• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

प्रतिगामी खतराका विरुद्ध सङ्घर्ष गरौँ, गणतन्त्रको रक्षा गरौँ

"मसाल–८५ सम्पादकीय "

  •   सोमबार, बैशाख २९, २०८२ मा प्रकाशित
  • नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले ‘प्रतिगामी खतराका विरुद्ध सङ्घर्ष गरौँ, गणतन्त्रको रक्षा गरौँ’ नाराका साथ यही वैशाख २० गतेदेखि देशव्यापी रूपमा पालिका तहमा सङ्घर्ष सञ्चालन गर्ने निर्णय गरेको छ । हामीलाई विश्वास छ, नेकपा (मसाल) को नजिकका मोर्चा वा जनवर्गीय सङ्गठनले त्यो आन्दोलनलाई अगाडि बढाउन महत्त्वपूर्ण भूमिका खेल्नेछन् र त्यसरी त्यो आन्दोलनले सबै प्रतिगामी शक्तिलाई निर्णयात्मक रूपले पराजित गर्नेछ । मसालको यो अङ्क प्रकाशित हुने बेलासम्म त्यो आन्दोलन सम्पन्न भइसकेको हुनेछ तैपनि त्यो आन्दोलनले नेपालको राजनीतिक इतिहासमा नै ठुलो र ऐतिहासिक महत्त्व राख्दछ ।

    Advertisement

    अहिले देशमा गणतन्त्रको स्थापना भएको छ । त्यो नेपालको अहिलेसम्मको राजनीतिक इतिहासको नै सबैभन्दा ठुलो र ऐतिहासिक उपलब्धि हो । खड्गमानसिंह बस्नेत जेलमा परेको समयदेखिको हिसाब गर्ने हो भने नेपाली जनताले प्रजातन्त्रका लागि करिब एक शताब्दीदेखि सङ्घर्ष गर्दै आएका छन् र त्यो करिब एक शताब्दी लामो सङ्घर्षको सबैभन्दा महत्त्वपूर्ण उपलब्धि हो । यदि लखन थापाको विद्रोहदेखिको समयको हिसाब गर्ने हो भने नेपाली जनताको प्रजातान्त्रिक आन्दोलनको इतिहास करिब डेढ सय जर्ष लामो हुन जान्छ ।

    गणतन्त्र र धर्मनिरपेक्षताका ऐतिहासिक उपलब्धिलाई उल्टाउनका लागि पूर्व राजा ज्ञानेन्द्र शाहको नेतृत्वमा राजावादीले अभियान चलाइरहेका छन् । त्यो अभियान संसद्भित्र र बाहिर दुबैतिर चलिरहेको छ ।

    यो प्रथमपल्ट होइन कि इतिहासको कुनै कालखण्डको उपलब्धिलाई उल्ट्याउनका लागि प्रतिगामी शक्तिले प्रयत्न गर्ने गरेका छन्, २००७ सालको राजनीतिक परिवर्तनपछि राणाहरूले बहुदलीय व्यवस्थालाई पल्टाउनका लागि सङ्गठित रूपले प्रयत्न गरेका थिए । त्यो बेला भरत शमशेरको नेतृत्वमा गोर्खा परिषद् बनेको थियो र त्यसले बी.पी. कोइरालाको हत्यासमेत गर्ने प्रयत्न गरेको थियो । त्यो बेला उनी गृहमन्त्री थिए र उनको निवास त्रिपुरेश्वरमा थियो । गोरखा परिषद्को एउटा समूहले उनको निवाससम्म पुगेर उनलाई खुकुरीले हान्ने प्रयत्न गरेको थियो तर बी.पी. को हत्या गर्ने उनीहरूको प्रयत्न असफल भएको थियो । पछि गोरखा परिषद्ले संसद्मा पनि भाग लिएको थियो र केही सिट पनि जितेको थियो । त्यो बेला पनि जस्तो कि अहिले राजाको शासनबारे सोचाइ पाइन्छ, एउटा ठुलो जनमत राणाशासनको पुनर्स्थापनाका पक्षमा थियो ।
    राणाशासनलाई फर्काउने गोरखा परिषद्को प्रयत्न त सफल भएन तर पछि तत्कालीन राजा महेन्द्रले बी.पी. कोइराला प्रधानमन्त्री भएको बेलामा बहुदलीय व्यवस्थालाई समाप्त गरेर निरङ्कुश राजतन्त्र र पञ्चायती तानाशाही व्यवस्था कायम गरे । त्यो शासन ३० वर्षसम्म रह्यो ।

