शिव पन्थी, माण्डवी (प्युठान) ।
‘प्रतिगामी खतरा विरुद्ध सङ्घर्ष गरौँ, गणतन्त्रको रक्षा गरौँ’ नाराका साथ राष्ट्रिय जनमोर्चा प्युठानले माण्डवीमा जनचेतना सभा सम्पन्न गरेको छ ।
केन्द्रीय उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलको प्रमुख आतिथ्यमा २०८२ वैशाख २८ गते आइतबार माण्डवीको चकचकेमा सो कार्यक्रम सम्पन्न भएको हो ।
सभालाई सम्बोधन गर्दै नेतृ पौडेलले गणतन्त्रमाथि गम्भीर खतरा उत्पन्न हुँदै गएको बताउनुभयो ।
‘गणतन्त्रको रक्षा गर्न जनस्तरबाट एकताबद्ध सङ्घर्ष आवश्यक छ’ उहाँले भन्नुभयो– ‘मण्डलेहरू को हुन् भन्ने उनीहरूको आन्दोलनले प्रस्ट पारिसकेको छ । गणतन्त्रको विकल्प भनेको नयाँ जनवादी गणतन्त्र हो । राष्ट्रियताको निम्ति निरन्तर सङ्घर्ष गर्ने पार्टी राष्ट्रिय जनमोर्चा मात्र हो ।’

उहाँले सङ्घीयताले देशमाथि बोझ थपेको उल्लेख गर्दै यसलाई खारेज गरिनुपर्ने तर्क उहाँको थियो ।
‘देशले सङ्घीयता धान्न सक्दैन । यसलाई खारेज गर्न सके मात्र शिक्षा र स्वास्थ्य निःशुल्क हुन सक्छ । कृषि वैज्ञानिक ढङ्गले विकास गरी देशलाई आत्मनिर्भर बनाउन सकिन्छ’ उहाँले थप्नुभयो ।
कार्यक्रममा विशेष अतिथिका रूपमा राजमो लुम्बिनी प्रदेशका सल्लाहकार सुरेश थापा तथा अन्य अतिथिमा राजमो जिल्ला अध्यक्ष ज्ञामुराम न्यौपानेलगायत नेताहरूले सम्बोधन गर्दै प्रतिगमनको खतरा र बढ्दो राजावादी प्रवृत्तिको विरोधमा जनस्तरबाट सचेतना फैलाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँहरूले देशभर जागरुक अभियान सञ्चालन भइरहेको र राजावादी प्रवृत्तिको विरुद्ध एकताबद्ध भएर लड्नुपर्ने धारणासमेत राख्नुभयो ।
सभामा अखिल नेपाल महिला सङ्घकी केन्द्रीय उपाध्यक्ष पद्मा पण्डित, उपाध्यक्ष इमानसिंह खड्का, राजमो जिल्ला सदस्यहरू लालबहादुर राउत, ध्रुव थापा, इन्द्रबहादुर खड्का, कृष्णप्रसाद जैसी, अखिल (छैठौं) प्युठानका जिल्ला सचिव लक्ष्मण पुन तथा राजमो स्वर्गद्वारी नगर समिति कोषाध्यक्ष शिव पन्थीको पनि सक्रिय उपस्थिति रहेको थियो ।
कार्यक्रमको अध्यक्षता लीलबहादुर राउतले, स्वागत शङ्कर आचार्यले र सञ्चालन नरेन्द्र खड्काले गर्नुभएको थियो
सो अवसरमा रक्तिम सांस्कृतिक अभियानका कलाकारहरूले आकर्षक नृत्य प्रस्तुत गर्नुभएको थियो ।

महामन्त्री सिंहको प्रशिक्षण
कार्यक्रमको अन्त्यतिर नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले जनसमूहलाई प्रशिक्षण दिँदै सामाजिक न्याय, समानता र जनताको अधिकार सुनिश्चित गर्न राष्ट्रिय जनमोर्चाको भूमिकालाई अझ सशक्त बनाउनुपर्ने विचार व्यक्त गर्नुभएको थियो ।
सभाका सहभागीले यस्ता जनचेतनामूलक कार्यक्रम गाउँगाउँमा निरन्तर सञ्चालन गर्नुपर्ने प्रतिक्रिया दिएका थिए ।