बर्दघाट (नवलपरासी) । गणतन्त्र रक्षका लागि राष्ट्रिय जनमोर्चाले सञ्चालन गरेको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत नवलपरासी पश्चिमका विभिन्न स्थानमा खबरदारी सभाहरू सम्पन्न भएका छन् ।
राजमो जिल्ला समिति नवलपरासीले वैशाख २५ गते बर्दघाट नगरपालिकाका विभिन्न स्थानमा कोणसभाको आयोजना गरेको हो ।
बर्दघाट नगरपालिका वार्ड नं १ को माकर मोतिबस्ति चोक, पाल्पाली चोक, वार्ड नं ५ को बण्डाघोला जितपुर, विद्युत पूर्वटोल, सखुवानी, बेलानीको गुराँसचोक र शुक्रवस्ती चोक, वार्ड नं १४ धर्मवस्ती र वार्ड नं १६ को शूर्यनगर शान्तिचोक लगायतका स्थानमा कोणसभाहरू सम्पन्न भएका थिए ।
कोणसभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश सदस्य तिलकप्रसाद सुवेदीले प्रतिगामी खतरासँगै देशको राष्ट्रियताको रक्षा र संघीयता खारेजीका लागिल संघर्ष गर्नुपर्नेमा जोड दिनुभयो ।

‘नेपाली जनताको वलिदानबाट प्राप्त गणतन्त्र, धर्मनिरपेक्षता लगायतका उपलब्धिहरूको रक्षाको दायित्व पनि नेपाली जनताकै हो’ सुवेदीले भन्नुभयो, ‘संघीयताको खारेजी र भ्रष्टाचार नियन्त्रणका लागि जनता आन्दोलित हुनुको विकल्प छैन ।’
साथै उहाँले नेपाली जनता इमान्दार, अनुशासित, सिद्धान्तनिष्ठ पार्टी राष्ट्रिय जनमोर्चामा आबद्ध हुन आग्रह गर्नु भयो।
ति कोणसभामा नेपाल कम्युनिष्ट पार्टी (मसाल) का जिल्ला प्रवक्ता रेम राना, अखिल नेपाल महिला संघकी जिल्ला अध्यक्ष सम्झना पौडेल र राष्ट्रिय जनमोर्चा बर्दघाट नगर समिति सचिव लक्ष्मण हमालले सम्बोधन गर्नुभएको थियो ।