    २०४६ सालमा निरङ्कुश राजतन्त्र र पञ्चायती तानाशाही व्यवस्थाको अन्त्य भयो । त्यसपछि पनि बहुदलीय व्यवस्थालाई समाप्त गरेर राजाको निरङ्कुश शासनको पुनर्स्थापनाका लागि राजावादीको गतिविधि बढेको थियो । त्यो बेला राजतन्त्रको पुनर्स्थापनाको खतराका विरुद्ध सङ्घर्षमा जोड दिँदै हामीले लेख पनि लेखेका थियौँ । बहुदलीय पक्षधर नेताहरूले प्रतिगमनको खतराको विचारलाई गम्भीर रूपमा लिएनन् । कामरेड मोहन वैद्यले ता त्यो विचारलाई हाँसोमा उडाउँदै योसम्म लेखेका थिए– ॅसात कोस टाढा फलामको पिँजडामा भएको बाघबाट केको खतरा ?’ (यहाँ उनको त्यो भनाइलाई शब्दशः होइन, भावार्थको रूपमा नै दिइएको छ) । त्यही ॅसात कोस टाढा फलामको पिँजडामा भएको बाघ’ उफ्रेर आयो र २०५९ माघ १९ गते त्यसले देशमा निरङ्कुश राजतन्त्रको स्थापना गऱ्यो तर त्यसको एउटा राम्रो र सकारात्मक परिणाम यो भयो कि त्यसका विरुद्ध सङ्घर्षको क्रममा नै राजतन्त्रको अन्त भयो र गणतन्त्रको स्थापना भयो ।

    देशमा गणतन्त्र कायम भएपछि पनि त्यसलाई उल्ट्याउन राजावादीले सङ्गठित रूपले प्रयत्न गर्दै आएका छन् । अहिले उनीहरूको सक्रियता धेरै बढेर गएको छ । चैत १५ गते उनीहरूले त्रिपुरेश्वरको बी.पी. को हत्या गरेर राणाशासनको पुनर्स्थापना गर्न खोजेजस्तो योजना बनाएर काम गर्न खोजेका थिए । त्यो दिन आगालागी र तोडफोडका कैयौँ घटना भए । यहाँसम्म कि उनीहरूले जडिबुटीमा आगो लगाएर ठुलो विष्फोट गराउने र त्रिभुवन विमानस्थलमा तोडफोड गरेर अन्तर्राष्ट्रिय हवाई आवागमनलाई पनि अवरुद्ध पार्नेसम्मको योजना बनाएका थिए । त्यस प्रकारको कारबाही खालि आकस्मिक र सामान्य थिएन । त्रिपुरेश्वरको त्यो कारवाही बङ्गलादेशमा जस्तो तुरुन्तै सत्ताकब्जा गर्ने, पूर्वराजालाई नारायणहिटी दरबारमा भित्राएर उनलाई गद्दीमा बसाल्ने र राजतन्त्रको पुनर्स्थापना गर्ने बृहत्तर योजनाको अङ्ग थियो । त्यो चैत १४ गते निर्मल निवासमा चैत १५ का लागि पूर्व राजाद्वारा मनोनित कमान्डरसित बसेर बनाइएको योजना नै थियो तर उनीहरूको त्यो योजना असफल भयो । त्यसपछि पनि उनीहरूले आफ्नो गतिविधिलाई अगाडि बढाउँदै लगिरहेका छन् । उनीहरूले योसम्म दाबी गरिरहेका छन् कि एकाध महिनाभित्र नै उनीहरू गणतन्त्रलाई समाप्त गर्न र राजतन्त्रको पुनर्स्थापना गर्न सफल हुनेछन् ।

