काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद चित्रबहादुर केसीले बागलुङबजारदेखि बिहुँकोट घोडाबाधेसम्मको पुष्पलाल लोकमार्ग बिजोगपूर्ण अवस्थामा रहेकाले तुरुन्त निर्माण गर्न आग्रह गर्नुभएको छ ।
२०८२ वैशाख ३० गते मङ्गलबार प्रतिनिधिसभाको शून्य समयमा विषय उठान गर्दै उहाँले सो माग गर्नुभएको हो ।
‘मेरो निर्वाचन क्षेत्र बागलुङ १ को बागलुङबजारदेखि बिहुँखण्ड घोडाबाधेसम्मको पुष्पलाल लोकमार्ग गत २२ वर्ष भयो बन्न लागेको’ उहाँले त्यो बाटोमा सत्ताधारी प्रधानमन्त्रीहरू पटक पटक आउनेजाने भइरहेको स्मरण गर्नुभयो ।
‘हिउँद लाग्यो भने धुलोले आसपासका तिहुन तरकारी, किसानका टौवा जम्मै धुलाम्य हुन्छ । हेरिनसक्नुहुन्छ’ उहाँले सडकको अवस्था चित्रण गर्दै भन्नुभयो– बर्खा लाग्यो भने हिलोले नोक्सानी पुऱ्याउँछ ।’
अध्यक्ष केसीले २०७९ सालमा सांसद निर्वाचित भएदेखि अहिलेसम्म तीनपटक यही विषय संसद्मा उठाउँदै आएको बताउनुभयो ।
जनतामा सांसदले आँटे पुग्छ, नआटेर हो भन्ने मानसिकता रहेको स्मरण गर्दै उहाँले भन्नुभयो– ‘त्यो बाटो हुँदै जाने हो भने जनता ठाउँठाउँमा जम्मा भएर बस्छन् र त्यही बाटोको हविगत देखाउँछन् ।’
उहाँले प्रश्न गर्नुभयो– ‘त्यहाँ के भएको हो ? ठेकेदार हटाएपछि पनि किन काम नभएको हो ?’
‘मैले नपत्याई नपत्याई कुरा राखेको छु । सरकारले गर्छ भने कमै आशा छ’ सरकारप्रति व्यङ्ग्य गर्दै अध्यक्ष केसीले भन्नुभयो– ‘मतदातालाई सुनाउनका लागि भए पनि त्यो सडक निर्माण सम्पन्न गर्न म सभामुखमार्फत अनुरोध गर्दछु ।’