• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

उपन्यासको प्राक्कथनले के भन्दछ ?

"सन्दर्भ 'कमरेड जलजला’ उपन्यास–८ "

  •   सोमबार, बैशाख २२, २०८२ मा प्रकाशित
  • मोहनविक्रम सिंह ##

    Advertisement

    प्रस्तुत उपन्यास कामरेड जलजलामा मुख्य पात्र दुईओटा छन्– कामरेड जलजला र अजित । वास्तवमा भने हो भने त्यसका मुख्य पात्र जलजला र सुन्नदा नै हुन् । उपन्यास पढ्नुभयो भने थाहा हुनेछ : अजित उपन्यासमा पूरै छायामा परेका छन् । यसरी उनको कुनै भूमिका छैन भने पनि हुन्छ तर अर्कोतिर, उनी उपन्यासमा पूरै व्याप्त छन् भने पनि फरक पर्ने छैन । यसरी उनको बारेमा भन्न सकिन्छ : उपन्यासमा उनी छन् र छैनन् पनि । यो भनाइ विरोधाभाषपूर्णजस्तो देखिन्छ तर सत्य त्यही हो । गूढ सत्य ।

    उपन्यासका कामरेड जलजला र सुनन्दा दुईओटा बेग्लाबेग्लै पात्र हुन् । उनीहरू बाह्य दृष्टिकोणले बेग्लाबेग्लै हुन् तर वास्तवमा एउटै हुन् । उपन्यासका एउटा दृष्टिविहीन पात्र बसन्तले भनेका छन्– ‘म दृष्टिविहीन व्यक्ति हु“ । त्यसैले मैले कसैको अनुहार देख्न सक्दिनँ तर कसैको अन्तरआत्मा देख्न सक्दछु । दृष्टि भएका मानिसले भन्दा मैले बढी कसैको अन्तरआत्मालाई देख्न सक्दछु । त्यसैले मैले जलजला र सुनन्दा दुवैको अन्तरआत्मा देखेको छु । मैले उहा“हरूको अनुहार नदेखेको हुनाले उहा“हरूको अनुहार एकअर्कासंग कति मिल्दछ वा मिदैनन् ? त्यो कुरा मैले भन्न सक्दिनँ तर मैले उहाँहरूको अन्तरआत्मा राम्ररी देखेको हुनाले दाबीपूर्वक भन्न सक्दछु, उहाँहरू दुवै एउटै हुनुहुन्छ र उहाँहरूका बिचमा कुनै अन्तर छैन” (यहाँ बसन्तको भनाइलाई भावार्थको रूपमा नै दिएको छ, शब्दशः होइन) ।

    सुन्नदाको अन्तमा का. जलजलामा नै रूपान्तरण हुन्छ । उनको बाल्यकालदेखि त्यही रूपमा नै अर्थात् जलजलामा रूरुपान्तरणका लागि नै विकास हुँदै आएको छ । अजितको कामरेड जलजला सम्बन्धित लेख पढेपछि उनीभित्र जलजलाको रूपान्तरणको बिजारोपण नै हुन्छ र अन्त्यमा उनी पूरै कामरेड जलजलामा बदलिन्छिन्, सायद सतीको पार्वतीको रूपमा रूपान्तरण भएजस्तै । सती र पार्वती बेग्लाबेग्लै होइनन् तर उनीहरू एउटै हुन् । उपन्यासमा त्यही कुरा जलजला र सुन्नदाबारे पनि देखाइएको छ ।

    उपन्यासको प्राक्कथनमा यो बताइएको छ, जुन कुरा व्यवहारमा सम्भव हुन्न, त्यो कुरा कल्पनाको क्षेत्रमा सम्भव हुन्छ । त्यसैले दुईओटा व्यक्तिका बिचमा एकाकार हुने कार्य व्यवहारमा सम्भव हुँदैन र उपन्यासले कल्पनाको माध्यमद्वारा त्यो कुरालाई सत्य बनाएको छ । त्यसैले त्यो एकैसाथ सत्य र असत्य दुवै हो । त्यसबाट प्रस्तुत उपन्यासमा जलजला र सुन्नदालाई यति धेरै महŒव दिनुको परिणाम हो कि त्यसको प्राक्कथनमा उनीहरू दुवैबारे विस्तृत र गहन रूपले चर्चा गरिएको छ ।

