काठमाडौँ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) ले काठमाडौँको बालाजु र नागार्जुन नगरपालिकामा मेलम्चीको पानी बितरणका लागि प्रक्रिया सुरु गरेको छ ।
पिआइडीले काठमाडौँ महानगरपालिका–१६ अन्तरगत बालाजु, बसपार्क, चापाकोट, च्याङली, लाजिमपाट, बेलकोटे, शिवपुरी, खोकन तथा नागार्जुन नगरपालिका अन्तरगतको वडा नं. १ र २ का कागेश्वरी मनोहरा, नागार्जुन वन, वृन्दावन महादेवलगायतका क्षेत्रमा मेलम्चीको पानी वितरणका लागि प्रक्रिया सुरु गरेको हो ।
काठमाडौँ उपत्यकामा पानीको आपूर्तिमा थप सुधार गर्नु र नागरिकलाई सफा र प्रशोधन गरिएको पानी उपलब्ध गराउने उदेश्यले बालाजु र नागार्जुन नगरपालिकामा मेलम्चीको पानी बितरणका लागि प्रक्रिया सुरु गरिएको निर्देशनालयका प्रमुख टिकाबहादुर चौधरीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो– ‘काठमाडौँ उपत्यकामा मेलम्चीको पानी बितरण गर्ने अभियान र मन्त्रीज्यूको निर्देशनपश्चात् हामीले उक्त कार्यका लागि बोलपत्रसमेत आह्वान गरेका छौँ । नागरिकलाई सफा र प्रशोधन गरिएको पानी उपलब्ध गराउने हाम्रो उदेश्य हो ।’
वितरण सञ्जाल सुधार कार्य, रिङरोड, बलाजुअन्तर्गत कुल पाइप लम्बाइ तीन हजार आठ सय ११ मिटर रहने जनाइएको छ । बालाजु ट्याङ्कीबाट नागरिकलाई सफा र प्रशोधन गरिएको पानी आपूर्ति गरिने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ ।
सेवा सञ्चालनपश्चात मेलम्ची परियोजनाअन्तर्गत २७० मिलियन लिटर पानी प्रतिदिन काठमाडौँको विभिन्न भागमा आपूर्ति गर्न सकिने अनुमान गरिएको छ ।
काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका अनुसार पानीको वितरणमा आएको ढिलाइलाई अब अन्त्य गर्दै काठमाडौँमा पानीको आपूर्ति प्रक्रिया व्यवस्थित रूपमा अघि बढाई काठमाडौँ उपत्यकाभित्रको पानी सङ्कटलाई एक हदसम्म समाधान गर्न मदत पुऱ्याउने खानेपानी मन्त्रालयले जनाएको छ । उक्त प्रक्रिया ुचारुसँगै काठमाडौँ महानगरपालिका बालाजु र नागार्जुन नगरपालिकाका नागरिकले आगामी दिनमा नियमित रूपमा मेलम्चीको प्रशोधित पानी प्राप्त गर्नेछन् ।