काठमाडौँ । भारत र पाकिस्तानले एकअर्कामाथि युद्धविराम उल्लंघन गरेको आरोप लगाएका छन् ।
शनिवार राति भारत–प्रशासित कश्मीरमा धेरैवटा विस्फोटनको आवाज सुनिएपछि भारतका विदेशसचिव विक्रम मिसरीले पाकिस्तानले सहमति उल्लंघन गरेको आरोप लगाए।
त्यसको केही समयपछि पाकिस्तानको विदेश मन्त्रालयले ‘केही क्षेत्रमा भारतले सहमति भङ्ग गरिरहेको’ प्रत्यारोप लगायो।
भारत र पाकिस्तानबीच गत बुधबार मध्यरापछि चलेको लडाइँपछि संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले शनिबार सामाजिक सञ्जाल ‘ट्रूथ सोशल’मा युद्धविरामको सहमति घोषणा गर्दै त्यसका लागि अमेरिकाले मध्यस्थता गरेको बताएका थिए।
पछि भारत र पाकिस्तानका अधिकारीहरूले सहमति भएको पुष्टि गरे। पाकिस्तानका विदेशमन्त्रीले सहमतिमा पुग्न ‘तीन दर्जन देशहरू’को कूटनीतिक संलग्नता भएको बताए।
भारतका विदेश सचिव मिसरीले पनि दुवै पक्षबीच पाँच बजेपछि नै गोलीबारी र सैन्य कारबाही रोक्ने सहमति भएको बताएका थिए।
तर त्यसको केही घण्टापछी भारत प्रशासित कश्मीरका श्रीनगर र जम्मू क्षेत्रमा विस्फोटनको आवाज सुनिएको र आकाशमा उज्यालो र चम्किलो बस्तुहरू देखिएको स्थानीयलाई उदृत गर्दै बीबीसीले भनेको छ ।
भारत प्रशासित कश्मिरको पहलगाममा भएको हमलामा एकजना नेपाली नागरिक सहित २६ जना मारिएपछि उत्पन्न दुई हप्ता लामो तनावपछि भारत र पाकिस्तानबीच पछिल्लो संघर्ष सुरु भएको थियो।
२२ एप्रिलमा भएको आक्रमणबाट बाँचेकाहरूले आक्रमणकारीहरूले हिन्दू पुरुषहरूलाई छानीछानी मारिदिएको बताएका थिए।
बुधबारदेखि सुरु भएको सीमापार भारतीय आक्रमणमा पाकिस्तान र पाकिस्तान शासित कश्मीरमा ३६ जना मारिएको पाकिस्तानले जनाएको छ भने भारतीय सेनाले पाकिस्तानी हमलाका कारण कम्तीमा २१ जना सर्वसाधारण मारिएको बताएको छ।