    चैत १५ गतेका लागि उनीहरूले जुन योजना बनाएका थिए, त्यो बन्दुक उल्टो पड्कियो । त्यो घटनाले उनीहरूको शक्ति र जनाधारलाई धेरै नै कमजोर बनाइदिएको छ । त्यसपछि उनीहरूमा एक प्रकारले हतोत्साह र निराशा बढेर गएको छ । त्यो स्वभाविक पनि हो । जस्तो कि माथि उल्लेख गरियो, एकपल्ट राणाशासनलाई पुनर्स्थापना गर्ने कार्य पनि जोडतोडले अगाडि बढेको थियो, पछि त्यो सेलाएर गयो । राजावादीको इतिहासको पनि त्यही प्रकारको पुनरावृत्ति हुने कुरा निश्चित छ ।

    वास्तवमा भन्ने हो भने गणतन्त्र पक्षधर राजनीतिक शक्ति र गणतन्त्रको जनाधारको तुलनामा उनीहरूको शक्ति नगण्य छ तैपनि तीनओटा कारणले उनीहरूलाई केही न केही बल पुग्ने गरेको छ ।

    प्रथम– जनप्रियतावाद, जनतामा पाइने जनप्रियतावादी सोचाइले जहिले पनि प्रतिक्रियावादी शक्तिलाई बल पुऱ्याउने गर्दछ । त्यस प्रकारका सोचाइ पिछडिएका र अराजनीतिक हुन्छन् र विभिन्न देशमा कायम हुने प्रतिक्रियावादी वा फाशिष्ट शासनको मूल स्रोत त्यस प्रकारको जनप्रियतावादी सोचाइ नै हुन्छ । राणाशासनको अन्त्यपछि पनि त्यस प्रकारको सोचाइ देखा परेको थियो र अहिले राजतन्त्रको अन्त्यपछि पनि त्यस प्रकारको सोचाइ देखा परेको छ । त्यस प्रकारको जनप्रियतावादी सोचाइले पनि नेपालमा राजावादीलाई केही न केही मदत पुग्ने कुरालाई अस्वीकार गर्न सकिन्न ।

    द्वितीय– देशमा बहुदलीय व्यवस्थाको पुनर्स्थापना वा गणतन्त्रको स्थापनापछि सत्तामा आएका विभिन्न राजनीतिक दलका गलत वा जनविरोधी नीति र क्रियाकलापबाट जनतामा उत्पन्न असन्तोष वा निराशाबाट पनि राजावादीलाई केही न केही बल पुग्ने गर्दछ । यो थाहा भएकै कुरा हो कि अहिले देशमा कुशासन र भ्रष्टाचार धेरै नै बढेर गएको छ । त्यसले गर्दा देशको विकास धेरै नै अवरुद्ध भएर गएको छ र जनजीवन पनि धेरै नै कष्टकर हुँदै गएको छ । त्यसले गर्दा पैदा भएको असन्तोष वा निराशालाई राजावादीले उपयोग गर्ने प्रयत्न गरिरहेका छ्न । उनीहरूले जनतालाई यो भ्रम दिने प्रयत्न गरिरहेका छन् कि राजाको शासन कायम भएमा देशमा सुशासन कायम हुनेछ† भ्रष्टाचारको अन्त्य हुनेछ र देशको दिगो विकास हुनेछ तर प्रथमतः राजाको शासनकाल कस्तो हुनेछ ? त्यो कुरा ३० वर्षको निरङ्कुश राजतन्त्र र पञ्चायती तानाशाही व्यवस्थाले देखाइसकेको छ । दोस्रो, अहिले राजावादीले राजाको शासन निरङ्कुश नभएर वैधानिक र प्रजातान्त्रिक प्रकारको हुनेछ भन्ने कुरा बताइरहेका छन् तर नेपालमा २००७ सालमा कायम भएको वैधानिक राजतन्त्र २०१७ सालमा निरङ्कुश शासनमा बदलिएको थियो भने २०४६ सालमा कायम भएको वैधानिक राजतन्त्र २०५९ सालमा निरङ्कुश राजतन्त्रमा बदलिएको थियो । जुन ज्ञानेन्द्र शाहको वैधानिक राजतन्त्रलाई निरङ्कुश राजतन्त्रमा बदलेको इतिहास छ, उनी नै पुनः राजा भएमा उनको शासनकाल वैधानिक र प्रजातान्त्रिक प्रकारको हुनेछ भनेर विश्वास गर्नु कहाँसम्म निराधार कुरा हो ? त्यो कुरा स्वयम् प्रष्ट छ ?