    उपन्यासको प्राक्कथनमा यो दार्शनिक सिद्धान्तमा प्रकाश हाल्ने प्रयत्न गरिएको छ : प्रत्येक व्यक्तिको, यहाँसम्म कि सामान्य प्राणी वा प्राणहीन पदार्थको पनि विश्व वा सम्पूर्ण ब्रह्माण्डसित घनिष्ट सम्बन्ध हुन्छ । यसरी महाभारतमा भनिएझैँ खालि कृष्णमा मात्र होइन, प्रत्येक व्यक्तिमा पनि विराट रूप हुन्छ । यही प्रकारले कामरेड जलजलाको पनि सम्पूर्ण विश्वसित घनिष्ट सम्बन्ध हुन्छ र उनको विराट रूप हुन्छ । उनको विराट रूप हुन्छ भन्नुको अर्थ हो– एकातिर, सम्पूर्ण विश्व उनमा अन्तरनिहित हुन्छ भने अर्कातिर, उनमा सम्पूर्ण विश्व अन्तरनिहित हुन्छ । त्यसैले उनलाई सही प्रकारले बुझ्न प्राक्कथनमा भनिएझैँ उनलाई सम्पूर्ण विश्वको परिप्रेक्ष्यमा बुझ्नुपर्दछ ।

    प्रस्तुत उपन्यास कामरेड जलजलाको आत्मकथा वा जीवनी होइन, यो उपन्यास हो । त्यसैले यसमा कल्पनाको पनि ठुलो मात्रामा प्रयोग गरिएको छ । कामरेड जलजला वास्तविक पात्र हुन् तर कल्पनाको प्रयोगले गर्दा उपन्यासकी कामरेड जलजला वास्तविक जलजलाभन्दा धेरै नै बेग्लै हुन गएकी छिन् तर उनी कल्पनाको प्रयोगले बेग्लैजस्तो देखिए पनि झन् बढी वास्तविक हुन पुगेकी छन् किनभने कल्पनाले वास्तविक जीवनमा भएको अपूर्णतालाई पूर्ण गरिदिन्छ तर सापेक्षित अर्थमा नै किनकि वास्तविक जीवनमा प्रत्येक चिज गतिशील हुन्छ र त्यो कहिल्यै पूर्ण हुँदैन ।

    विश्व अत्यन्तै विशाल छ, कामरेड जलजला एकदम सूक्ष्म । सूक्ष्म र विशाल एकअर्काका विरोधी चिज होइनन् र ती दुवै आपसमा सम्बन्धित हुन्छन् । त्यसैले एकदम सूक्ष्म देखिने जीव वा पदार्थमा पनि स्थूल वा विशाल पदार्थमा अन्तरनिहित हुन्छ । एउटा सूक्ष्म पदार्थमा पनि विशाल पदार्थ कसरी रहेको हुन्छ ? त्यसबारे प्राक्कथनमा कैयौँ उदाहरण दिइएका छन् । एउटा सूक्ष्म वीर्यबाट हात्तीजस्तो विशाल प्राणी उत्पन्न हुन्छ । त्यही प्रकारले उँट, ह्वेलमाछो, गैँडा आदि पनि सामान्य वीर्यबाट नै उत्पन्न भएका हुन्छन् । आज जुन विशाल ब्रह्माण्ड छ, त्यो पनि एउटा सूक्ष्म अणुमा विस्फोट भएर नै बनेको थियो । त्यसको विकासक्रम अहिले पनि रोकिएको छैन र अर्बौं वर्षपछि पनि त्यो लगातार फैलिँदै गएको छ । त्यो कतिसम्म फैलिने हो ? त्यो कुरा कसैले पनि भन्न सक्दैन । यी उदाहरणले बताउँछन्, सूक्ष्म पदार्थ र विशाल विश्वको बिचमा कति धेरै धनिष्ट र द्वन्द्वात्मक सम्बन्ध छ ।

