मोहनविक्रम सिंह ##
(यही २०८१ चैत २३ गते प्रगतिशील लेखक सङ्घले ‘कामरेड जलजला’ उपन्यासका लागि मलाई सम्मान गरेको थियो । त्यो अवसरमा मेरा तर्फबाट प्रस्तुत गरिएको लिखित मन्तव्यलाई केही परिमार्जनका साथ यहाँ प्रस्तुत गरेको छु ।)
‘कामरेड जलजला’ उपन्यास तयार पार्न मलाई पुगनपुग करिब एकचौथाइ शताब्दीको लामो समय लागेको छ । त्यो उपन्यासलाई लेख्न र काटछाँट गर्न ता मलाई लामो समय लागेको नै छ, त्योभन्दा बढी मलाई त्यो उपन्यासको तयारीका लागि नेपाल, भारत र संसारका कैयौँ देशको वस्तुगत अध्ययन, भ्रमण र त्योभन्दा बढी आत्मचिन्तनमा लागेको छ । त्यसका लागि मलाई नेपाल, भारत र संसारका कैयौँ देशका धेरै व्यक्तिबाट सहयोग प्राप्त भएको छ । त्यसरी त्यो उपन्यास व्यक्तिगत रूपमा मेरो परिश्रम मात्र होइन, ती सबैसितको सहयोग र उनीहरूसितको छलफल र विचारविमर्शको पनि सम्मिलित परिणाम हो ।
मैले यो कुरा स्वीकार गर्दछु कि उपन्यासमा कैयौँ प्रुफ मिस्टेक भएका छन्, कैयौँ समालोचक वा पाठकले त्यो कुरा औल्याउनभएको पनि छ । मैले उहाँहरू सबैलाई धन्यवाद दिँदै अर्को संस्करणमा तिनीहरूलाई सुधार्ने प्रयत्न गर्नेछु तर त्यसो गर्दा मैले त्यसका तथ्यगत वा भाषासम्बन्धी कमजोरीलाई नै सुधार्ने प्रयत्न गर्नेछु र त्यसको मूल कथावस्तु वा वैचारिक पक्षमा कुनै परिवर्तन गरिने छैन ।
मार्क्सले भनेका छन्– दार्शनिकहरूले विभिन्न प्रकारले संसारको व्याख्या गर्ने प्रयत्न गरेका छन् तर मूल प्रश्न त्यसलाई बदल्नु हो । प्रस्तुत उपन्यासले मार्क्सको त्यो कथनलाई चरितार्थ गर्ने प्रयत्न गरेको छ । त्यसअनुसार त्यो उपन्यासले सम्पूर्ण विश्व, प्रकृति, समाज र मानिसको मनोविज्ञानको अध्ययन गर्ने प्रयत्न गर्नुका साथै त्यसलाई बदल्ने दिशामा पनि जोड दिएको छ । उपन्यासको जोड विद्यमान संसारलाई बदलेर त्यसलाई उच्च धरातलमा स्थापना गर्ने तथा एउटा स्वतन्त्र, सुखी र सुन्दर मानव समाजको निर्माण गर्ने कुरामा छ । त्यसका लागि मानव जातिले हजारौँ वर्षदेखि सङ्घर्ष गर्दै आएको छ ।
यो कुरा स्पष्ट छ कि उच्च प्रकारको दार्शनिक चिन्तनका आधारमा नै त्यो उद्देश्य पूरा हुन सक्नेछ । एउटा स्वतन्त्र, सुखी र सुन्दर संसार निर्माणका लागि भइरहेको सङ्घर्षको क्रममा मानिसको दार्शनिक चिन्तनमा पनि झन्पछि झन् उच्च स्तरमा विकास हुँदै आएको छ । मार्क्सवादी–लेनिनवादी दर्शन त्यस प्रकारको वैचारिक विकासको एउटा उच्चतम् शिखर हो । प्रस्तुत उपन्यास ‘कामरेड जलजला’ ले संसारको परिवर्तन र विकासमा मात्र जोड दिन्न, त्यसका लागि एउटा दार्शनिक समझदारी पनि दिने प्रयत्न गरेको छ ।