    तृतीय– भारतका कट्टर हिन्दुवादीबाट पनि राजावादीलाई केही मदत पुग्ने गरेको छ । पूर्वराजा ज्ञानेन्द्र शाह उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीलाई भेट्न गोरखपुर गएका थिए । उनको आड पाएर नै उनी उत्साहित भएका थिए र त्यहाँबाट आएर पोखराबाट फागुन ७ गतेको भिडियो वक्तव्य जारी गरेका थिए, जसमा उनलाई साथ दिनका लागि जनतालाई आह्वान गरिएको थियो । काठमाडौँमा आउँदा राजाको स्वागतमा उपस्थित भएको भिडले पनि राजाका साथै आदित्यनाथको फोटोसहित प्रदर्शन गरेका थिए । त्यसबाट अहिले पूर्व राजा वा राजावादीको सक्रियताका पछाडि भारतका कट्टर हिन्दुवादी शासक वर्गको समर्थनले नै मुख्य रूपले काम गरेको कुरा बुझ्न गाह्रो पर्दैन । जुन राजावादीले राजाको शासन कायम भएमा देशमा विदशी हस्तक्षेप कम हुनेछ वा राष्ट्रियताको रक्षा हुनेछ भनेर हल्ला मच्याइरहेका छन्, उनीहरूले नै उत्तर प्रदेशका मुख्यमन्त्रीको तस्बिर लिएर प्रदर्शन गरेको कुराबाट उनीहरूको चरित्र कति धेरै अराष्ट्रिय रहेछ ? त्यो बुझ्न गाह्रो पर्दैन । कालापानीमा भारतले गरेको कब्जाका विरुद्ध पूर्व राजा वा राजावादीले अहिलेसम्म एक शब्द पनि उच्चारण गरेका छैनन् । त्यसले बताउँछ, उनीहरूमा राष्ट्रियताको रक्षाका लागि कुनै स्प्रिट नभएको र विदेशी शक्तिको आडमा नै पुनः सत्ता प्राप्त गर्न खोजेको कुरामा कुनै शङ्का रहन्न ।