    बाहिरबाट हेर्दा कुनै व्यक्ति सामान्य व्यक्तिजस्तो मात्र देखिन्छ तर त्यो खालि मानव जाति वा सम्पूर्ण प्राणी जातिको मात्र होइन, सम्पूर्ण विश्वको पनि लामो विकासक्रमको सन्तति हुन्छ । एउटा अणुमा विष्फोट भएर विश्वको उत्पत्ति नभएको भए तारा र ग्रहको निर्माणको क्रममा हावा, पानी, वनस्पती वा प्राणीको पनि उत्पत्तिका लागि अनुकूल वातावरण भएको सूर्यमण्डलमा पृथ्वीको निर्माण नभएको भए कामरेड जलजलाका पुर्खा र उनको पनि जन्म हुन सक्ने थिएन । मानव जातिको उत्पत्ति भएपछि उनीहरू संसारका विभिन्न भागमा फैलिँदै गए । त्यो क्रममा कामरेड जलजलाका पुर्खा संसारका अन्य भागमा गएर बसेको भए उनको जन्म नेपालमा हुने थिएन ।

    उनका पुर्खा संसारको कुनै भागमा जन्मेर सायद साइबेरिया, बेबिलोन, मेसोपोटामिया, कुमाउँ–गढवाल, सुदूरपश्चिम नेपाल हुँदै काठमाडौँ आएर बसेका थिए होलान् । यसरी काठमाडौँको बत्तिसपुतलीमा उनी जन्मिन र उनका बाबा चितवनमा बसाइँसराइ गरी गएको हुनाले उनी तोरीखेतमा हुर्किइन् । उनी नेपालको अन्य भागमा पनि जन्मन र हुर्कन सक्थिन् । त्यसरी उनी बत्तिसपुतलीमा जन्मनुपछाडि पनि मानव जातिको विकासक्रमको एउटा लामो इतिहास छ ।

    इतिहासका बेग्लाबेग्लै कालखण्डमा उनका पुर्खा बेग्लाबेग्लै संस्कृतिका बिचबाट अगाडि बढ्दै आएको हुन सक्दथे । आफ्नो जन्मकालदेखि उनले जुन भाषा वा संस्कृति अपनाइन, त्यो पनि लामो इतिहासको उत्तराधिकारको रूपमा उनलाई प्राप्त विषेशता नै थियो । अर्को शब्दमा, उनी आफ्ना पुर्खाको सम्पूर्ण संस्कृतिसँग जोडिएकी छिन् । सायद कुरा यहीँसम्म मात्र सीमित छैन, विश्वभरिको भाषा वा संस्कृतिसित पनि उनको सम्बन्ध रहेको छ । मानवशास्त्र वा भाषाशास्त्रका विज्ञले त्यसबारे प्रकाश हाल्न सक्दछन् ।

    माथि जुन कुरा भनियो, कुरा त्योभन्दा कैयौँ गुणा महत्त्वपूर्ण र गहन छ । उनको सम्बन्ध अतीतसित मात्र होइन, भविष्यसित पनि जोडिएको छ । विश्व आज जुन रूपमा छ, त्यो रूपमा पहिले थिएन र भविष्यमा पनि अहिलेको रूपमा रहने छैन । कामरेड जलजलाको सम्बन्ध विश्वको अतीतसित विभिन्न रूपमा रहेको कुरा त प्रष्ट नै छ । विश्वमा हुने उथलपुथल, परिर्वतन, आन्दोलन, भविष्यका इतिहास र संस्कृतिसित आदिसित पनि उनको सम्बन्ध रहनेछ ।

