यस्ता भ्रमलाई चिर्नुपर्दछ ।

    कामरेडस्, अब म तपाईंहरूको धेरै समय लिन्न । मैले सुरुमा नै भनेको थिएँ, अहिले तपाईंहरूले यो आन्दोलनमा आएर सामान्य शान्तिपूर्ण अवस्थामा होइन, अत्यन्तै गम्भीर अवस्थामा, मान्छे मरिरहेको अवस्थामा, गोली चलिरहेको अवस्थामा, आगजनी भइरहेको अवस्थामा, घरबाट आफ्ना इष्टमित्रले आन्दोलनमा आउनबाट रोकिरहेको अवस्थामा, हामी देश र जनताको लागि मरे पनि मर्छौं भनेर आउनुभएको छ ।
    एक जना कपिलवस्तुबाट आएका ८० वर्षीय वृद्ध चौधरी साथीसँग भेट भयो । उहाँले भन्नुहुन्थ्यो– उहाँ यता हिँड्ने बेलामा उहाँका परिवारले रुवाबासी गरिरहेका थिए । आन्दोलनमा जान रोकिरहेका थिए तर उहाँले ‘म मरे मर्छु, म जान्छु’ भनेर आएको कुरा बताउनुभयो । ती साथीको अहिले हामी परिचय गराउनेछौँ ।

    अरू पनि कैयौँले आफ्ना पतिपत्नी, छोराछोरीलाई रोक्ने काम गरिरहेका थिए तैपनि तपाईंहरू आउनुभयो र एउटा इतिहास निर्माण गर्नुभयो । त्योभन्दा ठुलो अर्को कुरा तपाईंले आफूलाई धेरै माथि उठाउनुभयो । पहिले तपाईंहरू गाउँबाट जिल्लाबाट यहाँ आउँदा जस्तो हुनुहुन्थ्यो, अब त्यस्तो हुनुहुन्न । त्यो भन्दा धेरै माथि उठ्नुभएको छ । परिपक्व हुनुभएको छ । साहसी हुनुभएको छ । त्यसैले हामीलाई आगामी सङ्घर्षलाई अगाडि बढाउन मदत पुग्नेछ । हामीले वैशाखमा एक हप्ताको सङ्घर्षको कार्यक्रमको घोषणा गरेका छौँ । तपाईंहरूको यो हिम्मत, साहस र गणतन्त्रको रक्षाका लागि प्रतिगमनको खतराका विरुद्ध जुध्न काम लाग्नेछ । सङ्घीयताका विरुद्ध सङ्घर्ष गर्न काम लाग्नेछ र ठिक त्यसैगरी भोलि चुनावमा पनि काम लाग्नेछ ।

    अब राजावादीले भारतीय कट्टर हिन्दुवादीको मदत लिएर चुनावमा दुईतिहाइ बहुमत प्राप्त गर्ने र दुईतिहाइ बहुमत प्राप्त गरेपछि राजा ल्याउँछौँ भनेर घोषणा गरेका छन् । हामीले राजावादीको त्यो योजनालाई असफल पार्नुछ ।

    उनीहरूले यो पनि भनेका थिए– सके हामीले शान्तिपूर्ण आन्दोलनको माध्यमबाट राजा ल्याउँछौँ, नभए हिंसात्मक आन्दोलन पनि गर्छौँ भनेर धम्की दिएका थिए । चैत १५ गतेको योजना असफल भएपछि पनि हामीले राजालाई ल्याउँछौँ भनेर धम्की दिइरहेका छन् । त्यसका विरुद्ध हामीले लड्नुपरेको छ ।

    अहिले त हामीले एक हप्ताको मात्रै कार्यक्रम बनाएका छौँ । जरुरत पऱ्यो भने हामीले लामो लडाइँ पनि लड्नुपर्नेछ । अरू १० वर्ष लड्नुपर्ला, २० वर्ष लड्नुपर्ला । अहिल्यै हामी केही भन्न सक्दैनौँ । त्यसैगरी चुनावको बेलामा पनि सबै भ्रष्ट पार्टीलाई, प्रतिगामीलाई हामीले हराउनुछ । जनतालाई हामीले यो पनि भन्नुपर्दछ कि पार्टीले जनतालाई धोका दिए, कुशासन गरे, भ्रष्टाचार गरे । त्यसका लागि ती ठुला पार्टी जिम्मेवार छन् तर तिनीहरूलाई भोट दिने त जनताले हो नि झ्

