काठमाडौँ । नेपाल बार एसोसिसनको निर्वाचनमा अखिल नेपाल कानुन व्यवसायी सङ्घ (अन्ला) को प्रदर्शन सन्तोषजनक रहेको निष्कर्ष निकालिएको छ ।
२०८२ वैशाख २ गते मङ्गलबार बागबजारमा बसेको अन्ला केन्द्रीय सचिवालय बैठकले सो निष्कर्ष निकालेको हो ।
अन्लाका अध्यक्ष अधिवक्ता पदम रोकाले युगदर्शनसित भन्नुभयो– ‘आज बसेको अन्लाको सचिवालय बैठकले कतिपय कमीकमजोरीका बाबजुद बार एसोसियसनको निर्वाचनमा अन्लाको प्रदर्शन सन्तोषजनक रहेको छ ।’
गत चैत २३ गते सम्पन्न चुनावमा अन्लाका केन्द्रीय सदस्य अधिवक्ता कृष्णप्रसाद आचार्य काठमाडौँ उपत्यकाबाहिर दाङबाट उम्मेदवार हुनुहुन्थ्यो । उहाँ चुनावमा पराजित हुनुभयो ।
अन्लाले उम्मेदवारसहित साझा प्यानल नै पराजित भए पनि आफ्नो सङ्गठनको चुनावमा भूमिका सन्तोषजनक रहेको निष्कर्ष निकालेको हो ।
अधिवक्ता रोकाले भन्नुभयो– ‘यो चुनावबाट हाम्रो सङ्गठनको व्यापक प्रचार भएको छ । हाम्रो भूमिकाको बारेमा अन्य सङ्गठन तथा कानुन व्यवसायीले जानकारी पाएका छन् ।’
उहाँले आगामी वैशाख दोस्रो हप्तातिर समसामयिक राजनीतिक विषयमा छलफल गर्ने गरी अन्तरक्रिया कार्यक्रम गर्ने तयारी अन्लाले गरेको जानकारी दिनुभयो ।
उहाँका अनुसार सो कार्यक्रमको मिति र स्थान अझै ठेगान भइसकेको छैन ।
त्यस्तै, महासचिव अधिवक्ता लक्ष्मणदेव पाण्डेले अन्लाको छिट्टै केन्द्रीय समितिको बैठक बस्न गइरहेको र सो बैठकले थप कार्यक्रम घोषणा गर्ने जानकारी युगदर्शनलाई दिनुभयो ।