भीमदत्तनगर । महेन्द्रनगरस्थित महाकाली नदीमा बनेको चार लेनको पक्की पुल पर्यटकको रोजाइमा परेको छ ।
महाकालीपारिको बस्ती दोधाराचाँदनी जोड्ने यो पुलसँगै महाकाली नदीकिनारमा बनेको आठ किलोमिटर सडक पर्यटकका लागि आकर्षणको केन्द्र बनेको हो ।
पुलसँगै बनेको सडक ‘भाइरल रोड’ ले परिचित छ । अहिले महेन्द्रनगर पुग्ने आगन्तुक तस्बिर खिच्न र भिडियो बनाउन महाकाली चार लेन पुल पुग्ने गरेका छन् । पुल अवलोकनका लागि यहाँ आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ ।
पुल अवलोकन गर्न आएका शुक्लाफाँटा नगरपालिका–१ का मदन रानाले सामाजिक सञ्जालबाट महाकाली पुलबारे थाहा पाएपछि परिवारसहित यहाँ घुम्न आएको बताउनुभयो ।
‘फेसबुक र टिकटकमा धेरैले यहाँको फोटो/भिडिओ राखेको देखेर मलाई पनि आउन मन लाग्यो’ उहाँले भन्नुभयो–’साँझका बेला यहाँ घुम्न अत्यन्त रमाइलो ठाउँ रहेछ ।’
पछिल्लो समय यहाँ फोटो र भिडियो बनाउनेको भीड लाग्ने गर्छ । स्थानीयका अनुसार यहाँ छिमेकी मुलुक भारतबाट पनि पर्यटक आउने गरेका छन् ।
पुलमा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने गरेको स्थानीयवासी अमिर तिरुवा बताउँछन् ।
‘यहाँ महेन्द्रनगर, भारतीय सीमावर्ती सहर र बाहिरी जिल्लाबाट पनि मानिस आउने गरेका छन्’ उहाँले भन्नुभयो– ‘पछिल्लो समय दोधारा चाँदनी झोलुङ्गे पुल जाने पर्यटक पनि यहाँ पुग्ने गरेका छन् ।’
उहाँले यहाँ विभिन्न म्युजिक भिडियोसमेत छायाङ्कनका हुने गरेको बताउनुभयो ।
पुलबाट महाकाली नदी, दोधारा चाँदनी झोलुङ्गे पुल, शारदा ब्यारेजको अवलोकन गर्न सकिन्छ । साँझका बेला सूर्यास्तको सुन्दर दृश्यलाई पृष्ठभूमिमा राखेर पुलबाट तस्बिर कैद गर्न सकिने भएकाले पनि साँझको समय फोटो खिच्नेको भिड नै लाग्ने गरेको छ । २०७४ देखि निर्माण सुरु भएको पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आए पनि पुलसँगै बन्ने अन्य संरचना निर्माणाधीन अवस्थामा छन् ।
पुललाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न महाकाली पुल आयोजना कार्यालय महेन्द्रनगरले पुलसँगै चारओटा पोखरी निर्माण गर्न लागेको छ । त्यसकै छेउछाउमा पाँच हजार बिरुवा रोप्ने योजना छ । महाकाली नदीमा पुल निर्माण गरिरहेको कुमार सिएफइसी जेभीका इन्जिनियर किशोरराज पाण्डेयले पुलसँगै महाकाली नदी किनारमा पर्यटकलाई आकर्षित गर्न टापुसहितका चारओटा पोखरी निर्माण हुन लागेको जानकारी दिनुभयो ।
‘पुलको वारिपारि चारओटा पोखरी निर्माण हुन्छन् । त्यसमा टापु पनि छ । पर्यटकले बोटिङ गरेर त्यो टापुमा जान सक्छन्” उहाँले भन्नुभयो–’पोखरीसँगै हरियाली बनाउन पाँच हजार बिरुवा रोप्छौँ । यसले पर्यटक आकर्षित हुनेछन् ।’
उहाँले पछिल्लो समय पुल अवलोकनका लागि दैनिक दुई–तीन सय जना पुग्ने गरेका बताउनुभयो ।
महाकाली पुल आयोजना कार्यालयका अनुसार पुलको उत्तरपट्टि एक वर्ग किलोमिटरभन्दा ठुला दुई तथा दक्षिणतर्फ शून्य दशमलव तीन वर्गकिलोमिटरका दुई गरी चारओटा पोखरी निर्माण हुँदैछन् । अहिले पोखरीका लागि बाँध बाँध्ने काम निर्माणाधीन अवस्थामा छ । (रासस)