    कामरेड जलजला विद्या ढकालबाट जलजला बनिन् । त्यसका पछाडि पनि एउटा विशेष प्रकारको परिस्थितिले काम गरेको छ । उनी कम्युनिस्ट आन्दोलनको नजिक नआएको भए, उनले काठमाडौँमा नै कुनै नोकरी वा बेग्लै प्रकारले घरगृहस्थी गरेर बसेको भए, पार्टीको प्रशिक्षण कार्यक्रममा भाग लिन उनी बनारस नगएको भए, उनको र अजितको बिचमा प्रेम नभएको भए र पार्टी भूमिगत काम गर्न उनी थबाङ नगएको भए उनी कामरेड जलजला पनि बन्ने थिइनन् । उनको जीवन बेग्लै प्रकारले अगाडि बढेको हुन्थ्यो होला । दिल्लीको बस दुर्घटनामा उनको मृत्यु भएको हुँदैनथ्यो होला । त्यो अवस्थामा प्रस्तुत उपन्यास कामरेड जलजला लेखिदैनथ्यो होला ।

    उपन्यासमा कल्पनाको पनि धेरै नै प्रयोग गरिएको छ तर कल्पनाको त्यस प्रकारको उपयोगको उद्देश्य के हो ? त्यसमाथि प्रकाश हाल्दै प्राक्कथनमा भनिएको छ– “त्यसको मुख्य उद्देश्य वास्तविकतामाथि झन् धेरै प्रकाश हाल्नु हुनेछ । वास्तविकतालाई झन् सही, यथार्थवादी धरातलमा स्थापित गर्नु नै हुनेछ । त्यसको उद्देश्य वास्तविकतालाई ठोस रूपमा उद्घाटन गर्नु नै हुनेछ ।”

    कल्पना स्वयम् सत्य होइन किनभने त्यो खालि कल्पना मात्र हो तर सत्यसित त्यसको घनिष्ट सम्बन्ध पनि छ । कल्पनाले सत्यलाई सही परिप्रेक्ष्यमा बुझ्न मदत पनि गर्दछ । त्यो कुराको चर्चा गर्दै प्राक्कथनमा लेखिएको छ– “सत्यलाई समग्र रूपमा बुझ्नुपर्दछ । त्यसमा हुने विरोधाभास, द्वन्द्व र परिवर्तनसहित त्यसलाई बुझ्नुपर्दछ । बाहिर आउन नसकेका बिरुवालाई उम्रन र विकसित हुन मदत गर्नुपर्दछ । भित्र भित्र दबेर बसेको वा बाहिर प्रकट हुन नसकेको सत्यलाई प्रकाशमा ल्याउन मदत गर्नुपर्दछ । अज्ञात् रूपमा रहेको भविष्यलाई आत्मसात् गर्नुपर्दछ । मानिसका अन्तरआत्मामा रहेका सबै भावना, आशा, कामनालाई गति, प्रवाह र वेग दिनुपर्दछ । तिनीहरूलाई आँधी, तुफान, ज्वारभाटा वा युगान्तकारी क्रान्तिका ज्वालामा बदल्नुपर्दछ । मानिसका हृदय वा मस्तिष्कमा रहेका दुःख, पीडा, अन्याय आदि सबैलाई सुख र आनन्दमा रूपान्तरित गर्ने प्रयत्न गर्नुपर्दछ । निराशालाई आशा र भविष्यमाथि अगाध विश्वासमा बदल्ने प्रयत्न गर्नुपर्दछ । उपन्यासले त्यस प्रकारका उद्देश्यलाई कल्पनाको माध्यमद्वारा ठोस, साकार वा मूर्त रूप दिने प्रयत्न गरेको छ ।

    प्राक्कथनमा कल्पनालाई एउटा यस्तो अमोघ अस्त्रको रूपमा व्याख्या गरिएको छ, जसले वास्तविक जीवनमा सम्भव नभएका चिजलाई पनि व्यावहारिक रूप दिन सक्दछ वा व्यावहारिक रूप दिने असाधारण क्षमता राख्दछ । कैयौँ बालबालिकाको अल्पायुमा नै मृत्यु हुन्छ । उनीहरूको सम्पूर्ण भविष्यमा मृत्युले बार लगाउँछ तर त्यसरी उनीहरूको अपूर्ण रहेको जीवनलाई पनि कल्पनाले जीवनरूप प्रदान गर्न सक्दछ ।

