काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना एमसीसी परियोजना नेपालमा नरहन सक्ने बताएका छन्।
शनिबार एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एमसीसी नेपालमा नरहे सहनुको विकल्प नहुने स्पष्ट पारेका छन् ।
‘हामी त्यति सजिलो अवस्थामा छैनौँ, विश्वव्यवस्था जुन भनिन्थ्यो, त्यो धेरै खलबलिएको छ,’ ओलीले भने, ‘एमसीसी अझै चारवटा देशमा रोकिएको छैन, हाम्रोमा पनि आउँछ कि भन्ने कतिपयको कुरा छ। त्यसो नहुन सक्छ। हाम्रोमा नआउनसक्छ। कहीँ पनि नजान सक्छ एमसीसी अब। अब एमसीसी आएन भने के गर्ने त ? हामी के गर्छौं त ? त्यसमा सहने बाहेक अरु के उपाय छ त ? सहन्छौं।’
उनले राष्ट्रहरुसँग गरिएको सम्झौता देशभन्दा पनि माथि हुने भन्दै त्यसरी रोक्ने अमेरिकी तरिका ठिक नभएको समेत टिप्पणी गरे।
‘यो ठिक तरिका होइन, राष्ट्रहरुसँग गरिएका सम्झौता आफ्नो देशभन्दा माथि हुन्छ,’ ओलीले भने, ‘तर, अमेरिकाको संसद् सिनेटले पनि पास गरेको। हाम्रो संसद्मा पनि उहाँहरुकै आग्रहमा पास गराइएको। त्यस्तो प्राजेक्ट जसमा प्रसारण लाइनका लागि हामीले जग्गा मुआब्जा दिएका छौँ। चर्कै मुआब्जा दिएका छौँ। त्यो नबन्ने हो भने त्यो के गर्ने ?’
उनले यसबाट निराश नबन्ने र सामना गर्ने जिकिर गरे ।