काठमाडौँ । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा अध्यक्षसहित १० जनाको नाम सिफारिस भएकोे छ ।
पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र नेतृत्वको सिफारिस समितिले पठाएका नाम मन्त्रिपरिषद्ले अनुमोदन गरेपछि दुवै आयोगहरू पुनः क्रियाशील हुनेछन्।
सत्य निरुपणमा ऋण असुली पुनरावेदन न्यायाधिकरणका पूर्वअध्यक्ष महेशकुमार थापालाई अध्यक्ष सिफारिस गरिएको छ। थापा पूर्वनायब महान्यायाधिवक्ता पनि हुन्।
यस्तै, बेपत्ता आयोगमा पूर्वमुख्यसचिव लीलादेवी गड्तौलालाई अध्यक्षमा सिफारिस गरिएको छ। गड्तौला कानुन सचिव हुँदै मुख्यसचिव भएकी थिइन्।
दुवै आयोगमा अध्यक्षसहित १० जना पदाधिकारी सिफारिस गरिएको छ।
सत्य निरुपणमा अध्यक्ष थापाका साथै सदस्यहरू अच्युतप्रसाद भण्डारी, टीकाप्रसाद ढकाल, कुमारी कौशल्या ओझा र पदमबहादुर शाही छन्।
यस्तै बेपत्ता छानबिन आयोगको अध्यक्षमा गड्तौलाका साथै सदस्यहरूमा उच्च अदालतका पूर्वन्यायाधीश अग्निप्रसाद थपलिया सदस्यमा सिफारिस भएका छन्। गोपालनाथ योगी, सृजना सिवाकोटी, विनिता नेपालीलगायत छन्।
प्रमुख तीन दलबीच भागबन्डा गर्दा नेपाली कांग्रेसले अध्यक्षसहित ३, नेकपा एमालेले अध्यक्षसहित ४ र नेकपा माओवादी केन्द्रले सदस्यहरू मात्र ३ पाएका छन्।
संक्रमणकालीन न्यायका संयन्त्रका रूपमा सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग पहिलोपटक २०७१ मा स्थापना गरिएको थियो। दुईपटक गठन गरिएका आयोग उजुरी संकलन गर्नमै सीमित भए।
दुवै आयोगमा गरी ६४ हजारभन्दा बढी उजुरी छन्।
दुवै आयोग पछिल्लोपल्ट ०७९ असार ३१ मा पदाधिकारीविहीन भएका थिए।
बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन विधेयक), २०८१ संघीय संसदका दुवै सदनबाट पारित भएपछि गत भदौ १३ गते राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका थिए।