    कैयौँ व्यक्तिको; जस्तै कि कामरेड जलजलाको वयस्क उमेरमा मृत्यु हुन्छ । त्यसपछि उनीहरूको बाँकी जीवनका कैयौँ अध्याय पूरा हुन पाउँदैनन् तर कल्पनाले ती बाँकी रहेका जीवनका पानालाई पनि पूर्णता दिन सक्दछ । त्यसरी ठोस व्यवहारमा जुन कुरा सम्भव हुँदैन, ती सबै कुरालाई कल्पनाले पूरा गर्न सक्दछ । त्यसैले उपन्यासको प्राक्कथनमा कल्पनालाई एउटा अमोघशास्त्र नै बताइएको छ, जो प्रकृति वा मानव समाजले मानवलाई दिएको एउटा ठुलो सम्पत्ति हो ।

    प्राक्कथनमा मृत्युबारे पनि बेग्लै प्रकारले प्रकाश हालिएको छ । कुनै मान्छेको मृत्यु हुन्छ तर मृत्युका साथै उसको अन्त्य हुँदैन । प्रथमत, भौतिक रूपले उसको शरीरमा भएका विभिन्न भौतिक तत्त्व कहिल्यै पनि नष्ट हुँदैनन् र उनीहरू एउटा वा अर्को रूपमा कायम रहिरहन्छन् । त्योबाहेक कुनै मृत व्यक्ति उसका सन्तान, समाज वा इतिहासमा पनि निरन्तर अगाडि बढिरहन्छन् ।

    गान्धीको मृत्यु भयो तर आफ्नो जीवनकालमा भन्दा कैयौँ गुणा शक्तिशाली रूपमा अहिले पनि जीवित छन् । मार्क्सको मृत्यु भयो तर आफ्ना जीवनकालमा भन्दा कैयौँ शक्तिशाली रूपमा अहिले पनि जीवित छन् र आफ्नो मृत्युपछि उनले आफ्नो जीवनकालमा भन्दा कैयौँ गुणा बढी र विश्वव्यापी रूपमा क्रान्तिका ज्वारभाटा ल्याइरहेका छन् वा उनका कारणले संसारमा कैयौँ उथलपुथल भइरहेको छ वा क्रान्तिकारी ज्वारभाटा उठिरहेका छन् । त्यही कुरा कामरेड जलजलाबारे पनि सत्य हो । उनको मृत्यु भयो र अब उनी हाम्राबिचमा छैनन् तर उनी एक वा अर्को रूपमा अहिले पनि जीवित छन् । त्यो कुरा संसारका प्रत्येक मानिसबारे कम वा बेसी रूपमा सत्य हो ।

    सत्य के हो र त्यो कस्तो हुन्छ ? त्यसबारे पनि उपन्यासको प्राक्कथनमा चर्चा गरिएको छ; जस्तो कि पहिले नै चर्चा गरियो, सत्य कहिल्यै पनि स्थिर वा पूर्ण हुँदैन किनभने त्यो सधैँ गतिशिल हुन्छ । त्यो कुरा सम्पूर्ण विश्वको सन्दर्भमा सत्य हो र तात्कालिक वा व्यक्तिगत सन्दर्भमा पनि ।
    एउटा अणुमा विस्फोट भएर विश्वको निर्माण भयो र अहिले पनि त्यसको लगातार विकास भइरहेको छ, कैयौँ तारा वा तारामण्डलको जन्म र मृत्युको अटुट शृङ्खलाका साथै । सत्य सधैँ गतिशील हुन्छ । त्यसकारण सत्यको कुनै रूपलाई पनि स्थिर मान्न सकिँदैन । त्यसको रूपमा लगातार परिवर्तन भइरहन्छ । आज त्यो एउटा रूपमा देखा पर्दछ, भोलि अर्को रूपमा र पर्सि अर्को रूपमा । एउटा युगका लागि एउटा सत्य हुन्छ, अर्को युगमा त्यो असत्यमा बदलिन सक्दछ । एउटा व्यक्तिका लागि एउटा कुरा सत्य हुन्छ, अर्को व्यक्तिका लागि त्यो कुरा असत्य र अर्को कुरा सत्य हुन सक्दछ । एउटै व्यक्तिका लागि पनि एउटा समयमा एउटा कुरा सत्य हुन सक्दछ र अर्को समयमा स्वयम् उसका लागि त्यो कुरा असत्य भएर अर्को कुरा सत्य हुन सक्दछ ।