    माओले यो बताएका छन्, कतिपय राजामा देशभक्तिको भावना पनि हुन्छ । पृथ्वीनारायण शाह एउटा सामन्ती राजा नै थिए तैपनि उनी देशभक्त थिए र नेपाल राज्यको एकीकरणमा उनको ठुलो योगदान रहेको थियो । त्यही प्रकारले राजा महेन्द्र निरङ्कुश भए पनि उनमा देशभक्तिको भावना पनि थियो । उनले एक प्रकारले भारतका अगाडि अडान पनि लिएका थिए । त्यसैले हामीले निरङ्कुश शासनको विरुद्ध सम्भौताहीन प्रकारले सङ्घर्ष गर्दै उनका देशशक्तिपूर्ण कार्यको समर्थन गरेका थियौँ, जसमा पूर्वपश्चिम र कोदारी राजमार्गको निर्माणलाई हामीले दृढतापूर्वक समर्थन गरेको कुरा पनि आउँछ तर पूर्व राजा ज्ञानेन्द्रमा राजाको चरित्र नै छैन । उनी एउटा व्यापारी हुन् । त्यसैले उनले देशका राष्ट्रियहितलाई केन्द्रमा राखेर होइन, आफ्ना लाभहानिको लेखाजोखा गरेर नै कुनै नीति वा आफ्नो कर्तव्य निर्धारित गर्दछन् । सुरुदेखि नै उनको चरित्र त्यही प्रकारले बनेको छ । त्यसैले आफ्नो फाइदाको लागि भारत वा कुनै साम्राज्यवादी देशसित देशको राष्ट्रियता वा राष्ट्रियहितको सौदाबाजी गर्न पनि उनलाई कुनै सङ्कोच लाग्ने छैन । भारतीय साम्राज्यवादले नेपालप्रतिको आफ्नो साम्राज्यवादी रणनीति, जसले पहिलो चरणमा तराईलाई भारतमा मिलाउने र दोस्रो चरणमा पूरै नेपाललाई सिक्किमलाई जस्तै भारतीय सङ्घमा गाभ्ने रणनीतिअन्तर्गत काम गर्दै आएको छ, ले आफ्ना साम्राज्यवादी उद्देश्य पूरा गर्न नै पूर्व राजालाई पनि उपयोग गर्न प्रयत्न गर्ने कुरा प्रस्ट छ । त्यसकारण देशमा राजाको शासन कायम हुनेछ भने त्यसबाट नेपालमा निरङ्कुश शासन कायम हुनु र देश प्रतिगमनको दिशामा जानुका साथै नेपालको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतामा समेत गम्भीर आँच पुग्ने कुरा निश्चित छ । त्यसैले खालि गणतन्त्र र धर्मनिरपेक्षता मात्र होइन, देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डताको रक्षासमेतका लागि देशमा बढिरहेको प्रतिगामी खतराका विरुद्ध सङ्घर्ष गर्नु अहिलेको नेपालको ऐतिहासिक र राष्ट्रिय महत्त्वको जिम्मेवारी बन्न गएको छ । अर्का शब्दमा त्यो नेपालका लागि एउटा जीवनमरणको प्रश्न बन्न गएको छ ।

    माथि प्रतिगमनलाई बल पुऱ्याउने जुन कारणको चर्चा गरियो, त्योबाहेक अन्य कतिपय कारणले पनि प्रतिगमनलाई बल पुऱ्याउने गरेका छन् । ती कारणमध्ये सर्वप्रथम त नेपाली काङ्ग्रेसभित्रको राजापरस्त र धर्मनिरपेक्षताका विरुद्धको जनमत नै हो । नेपालमा गणतन्त्र र धर्मनिरपेक्षता ल्याउनमा गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा नेकाले पनि महत्त्वपूर्ण भूमिका खेलेको थियो तर अहिले नेकाभित्र राजतन्त्रको पुनर्स्थापनालाई समर्थन गर्ने र धर्मनिरपेक्षताको विरोध गर्ने एउटा ठुलो जनमत छ । नेकाको इतिहासमा तुलसी गिरी र विश्वबन्धु थापाजस्ता नेताहरू पनि थिए, जो निरङ्कुश राजतन्त्रलाई समर्थन गरेर पञ्चायती व्यवस्थाअन्तर्गत उच्च पदमा पुगेका थिए । अहिले पनि नेकाभित्र राजतन्त्रको पुनर्स्थापना, प्रधानमन्त्री बन्न खोज्ने तुलसी गिरी र विश्वबन्धु थापाजस्ता कुनै महत्वाकाङ्क्षी व्यक्ति ता छैनन् ? त्यो सम्भावनालाई पनि अस्वीकार गर्न सकिन्न । त्यस प्रकारका तत्त्वले बी.पी. कोइरालाको राष्ट्रिय मेलमिलापको नीतिलाई आफ्नो पथप्रदर्शक सिद्धान्त बनाएको पाइन्छ । बी.पी. को त्यो नीतिको हामीले त्यही बेला नै विरोध गरेका थियौँ तैपनि उनले त्यो बेलाको परिस्थितिजन्य बाध्यता, खास गरेर भारतमा निर्वासित भएर बस्न नसक्ने अवस्थाका कारणले नै उनले राजासित मेलमिलापको नीति लिएको सम्भावनालाई अस्वीकार गर्न सकिन्न तर पछिको बदलिएको स्थितिमा, खास गरेर राजाले नेकालाई वैधानिक रूपले पनि काम गर्न नदिएको अवस्थामा गिरिजाले गणतन्त्रको नीति अपनाए, त्यही प्रकारको अवस्थामा बाँचेको भए बी.पी. ले पनि गणतन्त्रलाई समर्थन गर्ने सम्भावनालाई पनि अस्वीकार गर्न सकिँदैनथ्यो तर उनले एउटा विशेष परिस्थितिजन्य बाध्यताले गर्दा लिएको राजासितको मेलमिलापको नीतिलाई नै आधार बनाएर अहिलेको बदलिएको परिस्थितिमा पनि नेकाभित्रको एउटा पक्षले जुन राजापरस्त नीति अपनाइरहेको छ, त्यो निश्चित रूपले प्रतिक्रियावादी सोचाइ हो । त्यस प्रकारको नीतिले नेकाको प्रजातान्त्रिक आन्दोलनमा बी.पी., गणेशमान, गिरिजासमेतको जुन गौरवमय भूमिका रहेको छ, त्यसमा कालो दाग लगाउने छ ।