    अब जनताले पनि त्यस्तो गल्ती दोहोऱ्याउनु हुँदैन । जनताले इमानदार र सही पार्टी र नेतालाई भोट दिनुपर्छ अनि मात्र देशमा सही शासन हुन सक्छ । देशको दिगो विकास हुनसक्छ । भ्रष्टाचारको अन्त हुन सक्छ तर चुनावमा पहिलेझैँ भ्रष्ट तत्त्वको नै विजय भयो भने अहिलेको जस्तो स्थिति नै कायम रहनेछ । ठिक छ, भोलि हामीले सरकार बनाउन नसकौँला, त्यही पनि संसद्मा १० जना, २० जना, ४० जना सांसद पठाउन सक्यौँ भने सरकारलाई नियन्त्रण गर्न सक्छौँ । त्यही प्रकारले प्रदेश वा स्थानीय पालिकामा पनि केही बढी सङ्ख्यामा प्रतिनिधि पठाउन सक्यौँ भने अहिलेको स्थितिमा केही न केही सुधार हुन सक्नेछ ।

    अहिले हामी एक्लै चुनाव लड्नुछ । त्यसका लागि धेरै शक्ति चाहिन्छ । त्यसका लागि हामीले धेरै कोसिस गर्नुपर्दछ । यो सङ्घर्षले हामीलाई जनाधार निर्माण गर्न धेरै मदत गर्नेछ ।

    आगामी चुनावबारे अगाडि जुन कुरा भनियो, त्यसको अर्थ चुनाव वा संसदीय प्रणालीद्वारा नै देश र जनताका आधारभूत समस्याको समाधान हुनेछ भन्ने गलत सोचाइबाट पनि हामी बच्नुपर्दछ । अन्तमा नयाँ जनवादी क्रान्ति भएपछि नै जनताका आधारभूत समस्याको समाधान हुन सक्नेछ र वास्तविक अर्थमा देशको दिगो विकास हुन सक्नेछ । त्यसकारण हाम्रो मुख्य ध्यान जनवादी क्रान्ति सफल पार्नेतिर नै हुनुपर्दछ । त्यसका लागि हामीले लामो सङ्घर्ष गर्नुपर्दछ तैपनि तात्कालिक र कार्यनीतिक रूपमा विद्यमान गणतन्त्रको रक्षाका लागि सङ्घर्ष गर्दै संसदीय प्रणालीलाई पनि जनवादी क्रान्तिका लागि आधार र परिस्थिति तयार पार्नका लागि बढीभन्दा बढी उपयोग गर्ने हाम्रो कार्यनीति हुनुपर्दछ ।
    अन्तमा, तपाईंहरूले यो सङ्घर्षमा भाग लिन आउनुभयो, त्योभन्दा पहिले हाम्रा स्वयम्सेवक साथीहरूले आएर सङ्घीयता विरुद्ध आन्दोलनको प्रचार वा आर्थिक सङ्कलनमा पनि एक महिनासम्म महत्त्वपूर्ण योगदान दिनुभयो । हाम्रा सञ्चारमाध्यमले पनि महत्त्वपूर्ण योगदान दिएका छन् । रक्तिम सांस्कृतिक अभियानले पनि त्यो आन्दोलनमा महत्त्वपूर्ण योगदान दिएको छ । यसका लागि तपाईंहरू सबै धन्यवाद र बधाईका पात्र हुनुहुन्छ ।

    नेकपा (मसाल) को मुखपत्र मसाल, अङ्क ८५, २०८२ वैशाखबाट

    बुधबार, जेठ ०७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • २.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ३.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ४.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ५.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ६.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ७.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    • ८.
      असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.