काठमाडौँ । सर्वहारा वर्गका नेता तथा गुरु भ्लादिमिर इल्यिच उल्यानोभ (लेनिन) को एक सय छप्पन्नौँ जन्मजयन्ती तथा नेपाल कम्युनिस्ट पार्टीको सतहत्तरौँ स्थापना दिवस देशव्यापी रूपमा मनाइएको छ ।
नेकपा (मसाल) केन्द्रीय कार्यालयको आयोजनामा २०८२ वैशाख ९ गते तदनुसार अप्रिल २२, २०२५ का दिन सो कार्यक्रम सम्पन्न भएको हो ।
मसाल केन्द्रीय कार्यालयको आयोजनामा राजमो केन्द्रीय कार्यालय भवनको सभाकक्षमा कार्यक्रम सन्पन्न भएको छ । महामन्त्री मोहनविक्रम सिंहको प्रमुख आतिथ्य तथा राजमो केन्द्रीय कार्यकारी अध्यक्ष रश्मिराज नेपालीको विशिष्ट आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा मन्तव्य राख्दै महामन्त्री सिंहले कम्युनिस्टहरू वास्तविक कम्युनिस्ट हुनुपर्ने, त्यसका लागि सबैभन्दा बढी दर्शनमा जोड दिनुपर्ने धारणा राख्नुभयो ।
उहाँले कम्युनिस्टहरू कम्युनिस्टजस्तो नभएकै कारण नेपालको र विश्व कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेको बताउनुभयो ।
नेपालमा कम्युनिस्ट कम्युनिस्टजस्तो नरहेको बताउँदै उहाँले इतिहासमा केशरजङ्ग रायमाझीले राजावादी लाइन समातेजस्तै हाल सी.पी. मैनालीको अभिव्यक्ति त्यही प्रकारको रहेको बताउनुभयो ।

कार्यक्रममा विशिष्ट अतिथि नेपाली, राजमो केन्द्र्रीय सल्लाहकार आनन्द शर्मा, अखिल नेपाल किसान महासङ्घ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मी, अखिल नेपाल जनजाति सम्मेलनका अध्यक्ष निमबहादुर बुढाथोकी, अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का कोषाध्यक्ष पुरुषोत्तम कार्की, जातीय समता समाजका महासचिव भक्त विक, प्रगतिशील पत्रकार सङ्घका महासचिव प्रकाश थापामगर, राजमो केन्द्रीय सदस्य लालबहादुर थापा र सुधा शर्मा, अखिल नेपाल शिक्षक सङ्घका केन्द्रीय सदस्य लालबहादुर भण्डारी, नेपाल पत्रकार महासङ्घ काठमाडौँका सदस्य गोविन्दकुमार शर्मा, राजमो भक्तपुरका सचिव ईश्वरी शर्मा, अखिल नेपाल महिला सङ्घ काठमाडौँकी सदस्य चन्द्रा थापा र अखिल नेपाल युवक सङ्घ काठमाडौँका मिलनसिंह ठकुरीले मन्तव्य राख्नुभएको थियो ।

मसाल ३ नं. ब्युरोका प्रवक्ता समीर सिंहको अध्यक्षता तथा मसालकै काठमाडौँ जिल्ला प्रवक्ता जगत् रेग्मीको सञ्चालनमा अघि बढेको सो कार्यक्रमा राजमो केन्द्रीय कोषाध्यक्ष मधु क्षेत्री, राजमो काठमाडौँका सचिव छवि खनाल र राजमो केन्द्रीय कार्यालय व्यवस्थापन समितिमा मदन पाण्डेको आतिथ्य रहेको थियो ।
कार्यक्रममा नेकपा (मसाल) को आजै जारी प्रेसवक्तव्य अध्यक्षता ग्रहण गर्नुभएका समीर सिंहले वाचन गर्नुभएको थियो ।