    नेकामा जस्तै कम्युनिस्ट पार्टीभित्र पनि राजाको पक्ष लिएर उच्च पद प्राप्त गर्ने प्रवृत्तिको कमी छैन । डा. केशरजङ्ग रायमाझी त्यस प्रकारका एउटा प्रमुख पात्र हुन् । त्योबाहेक हाम्रो पार्टीका त्यो बेलाको केन्द्रीय समिति वा प्रान्तीय र जिल्ला स्तरका थुप्रै नेता वा कार्यकर्ता पनि पञ्चायती व्यवस्थामा प्रवेश गरेका थिए । अहिले नेपालको कम्युनिस्ट आन्दोलनले धेरै नै अवसरवादको बाटो समातिसकेको छ । त्यस सन्दर्भमा माओवादी र एमालेका उम्मेदवार विशेष रूपमा उल्लेखनीय छन् । हाम्राअगाडि राजाको निरङ्कुश सत्ता कायम भएपछि समष्टि रूपमा नै एमाले त्यसमा सामेल हुन गएको उदाहरण पनि छ । अहिले पनि त्यसभित्र एक वा अर्को प्रकारले प्रतिगमनको पक्ष लिएर व्यक्तिगत महत्त्वाकाङ्क्षा पूरा गर्न चाहने सोचाइ कुनै न कुनै रूपमा भएको सम्भावनालाई अस्वीकार गर्न सकिन्न ।

    प्रकट रूपले नै अवसरवादको बाटो समातेका समूहबाहेक नेपालको कम्युनिस्ट आन्दोलनमा एउटा “वामपन्थी” सङ्कीर्णवादी पङ्क्ति पनि छ, जसले बाह्य रूपमा क्रान्तिकारीताको चर्को कुरा गरेर एक वा अर्को प्रकारले राजाको समर्थन गर्ने वा गणतन्त्रको विरोध गर्ने काम गर्दछ । तिनीहरूमध्ये कतिपय वामपन्थीले ता घोषित रूपले धर्मतिरपेक्षताको विरोध गरेर हिन्दु राष्ट्रको समर्थन गरेका छन् भने नेपालमा कायम भएको गणतन्त्र पनि नेपाली जनताको आन्दोलनबाट आएको नभएर विदेशी शक्तिको दबाबबाट नै कायम गरिएको बताएर त्यसको (गणतन्त्रको) अवमूल्यन गर्दैछन् । त्यसरी उनीहरूले प्रत्यक्ष रूपले नै गणतन्त्रलाई अस्वीकार गर्दैछन् । त्यसपछि त्यसको रक्षाका लागि सङ्घर्ष गर्ने कार्य उनीहरूका लागि गौण महत्त्वको कार्य बन्न जान्छ । यहाँसम्म कि उनीहरूले राजावादीको गणतन्त्र र धर्मनिरपेक्षताको सङ्घर्षमा ऐक्यबद्धता पनि प्रकट गरेको पाइन्छ । त्यसरी उनीहरूले प्रत्यक्ष वा अप्रत्यक्ष रूपले डा. केशरजङ्ग रायमाझीको विरासतलाई नै अगाडि बढाउन खोजेको कुरामा कुनै शङ्का रहन्न । कम्युनिस्ट पार्टीको नाममा त्यो कति धेरै पतन हो ? कसैले पनि त्यो कुराको अनुमान गर्न सक्दछ ।

