दार्चुला । दार्चुलाको सदरमुकाम खलङ्गास्थित वीरेन्द्र वनको पारिपट्टिको नेपाली भूमिमा भारतले एकतर्फी तटबन्ध निर्माण गरेको छ ।
विसं २०७० को बाढीपछि भारततर्फ परेको नेपाली भूमिमा भारतले तटबन्ध निर्माण गरिरहेको हो ।
नेपाली भूभागमा भारतीय पक्षबाट एकतर्फी रूपमा तटबन्ध निर्माण भइरहेकाले त्यसलाई अविलम्ब रोक्न स्थानीय राजनीतिक दल तथा बासिन्दाले सरकारको ध्यानाकर्षण गराएका छन्।
महाकाली नगरपालिका–४ र ५ भएर बग्ने महाकाली नदी किनारमा छिमेकी भारतले तटबन्ध निर्माण गरिरहेको छ। नेपाली भूमिमात्र नभई नदीको धार नै परिवर्तन हुनेगरी तटबन्ध निर्माण जारी रहेकाले त्यसलाई रोक्न प्रमुख जिल्ला अधिकारी अनिल पौडेलमार्फत परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाइएको एमाले जिल्ला कमिटी अध्यक्ष ज्ञानेन्द्र घर्तीले बताए।
महाकाली नदीको गल्फैपारि र खुलामञ्चपारिको क्षेत्रमा अन्तर्राष्ट्रिय सीमारेखा मिचेर तटबन्ध निर्माण भइरहेको स्थानीयको भनाई छ ।
भारतले निर्माण गरिरहेको तटबन्धका सम्बन्धमा तत्काल कूटनीतिक पहल थाल्न आफूले पत्राचार गरेको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए। उनले आफू निरन्तर भारतीय समकक्षीहरुसँग सम्पर्कमा रहेको बताउँदै निर्माण रोक्न आग्रह गरेको जानकारी दिए। रासस