ताराप्रसाद शर्मा, बागलुङबजार ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद चित्रबहादुर केसीले लोकतन्त्र र गणतन्त्रको विकल्प राजतन्त्र हुनै नसक्ने ठोकुवा गर्नुभएको छ ।
केसीले जनताको लामो बलिदानीपूर्ण सङ्घर्षबाट राजन्त्रको अन्त्य भई लोकतन्त्र र गणतन्त्र स्थापना भएकाले अब राजतन्त्र फर्काउ्रँछौँ भनेर कुर्लनु जनता र देशको चाहना विपरीत हुने बताउनुभयो ।
अध्यक्ष केसी ‘प्रतिगामी खतरा विरुद्ध सङ्घर्ष गरौँ, गणतन्त्रको रक्षा गरौँ’ भन्ने नाराका साथ केन्द्रीय सङ्घर्षको कार्यक्रमअन्तर्गत २०८२ वैशाख २६ गते शुक्रबार बागलुङ बजारमा आयोजित विरोधसभामा बोल्दै हुनुहुन्थ्यो ।
उहाँले प्रतिगामी तत्त्व र राज्य सञ्चालन गर्नेहरूबाट देश सङ्कटमा पर्दै गएको आरोपसमेत लगाउनुभयो ।
जनता र देशको हितमा राज्य सञ्चालन गर्नेहरूले काम गर्न नसकेका कारण राजतन्त्रवादी सलबलाउन थालेको बताउँदै केसीले लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षताको रक्षाका लागि राष्ट्रवादी शक्तिहरू एक ठाउँ हुनुपर्ने बेला आएको उल्लेख गर्नुभयो ।
राजनैतिक दलबिचको मतभेद भएता पनि परिवर्तनको हरेक आन्दोलनमा राष्ट्रवादी शक्तिहरू एक ठाउँमा उभिएको स्मरण गर्दै केसीले अब पनि एकजुट भएर प्रतिगामी खतराका विरुद्ध सङ्घर्ष गर्नुपर्ने अवस्था आएको बताउनुभयो ।
उहाँले सङ्घीयताका कारण देशको आर्थिक अवस्था कमजोर बन्दै गएकाले यसको खारेज आवश्यक रहेकोमा जोड दिनुभयो ।
गणतन्त्रमाथि खतरा बढ्नुमा राजावादी शक्ति मात्रै जिम्मेवार नभई अहिलेसम्म सत्तामा रहेर नागरिकको चाहनाअनुसार काम गर्न नसक्नु, भ्रष्टाचार बढ्दै जानु, नागरिकले सुशासनको प्रत्याभूति हुने गरी सुधार गर्न नसक्नु पनि जिम्मेवार रहेको उहाँको भनाइ थियो ।
सत्तासिन पार्टीहरूले आफूलाई सिद्धान्तमा गणतन्त्रवादी घोषणा गरे पनि शासन गर्ने कार्यशैली र व्यवहारले गणतन्त्रप्रति जनताको विश्वास घट्दै गएकोमा उहाँको चिन्ता थियो ।
कार्यक्रममा राजमोका पूर्व केन्द्रीय सचिव कृष्ण अधिकारी, जिल्ला समन्वय समिति बागलुङका प्रमुखसमेत रहनुभएका राजमोका केन्द्र्रीय सल्लाहकार र राजमो नेता भीमसेन वनले पनि मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रम राजमो जिल्ला अध्यक्ष तिलक थापाको अध्यक्षता, सचिवालय सदस्य लक्ष्मी बास्कोटाको स्वागत र सचिव भीमलाल पोखरेलको सञ्चालनमा अगाडि बढेको थियो ।
राजमो बागलुङले यही वैशाख २० गतेदेखि पालिकास्तरीय विरोध कार्यक्रम सञ्चालन गरेको थियो ।