काठमाडौँ । बूढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीले काठमाडौँ उपत्यका विकास प्राधिकरणविरुद्ध धर्ना दिएका छन् ।
मेयर अधिकारीसहित वडाअध्यक्षहरू सोमबार प्राधिकरणको अनामनगरस्थित कार्यालयमा विरोध प्रदर्शन गर्दै धर्ना बसेका हुन् ।
कार्यालयले बूढानीलकण्ठ क्षेत्रका योजनाहरूमा ढिलासुस्ती र गैरजिम्मेवारपूर्ण रवैया देखाएको नगरपालिकाको आरोप छ ।
विशेष गरी कपन क्षेत्रको डुबान समस्याप्रति प्राधिकरणले चरम लापरबही गरेको मेयर अधिकारीको आरोप छ । झण्डै तीन वर्षअघि ठेक्का दिइएको आयोजनाले दुई वर्षमै सम्पन्न गर्ने लक्ष्य राखिए पनि हालसम्म करिब ३० प्रतिशत मात्र काम भएपछि नगरपालिका प्राधिकरणविरुद्ध धर्ना बसेको हो ।
सो योजनाप्रति सम्बन्धित निकायहरू गम्भीर नभएको भन्दै बर्खामा नागरिकले डुबान, दुर्गन्ध र जनस्वास्थ्य समस्याको सास्ती व्यहोर्नु परिरहेको उल्लेख गरिएको छ।
नगर प्रमुख अधिकारीले नागरिकको अधिकार र जनसरोकारका विषयमा उदासीनता देखाउने कुनै पनि निकायको व्यवहार स्वीकार्य नहुने चेतावनी दिँदै, जबसम्म ठोस प्रतिबद्धता प्राप्त हुँदैन तबसम्म कार्यालय प्रवेश अवरुद्ध राखी धर्ना जारी राखिने बताए ।
धर्ना कार्यक्रममा बुढानिलकण्ठ नगरपालिका–१०, ११ र १२ का वडाध्यक्षहरू, पूर्वप्रदेश सांसद तथा स्थानीय बासिन्दाहरूकोसमेत उपस्थिति रहेको थियो।