काठमाडौँ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार आनन्द शर्माले एनजिओकरण र इसाईकरण नेपालमा जातीय समस्या समाधानमा बाधक रहेको धारणा व्यक्त गर्नुभएको छ ।
२०८२ वैशाख ३ गते बुधबार कपनमा आयोजित जनजाति सम्मेलन र जातीय समता समाजको अड्तिसौँ संयुक्त स्थापना दिवसको कार्यक्रममा मन्तव्य राख्दै उहाँले सो धारणा व्यक्त गर्नुभएको हो ।
‘एकातिर, साम्राज्यवादको इसामा नेपालमा एनजिओकरणको प्रभाव व्यापक छ’ उहाँले भन्नुभयो–’अर्कोतिर, एउटा हातमा बाइबल र अर्को हातमा चाउचाउ लिएर क्रिस्चियन धर्म आफ्नो प्रभाव फैलाउँदैछ ।’
उहाँले जनजाति र दलित समुदायमाझ एनजिओकरण र इसाईकरणको प्रभाव अत्यधिक रहेको बताउनुभयो ।
आफूहरू जनताले स्वतन्त्र तरिकाले धर्म मान्ने स्वतन्त्रताको पक्षमा रहेको बताउँदै उहाँले भन्नुभयो–’तर क्रिस्चियन धर्मको नाममा नेपालमा साम्राज्यवादी स्वार्थपूर्ति गर्ने प्रवृत्तिको विरोध गरिनुपर्दछ ।’
सामन्तवाद नेपालमा जातीय समस्या समाधानमा बाधक रहेको चर्चा गर्नुभयो ।
‘यद्यपि सामन्तवाद पुरानो स्वरूपमा छैन तर पुँजीवादको विकास पनि भइरहेको छैन’ उहाँले भन्नुभयो–’यो स्थितिको फाइदा साम्राज्यवादीले उठाएका छन् । उनीहरूले नेपालमा एनजिओकरण र इसाईकरणलाई सँगैसँगै फैलाइरहेका छन् ।’
मन्तव्यको क्रममा उहाँले देशमा प्रतिगामी खतरा बढ्दै जाँदा गणतन्त्र र धर्मनिरपेक्षतामाथि पनि खतरा उत्पन्न भएको बताउनुभयो ।
बदलिँदो परिस्थितिमा जननआन्दोलनको उपलब्धि गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न सबै एकजुट हुनुपर्ने आवश्यकतामा उहाँले जोड दिनुभयो ।