गोपालप्रसाद भट्टराई, सन्धिखर्क ।
नेकपा (मसाल) ५ नम्बर ब्युरो प्रवक्ता तिलक जिसीले गणतन्त्रको विकल्प राजतन्त्र कुनै पनि अवस्थामा हुन नसक्ने जिकिर गर्नुभएको छ ।
अन्धकारबाट उज्यालोमा आएका नेपाली फेरि अँध्यारोमा फर्किन नसक्ने भन्दै उहाँले लामो सङ्घर्ष र बलिदानीबाट प्राप्त गणतन्त्रको विकल्प गणतन्त्र नै हुने तर्क गर्नुभएको हो ।
गणतन्त्रको रक्षा, प्रतिगमनका विरुद्ध सङ्घर्ष र सङ्घीयता खारेजीको निम्ति राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले २०८२ वैशाख २७ गते शनिबार भूमिकास्थानको पिपलनेटामा आयोजना गरेको चेतनासभालाई सम्बोधन गर्दै प्रवक्ता जिसीले यस्तो बताउनुभएको हो ।

सत्तामा बस्नेहरूको गलत प्रवृत्तिका कारण नागरिक निराश भएको र त्यही मौकामा राजावादी सल्बलाएको उहाँको धारणा छ ।
प्रसङ्ग फेर्दै नेता जिसीले नेपालमा सङ्घीय व्यवस्था फेल भइसकेको दाबी पनि गर्नुभयो । नेपालको राजनीतिक, आर्थिक वा भौगोलिक कुनै पनि दृष्टिकोणले सङ्घीयता असफल सिद्ध भएको उहाँको तर्क थियो ।
सङ्घीयता नफाले कालान्तरमा यसले देशलाई भड्खालोमा हाल्ने भन्दै उहाँले विकास र समृद्धिका निम्ति स्थानीय तहलाई मजबुत बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

कार्यक्रममा राजमो लुम्बिनी प्रदेश समितिका सल्लाहकार शेरबहादुर बिसी, केन्द्रीय सदस्य तथा भूमिकास्थान नगरप्रमुख झबिलाल थापा, अखिल नेपाल महिला सङ्घकी महासचिव शकुन्तला राना, राजमो अर्घाखाँचीका अध्यक्ष थम्मन केसी, नेता सागर केसी, अखिल नेपाल बुद्धिजीवी सङ्घका अध्यक्ष कमलप्रसाद घिमिरे र राष्ट्रिय जनमोर्चा जिल्ला सचिवालय सदस्य देवेन्द्र कुँवरलगायतले सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै उहाँहरूले मसानघाटमा अन्तिम संस्कार गरिसकिएको राजा ब्युताउने कुरा दिवासपना मात्रै हुने तर्क गरेका गर्नुभयो ।
सङ्घीयताको खारेज गरी मुलुकको विकास र समृद्धिको निम्ति सबै गोलबन्द हुनुपर्ने उनीहरूको जोड रहेको छ ।

काङ्ग्रेस, एमाले र माओवादीलगायतका पार्टी राष्ट्रघात गर्नको लागि तँछाडमछाड गर्ने गरेको नेताहरूको आरोप छ ।
अहिलेको सरकार जनताका लागि नभएर अपराधी, भ्रष्टाचारी, शैक्षिक माफिया र भूमाफियाको लागि बनेको उहाँहरूको आरोप थियो ।
राजमो भूमिकास्थान नगर समितिका अध्यक्ष हिमलाल बन्जाडेको अध्यक्षता, भूमिकास्थान–१ का वडासमिति अध्यक्ष हिमलाल खनालको स्वागत मन्तव्य र भूमिकास्थान–२ का वडासमिति अध्यक्ष नारायण खनालको सञ्चालनमा उक्त कार्यक्रम अघि बढेको थियो ।

राजमो जिल्ला सचिव तथा भूमिकास्थान–४ का निर्वाचित वडाध्यक्ष बाबुराम पन्थी, वडा नम्बर २ का अध्यक्ष बुद्धिबहादुर थापा, वडा नम्बर ३ का अध्यक्ष कृष्णप्रसाद बन्जाडे, कार्यपालिका सदस्य माधवा वेल्वासे, केशरा परियार, अखिल (छैठौं) का केन्द्रीय सचिव जिवन नेपालीलगायतका नेताहरूको आतिथ्य रहेको थियो ।