    कतिपयले वामपन्थी पक्षले तत्कालका लागि नयाँ जनवादी गणतन्त्रका लागि सङ्घर्ष गर्ने कुरा गरेर विद्यमान गणतन्त्र ‘रहे पनि वा गए पनि’ उनीहरूलाई कुनै मतलब नभएको बताउँछन् । अहिले राजावादीले गणतन्त्रमाथि हमला बढाइरहेको अवस्थामा उनीहरूको त्यस प्रकारको सोचाइले राजावादीको गणतन्त्रमाथिको हमलालाई नै मदत पुऱ्याउने कुरा दिनको उज्यालोझैँ छर्लङ्ग छ । त्यही प्रकारले उनीहरूले देशमा बढिरहेको प्रतिगमनको खतरालाई पनि अस्वीकार गर्दछन् र त्यसका विरुद्ध सङ्घर्ष गर्नुपर्ने कार्यलाई अस्वीकार गर्दछन् ।

    उपर्युक्त परिस्थितिमा प्रस्ट छ, हामीले प्रतिगमनका विरुद्ध मात्र सङ्घर्ष गरेर पुग्दैन, हामीले प्रत्यक्ष वा अप्रत्यक्ष रूपले प्रतिगमनलाई मदत पुऱ्याउने सबै सोचाइको पनि विरोध गरेर जनताको चेतनाको स्तर उठाउने प्रयत्न गर्नुपर्छ वा जनतालाई जागृत गर्नुपर्छ । त्यसरी नै अहिले देशमा देखा परेको राजावादी खतरालाई रोक्न सकिने छ र रोक्नु पनि पर्दछ ।

