कल्पना पौडेल ‘जिज्ञासु’ ##
दीपक एकदमै गरिब परिवारमा जन्मिएको थियो । त्यही गाउँको धनी मुखियाको छोरा अनिल र दीपक एउटै स्कुलमा पढ्थे । दीपकका बुबाआमा मुखियाको घरमा निमेक गरेर गुजारा चलाउँथे ।
एक दिन दीपकका बुबा घाँस काट्दा रुखबाट चिप्लिएर भुँइमा लडे । उनका खुट्टा भाँचिए । बल्ल बल्ल बोकेर घरको पिँढीमा सुताए परिवारका मानिसले ।
दीपककी आमा औषधीमुलो गर्ने पैसा आफूसँंग नभएकाले मुखियासँग माग्न दीपकलाई लिएर गइन् । दीपककी आमाले मुखियासँग औषधी गर्ने खर्च मागिन् तर मुखियाले पैसा दिन मानेनन् । दुवै जना निराश भएर घर फर्के । उपचार नपाउँदा केही दिनमा बाबुको मृत्यु भयो ।
दीपकलाई पढ्न र घरखर्च चलाउन निकै गाह्रो भयो । आमा दिनभर काममा जान्थिन् । त्यो पैसाले दीपकलाई कापीकलम र स्कुलपोसाक जुटाउन मुस्किल पऱ्यो । दीपक टालो हालेको कपडा लगाएर खाली खुट्टा स्कुल जान्थ्यो । उसलाई साथीहरूले जिस्काउँथे, हेप्थे ।
ऊ गरिब भए पनि पढाइमा निकै जेहेन्दार थियो । जहिले पनि स्कुलमा स्कुल प्रथम हुन्थ्यो । उसको मिहिनेत देखेर शिक्षक खुसी थिए । ऊ उपल्लो कक्षामा जान्थ्यो तर खर्च जुटाउन झन् झन् गाह्रो हुन्थ्यो ।
आफ्नो खर्चका लागि अन्डा दिने कुखुरा पालेको थियो । दिनहुँ अन्डा लिएर स्कुल नजिक पसलमा बेच्थ्यो र त्यही पैसाले कापीकलमको व्यवस्था गर्थ्यो । यसरी दीपक विद्यालय शिक्षा पार गरेर छात्रवृत्तिमा नाम निकालेर पढ्न सहर गयो ।
यता, मुखियाको छोरा अनिल पढ्न अल्छी थियो । सधैँ फेल हुन्थ्यो । मुखियाले जबर्जस्ती मास्टरलाई भनेर पास गराउँदै क्लास चढाएका थिए । पछि पढाइ त्यत्तिकै छोडेर जुवातासको लतमा फस्यो । बाउको सम्पत्ति हिनामिना गऱ्यो ।
यता, केही वर्षपछि दीपक डाक्टर बनेर गाउँमा फर्क्यो । उसलाई आफ्नै गाउँमा दुखीगरिबको सेवा गर्ने इच्छा भयो । आमा बुढी भएकी थिइन । दुःखले पढाएको छोरा डाक्टर बनेर आउँदा आमा अत्यन्तै हर्षित थिइन् । मुखियाका बुढाबुढी रोगले ग्रस्त थिए । सम्पत्ति सबै अनिलले सकेको थियो ।
दीपक भेट्न भनेर घर जाँदा त्यो दयनीय अवस्थाको पुरानो घटना याद आयो । आफ्नो बुबालाई उपचार गर्न ऋण माग्दा नदिएको र बुबाको मृत्यु भएको सम्झेर आखाँबाट आसु झऱ्यो । ती अशक्त बुढाबुढीले त्यस्तो गरिबको छोरा आज पढेर डाक्टर बनेर आएको देखेर अचम्म परे ।
दीपक घर आएर आमासँग सबै कुरा गऱ्यो ।
आमाले भनिन्– हो बाबु । सारा सम्पत्ति छोराले सक्यो । साह्रै दुःख पाएका छन् । बिरामी पनि छन् । उनीहरूले हामीलाई सहयोग नगरेका भए पनि छोरा बैगुनीलाई गुण लगाउनुपर्छ । जा बाबु, उपचार गराई धर्म लाग्नेछ । उनीहरू सम्पत्तिका धनी थिए । मनका गरिब तर हामी धनका गरिब भए पनि मनका धनी छौँ । अब त तैँले कमाएर धनका पनि धनी भएका छौँ ।
आमाको कुरा सुनेर दीपकले ती बुढाबुढीको उपचार गऱ्यो । निको भएपछि आफ्नै संरक्षणमा रेखदेख गरेर पाल्ने निर्णय लियो । मुखियालाई अहिले आफूले गरेको अपमान र अविश्वास सम्झेर आत्मग्लानि भयो ।