    त्यही प्रकारले यो उपन्यासमा जुन कुरालाई सही वा सत्य बताइएको छ, त्यो कुरा त्यही रूप र अर्थमा सधैँ सही र सत्य हुने छैन । समाजमा हुने परिवर्तन, सामाजिक मान्यतामा हुने परिवर्तन, एउटै समयमा पनि बेग्लाबेग्लै व्यक्तिका बेग्लाबेग्लै दृष्टिकोणका आधारमा प्रस्तुत उपन्यासमा लेखिएका कुरा कति सही हुन् र कति गलत हुन् ? कति सत्य हुन र कति असत्य ? ती सबै कुरा पनि सधैँ एकै अर्थमा सही र सत्य रहने छैनन् र तिनीहरूप्रतिका बेग्लाबेग्लै व्यक्ति वा सामाजिक धारणामा परिवर्तन हुँदै जानेछ । त्यो कुरा जे भए पनि बेग्लाबेग्लै प्रकारका समर्थन वा विरोधका बिचमा कामरेड जलजलाको व्यक्तित्वको लगातार विकास हुँदै जानेछ किनभने कुनै व्यक्तिप्रतिको समर्थनले मात्र होइन, त्यसप्रतिको विरोधले पनि कुनै व्यक्तित्वको विकासमा धेरै मदत पुग्दछ । मार्क्स र लेनिनको नै कुरा गरौँ, उनीहरूका समर्थकका कारणले मात्र होइन, उनीहरूका विरोधीले उनीहरूमाथि गरेका आक्रमणका कारणले पनि उनीहरूको व्यक्तित्व धेरै माथि उठेको छ ।

    उपन्यासको प्राक्कथनमा यो कुराको उल्लेख गरिएको छ कि कुनै पनि व्यक्तिका हजारौँ, लाखौँ, करोडौँ आयाम हुन्छन् । एउटा व्यक्तिभित्र त्यही प्रकारले असख्य प्रकारका व्यक्ति अन्तरनिहित भएका हुन सक्दछन् तर ती सबै कहिल्यै पनि प्रकट हुन पाउँदैनन् । आखिरमा एउटा व्यक्तिले खालि एउटै जीवन बाच्न सक्दछ । व्यावहारिक जीवनमा त्यही कुरा सत्य हुन्छ तर कल्पनाको माध्यमद्वारा कुनै व्यक्तिका अस्तित्वमा आउन नसकेका वा विकसित हुन नपाएका कैयौँ व्यक्तित्वलाई पनि मूर्त रूप दिन सकिन्छ । त्यस सन्दर्भ कामरेड जलजलाको बारे पनि सत्य हो । उनीभित्र असङ्ख्य व्यक्तित्व अन्तरनिहित थिए तर अरू सबै मानिसले झैँ उनले खालि एउटा जीवन मात्र बाँच्न सकिन् र त्यो पनि पूर्ण रूपले होइन । व्यावहारिक रूपमा त्यही कुरा सत्य हो तर उपन्यासले कल्पनाको माध्यमद्वारा उनका अस्तित्वमा आउन नसकेका व्यक्तित्वलाई पनि मूर्त रूप दिन सक्दछ । अल्पायुमा उनको मृत्यु भएर अगाडि आउन नसकेका जीवनका पक्षलाई पनि मूर्त रूप दिन सक्दछ । उपन्यासले कामरेड जलजलालाई त्यसरी नै मृत्युपछि पनि उनका जीवनका बाँकी पक्षको उद्घाटन गर्ने वा तिनीहरूलाई पूर्ण रूप दिने प्रयत्न गरेको छ, यद्यपि सापेक्ष अर्थमा किनभने निरपेक्षमा संसारमा कुनै पनि चिज कहिल्यै पनि पूर्ण हुँदैन ।