    अहिले बाह्य वा प्रकट रूपले हेर्दा राजावादी केही शक्तिशाली भएजस्तो पनि देखिन्छन् तर त्यो सत्य होइन । माओले भनेका छन्– सबै प्रतिक्रियावादी कागजी बाघ हुन । त्यो कुरा अहिले देशमा देखा परेको प्रतिगामी खतराबारे पनि सत्य हो । हालसालै पूर्व राजा र राजावादीको नीति वा कार्यप्रणालीको सूक्ष्म अध्ययन गर्ने हो भने उनीहरू अन्यौल र निराशाको अवस्थामा पुगेको देखिन्छ । उनीहरूले आफ्नो कुनै कार्यदिशा नै निर्धारित गर्न सकिरहेका छैनन् । राप्रपाले लगातार राजतन्त्रको पुनर्स्थापना र हिन्दु राज्यको स्थापनाका लागि संसद्भित्र वा बाहिर सङ्घर्ष गर्दै आएको थियो तर पूर्व राजाले तिनीहरूमाथि पनि विश्वास गर्न सकेनन् र एउटा पुरानो पूर्व पञ्चको संयोजकत्वमा सङ्घर्ष समितिको गठन गरे । त्यो समिति स्वयम् राप्रपाका नेताहरूलाई स्वीकार थिएन र उनीहरूमध्ये कतिपय प्रमुख नेताहरू त्यसबाट अलग भए । पछि पूर्व राजाले त्यो समितिमाथि पनि विश्वास गरेनन् र एउटा मेडिकल व्यवसायीलाई चैत १५ गतेको कार्यक्रमको कमान्डर बनाइदिए तर त्यो दिन जब उनका तोडफोड, आगलागीसमेतका कार्यद्वारा प्रत्यक्ष रूपले सत्ताकब्जा गर्ने र नारायणहिटी दरबारमा गएर गद्दीमा बस्ने उनको योजना असफल भयो, उनले त्यो दिनको हिंसात्मक कारबाही वा त्यो दिनको कमान्डरसित आफ्नो कुनै सम्बन्ध नभएको कुरा बताए । पछि उनले एउटा वृद्ध प्रोफेसरलाई त्यो आन्दोलनको सञ्चालनको जिम्मा सुम्पिदिए । पछि उनलाई लाग्यो, त्यसपछि पनि उनको राजावादी गतिविधि शक्तिशाली बन्न सकेन । त्यसपछि उनले विभिन्न राजावादी नेताहरूलाई निर्मल निवासमा बोलाएर उनीहरूलाई एकत्रित भएर आन्दोलन सञ्चालन गर्ने जिम्मा दिए तर प्रष्ट छ, अहिले पनि प्रतिगामी प्रकारको गतिविधिले जोड पक्रन सकेको छैन तैपनि प्रतिगमनका विरुद्ध भएका राजनीतिक शक्तिको बिचमा फुट भएको हुनाले नै पूर्व राजाले त्यो स्थितिबाट केही फाइदा उठाउने आशा गरेको हुन सक्दछ तर यदि प्रतिगमनको खतरा केही मात्र अगाडि बढ्छ भने निश्चित छ, गणतन्त्रका पक्षमा भएको जनसागर देशव्यापी रूपमा उर्लिनेछ । देशले प्रतिगमनका विरुद्धको त्यस प्रकारको जनसागरलाई धेरैपल्ट देखिसकेको छ र त्यसले प्रतिगामी शक्तिलाई बारम्बार पराजित गर्दै आएको छ ।

    त्यस प्रकारको स्थितिमा अहिले विभाजित भएका प्रतिगमनका विरुद्ध भएका शक्ति पनि एकअर्काका नजिक आउनेछन् । प्रतिगमनका विरुद्ध त्यस प्रकारको संयुक्त आन्दोलनका देशमा कैँयौ महत्त्वपूर्ण उपलब्धि रहेका छन् र आउने दिनमा पनि त्यही प्रकारको इतिहास अगाडि बढ्दै जानेछ । त्यसरी अन्तत्वगत्वा प्रतिगमनको पराजय अवश्यम्भावी छ । निश्चय नै अहिले देशमा जुन प्रकारको बहुदलीय व्यवस्था र गणतन्त्र छ, त्यसले जनताको आवश्यकता पूरा गर्दैन र हामीले अरू उन्नत प्रकारको गणतन्त्र ल्याउनका लागि सङ्घर्ष गर्नुपर्ने आवश्यकता छ ।

    हामीलाई विश्वास छ, करिब एक वर्षको आन्दोलनको परिणामस्वरूप देशमा जुन बहुदलीय व्यवस्था कायम भएको छ, त्यसमाथि खतरा पैदा भएको अवस्थामा हामीले देशलाई बचाउनको लागि वा देशलाई प्रतिगमनको बाटोमा जानुबाट रोक्नका लागि सङ्घर्ष गर्नुपर्ने आवश्यकता छ । त्यो अहिलेको हाम्रो तात्कालिक मुख्य जिम्मेवारी बन्न जान्छ तर इतिहास यहीँसम्म मात्र आएर रोकिने छैन र अरू अगाडि, अरू उच्च, उन्नत र क्रान्तिकारी दिशामा अगाडि बढ्दै जानेछ । इतिहासलाई त्यसरी अगाडि बढाउने जिम्मेवारी हाम्रो काँधमा आएको छ ।

    सोमबार, बैशाख २९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    जेनजीले दिएको अविस्मरणीय घाउ : रेट्रोफिट हुन नसक्ने भएपछि सङ्ग्रहालय बनाइँदै
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.