जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री शतिशकुमार सिंहले मुसहर समुदायका ३०/४० प्रतिशत महिला अहिले पनि नागरिकताविहीनको अवस्थामा रहेको बताउनुभएको छ ।
ऋषिवंश एकता सेवा समाज नेपालको छैटौँ साधारणसभा तथा वार्षिक समीक्षा कार्यक्रमको २०८२ जेठ ६ गते जनकपुरधाममा उद्घाटन गर्दै उहाँले नागरिकता नभएका कारणले मुसहर समुदायले शिक्षा, स्वास्थ्य तथा रोजगारीलगायत मौलिक हक तथा अधिकारबाट वञ्चित हुनुपरेको तथ्य प्रस्तुत गर्नुभयो ।
मुख्यमन्त्री सिंहले जबसम्म मुसहरलगायत दलित समुदाय शिक्षाबाट वञ्चित रहन्छ, तबसम्म उनीहरू आफ्नो अधिकारका लागि लड्न नसक्ने भएकाले दलित शिक्षामा जोड दिनुपर्ने बताउनुभयो । उहाँले शिक्षा नै सशक्तीकरणको मूल आधार भएकाले अबको आन्दोलन कलम तथा किताबका लागि हुनुपर्नेमा जोड दिनुभयो ।
मुख्यमन्त्री सिंहले मुसहर समुदायका अभिभावकलाई आफ्ना बालबालिकालाई न्यूनतम एसइईसम्म पठनपाठन गराउनुपर्ने तथा बालविवाह रोकेर २० वर्ष पुगेपछि मात्र छोराछोरीको विवाह गर्न सुझाव दिनुभयो ।
सो अवसरमा मधेस प्रदेश योजना आयोगका उपाध्यक्ष डा सोहन साहले गुणस्तरीय शिक्षाको विकासमा मधेस प्रदेश सरकार लागिपरेकाले सबैले आफ्नो छोराछोरीको शिक्षामा जोड दिनुपर्ने विचार व्यक्त गर्नुभयो ।
संस्थाका अध्यक्ष लोचन सदाको अध्यक्षतामा भएको सो कार्यक्रममा हंसपुर नगरपालिकाका पूर्व नगरप्रमुख रामज्ञान मण्डल तथा समाजसेवी चन्देश्वर सदाले पनि मुसहर जातिको आर्थिक तथा सामाजिक अवस्थाबारे जानकारी गराउनुभएको थियो ।