    माथि जे कुरा भनियो, त्यो कुरा खालि कुनै व्यक्तिको व्यक्तित्व वा जीवनबारे मात्र सत्य होइन, जीवनका अन्य कैयौँ पक्षबारे पनि त्यो कुरा सत्य हो । कुनै मानिसले लेख, कविता, उपन्यास वा महाकाव्य लेख्न थाल्दछ । त्यसो गर्ने बेलामा कुनै व्यक्तिको मस्तिष्कमा हजारौँ, लाखौँ भाव देखा पर्दछन् तर ती सबैले शब्दको रूप लिन पाउँदैनन् । कैयौँ भाव आउँछन् र जान्छन् तर केहीले मात्र शब्दको रूप लिन पाउँछन् । जब मानिसले बाटो हिँड्नका लागि पाइला सार्दछ, त्यो बेला पनि त्यही कुरा सत्य हुन्छ । एउटा मानिसले एउटा मानिसका अगाडि हिँड्नका लागि कैयौं बाटा हुन्छन् । कुनै मानिसले कुनै बेला एउटा बाटो मात्र हिँड्न सक्दछ । बाटो हिँड्ने बेलामा कुनै पाइलो उठाउँदा टेक्नका लागि कैयौँ वैकल्पिक स्थान हुन्छन् र कुनै व्यक्तिले एकपटकमा एउटा पाइला मात्र टेक्न सक्दछ ।

    व्यवहार सधैँ वर्तमानसित नै जोडिएको हुन्छ तर कल्पनाको क्षेत्र त्योभन्दा कैयौँ गुणा विशाल, उच्च र व्यापक हुन्छ । त्यसले खालि त्यो कुरा मात्र देख्दैन, जो हाम्रा अगाडि छ, हाम्राअगाडि नभएको दूर क्षितिजमा भएको चिजलाई पनि त्यसले आत्मसात गर्ने प्रयत्न गर्दछ । सूदूर भविष्यमा रहेको चिजलाई पनि त्यसले प्रत्यक्ष रूपले ग्रहण गर्ने प्रयत्न गर्दछ । त्यही काल्पनिक पद्धतिलाई उपन्यासले अपनाएको छ र त्यसरी त्यसले कामरेड जलजलाका पूरा हुन नपाएका जीवन वा व्यक्तित्वका बेग्लाबेग्लै पक्षलाई पनि उद्घाटन गर्ने प्रयत्न गरेको छ । त्यसरी उपन्यासकी कामरेड जलजला वास्तविक र काल्पनिक दुवै हुन्छिन् । उनी सत्य पनि हुन्छिन् तर सत्य हुँदाहुँदै उनी काल्पनिक पनि अर्थात् असत्य तर काल्पनिक हुँदाहुँदै पनि उनी झन् बढी वास्तविक र सत्यको झन् बढी नजिक हुन्छिन् । त्यसरी उनको व्यक्तित्वमा सत्य र असत्य दुवै एकैसाथ मिलेको पाइन्छ । उपन्यासमा जलजलालाई त्यसरी नै चित्रण गर्ने प्रयत्न गरिएको छ ।

    प्राक्कथनमा जन्म र मृत्युको सम्बन्धबारे पनि गहन र द्वन्द्वात्मक प्रकारले चर्चा गर्ने प्रयत्न गरिएको छ । जन्म र मृत्यु एकअर्कोसित सम्बन्धित हुन्छन् र ती दुवैको प्रभाव लगातार अगाडि बढिरहेको हुन्छ । प्रथमतः यो कुरा सत्य हो कि प्रकृति, वनस्पती, समाज र मानव जातिमा पनि मृत्यु सधैँ व्याप्त रहन्छ । अन्तरिक्षका ताराको जन्म हुन्छ तर उनीहरूको पनि अन्त्यमा मृत्यु हुन्छ । व्यक्तिका बिचमा ता त्यो कुरा आम रूपमा नै सत्य हो । कैयौँ पल्ट कैयौं प्रजातिको पनि अन्त्य हुन्छ ।