उपन्यासको जोड सारा संसारलाई आमामय बनाउने कुरामा छ । आमाको आफ्ना सन्तानप्रतिको माया मानव समाजको सबैभन्दा श्रेष्ठ गुण हो । त्यसको आधारभूत विशेषता यो हो कि उनीहरूले निःस्वार्थ भावले आफ्ना सन्तानलाई माया गर्दछन् । बिनाकुनै स्वार्थ उनीहरूको सेवा गर्न, सबै प्रकारको कष्ट उठाउन वा त्याग र बलिदान गर्न तयार हुन्छन् । त्यसरी मानव समाजले आमाहरूको सन्तानप्रतिको मायाका रूपमा एउटा यस्तो अमोघ शक्ति प्रदान गरेको छ, जसका आधारमा सम्पूर्ण मानव समाजलाई नर्कबाट स्वर्गमा बदल्न सकिन्छ (यहाँ नर्क र स्वर्गलाई दैविक अर्थमा होइन, लौकिक र मानवीय अर्थमा नै लिइएको छ) । खालि आवश्यकता यो छ कि आमाहरूको आफ्ना सन्तानप्रति सीमित रहेको मायालाई सम्पूर्ण देश, समाज वा विश्वमा विस्तार गरिनुपर्दछ । त्यही नै प्राचीनकालदेखि संस्कृत साहित्यले जोड दिँदै आएको विश्वबन्धुत्वको भावना हो । सर्वहारा अन्तर्राष्ट्रवादले त्यो विश्वबन्धुत्वको भावनालाई अरू उच्च, ठोस र वैज्ञानिक रूपमा प्रस्तुत गरेको छ । उपन्यासको मुख्य जोड सारा संसारलाई आमामय बनाउने र त्यसरी सम्पूर्ण संसारलाई स्वर्ग बनाउने कुरामा रहेको छ । उपन्यासको कथावस्तु र पात्रलाई त्यही कुरालाई ध्यानमा राखेर निर्माण गर्ने प्रयत्न गरिएको छ ।
उपन्यासमा लक्ष्मीप्रसाद देवकोटाको यो भनाइलाई उद्धृत गरिएको छ– “सबै खोज्छन् सुख भनी, त्यो सुख कहाँ छ ? आफू मेटाई अरूलाई दिनु जहाँ छ ।”
देवकोटाको त्यो भनाइले मानिसलाई व्यक्तिगत स्वार्थको सङ्कीर्ण घेराभन्दा माथि उठेर समाजको सेवा गर्नका लागि आह्वान गर्दछ र त्यसका लागि आफूलाई बलिदान गर्नका लागि दिशानिर्देशन गर्दछ । उनको यो पनि भनाइ छ– त्यसरी प्राप्त हुने सुख नै संसारको सर्वोत्तम सुख हो तर आज समाजमा व्यक्तिगत स्वार्थ पूरा गर्ने मात्र होइन, त्यसका लागि सामाजिक हितमा कुठाराघात गर्ने मनोविज्ञान पनि धेरै नै हावी वा एक प्रकारले संसारव्यापी भएर गएको छ । उपन्यासले त्यस प्रकारको सङ्कीर्ण व्यक्तिगत स्वार्थपरायण घेराबाट माथि उठ्नुपर्ने आवश्यकतामा जोड दिन्छ । यो भन्न सकिन्छ कि त्यो एउटा काल्पनिक र आदर्शवादी सोचाइ हो तर मानव समाजको उत्थानको लागि अर्थात् विद्यमान नारकीय समाजलाई बदलेर त्यसलाई स्वर्ग बनाउनको लागि अर्को कुनै विकल्प पनि छैन ।