    अहिलेसम्म मानव जातिका कैयौँ प्रजातिको उत्पत्ति भएको छ र त्यसका साथै उनीहरू सम्पूर्ण रूपले समाप्त भएका छन् । डायनासोरजस्तो प्राणीले करोडौँ वर्षसम्म पृथ्वीमा राज गऱ्यो तर एक दिन त्यसको पनि अन्त्य भयो । त्यही प्रकारले हाम्रो मानव जाति कहिलेसम्म रहनेछ र कहिले त्यसको अन्त्य हुनेछ र कसरी त्यसको अन्त्य हुनेछ ? त्यो कुरा हामीले भन्न सक्दैनौँ तैपनि यो कुरा निश्चित छ, लाखौँ वा करोडौँ वर्षजतिमा भए पनि एक पल्ट त्यसको अन्त्य हुनेछ । मृत्यु संसारका प्रत्येक चिजमा व्याप्त छ । त्यो कुन बेला कताबाट र कुन रूपमा आउँछ ? त्यो भन्न सकिन्न तर जताबाट र जुन रूपमा भए पनि त्यो आउँछ र एक दिन त्यो निश्चित रूपले आउँछ । त्यसरी जीवन सधैँ मृत्युका साथमा लडीबुडी गर्दै वा खेल्दै नै अगाडि बढ्छ ।

    वास्तविमा जीवन सम्पूर्ण ब्रह्माण्डका एउटा अत्यन्त सानो र सूक्ष्म भाग पृथ्वीमा मात्र उपलब्ध छ । वैज्ञानिकले खोजिरहेका छन् र अन्य ग्रहमा पनि जीवनको सम्भावनालाई पूरै अस्वीकार गर्न सकिन्न तर अहिलेसम्म त्यो अज्ञात छ र खालि हाम्रो पृथ्वीमा मात्र जीवन उपलब्ध छ । त्यस अर्थमा पृथ्वी धेरै भाग्यशाली ग्रह हो र त्यसमा विद्यमान प्रकृतिको अमूल्य निधि ।

    जीवन र मृत्युको यो सिलसिला प्रकृतिमा पनि निरन्तर चलिरहन्छ । संसारका कैयौँ ठुल्ठुला महासागर समाप्त भएर त्यहाँ अग्ला पर्वत शृङ्खला निर्माण हुन्छ† जस्तै कि टेथिस सागरको अन्त्य भएर हिमालय निर्माण हुन्छ । कैयौँ सहर पानीमा डुब्छन् र तिनीहरूको अस्तित्व समाप्त हुन्छ । संसारमा कैयौँ वनस्पती वा जीवको अन्त्य हुँदै गइरहेको छ । भूकम्प वा बाढीपहिरोले पृथ्वीको कैयौँ संरचनामा परिवर्तन हुन्छ । कैयौँ महाद्वीप एकअर्काबाट छुट्टिने वा एकअर्कामा जोडिने प्रकृया पनि चलिरहेको हुन्छ । अहिले पृथ्वीको जुन भूगोल छ, त्यो करोडौँ वर्षको विकासक्रमको परिणाम हो । निश्चित छ कि अरू करोडौँ वा अरबौँ वर्षमा पृथ्वीको अहिलेको भौगोलिक स्वरूपमा कैयौँ र गम्भीर प्रकारका परिवर्तन हुँदै जानेछन् । त्यही प्राकृतिक प्रक्रियाको एउटा अंश मानव जातिको जीवन र मृत्युको प्रक्रिया पनि हो तर त्यो अवस्थामा पनि हामी बाँच्नुपर्दछ र जीवनलाई सुखी र सुन्दर बनाउने प्रयत्न गर्नुपर्दछ । उपन्यासले त्यही कुरामा जोड दिन्छ । मृत्युका बिचमा पनि हाँस्दै जीवित रहने कुरामा उपन्यासले जोड दिन्छ ।

    सोमबार, बैशाख २२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति
    मुन्धुम पैदलमार्ग र प्रिय सुदीप
    जुन गाउँले मलाई धेरै दियो
    जीवन र मृत्यु
    बाल स्रष्टाहरूको सिर्जनात्मक उत्सव सम्पन्न, सिर्जना डबलीको वेबसाइट विमोचन
    ‘१२ मे’ नाटक भदौ २१ गते मञ्चन हुने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.