समाजको वा समाज मनोविज्ञानको मुख्य विशेषता यो मात्र होइन कि मानिसले आम रूपमा व्यक्तिगत स्वार्थलाई जीवनको केन्द्र बनाएर मात्र काम गर्दछन् तर मानव जातिको इतिहासलाई कुनै देशविशेषको मात्र होइन, सम्पूर्ण विश्वको इतिहासलाई सामान्य प्रकारले अध्ययन गर्ने हो भने पनि देश, समाज वा मानव जातिको हितका लागि आफूलाई सम्पूर्ण रूपले समर्पण गरेका व्यक्तिका उदाहरण पनि कम छैनन् । त्यसरी प्रस्तुत उपन्यासले यो कुरा अगाडि ल्याउने प्रयत्न गरेको छ कि लक्ष्मीप्रसाद देवकोटाको “आफू मेटाई अरूलाई दिने” सोचाइ एउटा काल्पनिक र आदर्शवादी सोचाइ मात्र होइन र संसारमा ऐतिहासिक कालदेखि नै त्यसको व्यवहारमा कार्यान्वयन हुँदै आएको छ । उपन्यासले पनि त्यस प्रकारका पात्रको चित्रण गर्ने प्रयत्न गरेको छ ।
मार्क्सवादी दर्शनले सर्वहारा विश्वदृष्टिकोणमा विशेष जोड दिन्छ । त्यसको निष्कर्ष यो हो कि कम्युनिस्टले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सम्पूर्ण मिहिनेतकश वा शोषित वर्गको मुक्तिका लागि वा पार्टी र क्रान्तिका लागि आफूलाई सम्पूर्ण रूपले समर्पण गर्नुपर्दछ । संसारमा हजारौँ, लाखौँ कम्युनिस्टले त्यसरी आफूलाई समाजको सेवाका लागि बलिदान गरेका उदाहरण पाइन्छन् तर उपन्यासले विश्व कम्युनिस्ट आन्दोलनको समीक्षा गर्दै यो देखाउने प्रयत्न गरेको छ कि अब कम्युनिस्टको विश्वव्यापी रूपमा नै त्यस प्रकारको क्रान्तिकारी आदर्शबाट धेरै नै पतन भएर गएको छ । त्यसैको परिणाम हो कि विश्व समाजवादी व्यवस्थाको पतन भएर त्यो अत्यन्त कमजोर र रक्षात्मक अवस्थामा पुगेको छ । त्यसैले उपन्यासले विश्व कम्युनिस्ट आन्दोलनको समीक्षा गर्दै त्यसलाई उच्च क्रान्तिकारी आदर्शमा स्थापित गर्नुपर्ने आवश्यकतामा जोड दिन्छ र त्यसका आधारमा विश्व समाजवादी आन्दोलनको उज्ज्वल भविष्यमाथि विश्वास प्रकट गर्दछ ।
उपन्यासको प्राक्कथनमा नै हेगेल र लेनिनका उक्तिका आधारमा यो देखाउने प्रयत्न गरिएको छ कि संसारका प्रत्येक व्यक्ति वा चिजको विश्वसित घनिष्ट सम्बन्ध हुन्छ† दुवै एकअर्काका अभिन्न अङ्ग हुन्छन् र दुवै एकअर्कामा अन्तरनिहित हुन्छन् । त्यो दार्शनिक मान्यताअनुसार सम्पूर्ण उपन्यासको संरचना तयार पार्ने प्रयत्न गरिएको छ । उपन्यासको प्राक्कथनमा नै जलजला र सुनन्दालाई उनीहरूको विश्वसितको घनिष्ट सम्बन्धका आधारमा प्रस्तुत गर्ने प्रयत्न गरिएको छ ।
उनीहरू दुवै जनाको सम्पूर्ण विश्व र प्रकृतिको विकासमा, मानव समाजको विकास समेतसित घनिष्ट सम्बन्ध रहेको छ र उनीहरू सम्पूर्ण विश्व र मानव समाजको त्यस प्रकारको विकासक्रमका सन्तति हुन् । वास्तवमा जलजला र सुनन्दा मात्र होइन, संसारका प्रत्येक व्यक्ति वा चिजबारे त्यो कुरा सत्य हो । त्यही दार्शनिक मान्यता अर्थात् व्यक्ति र विश्वका बिचमा घनिष्ट सम्बन्ध हुन्छ र कुनै व्यक्तिलाई उसको विश्वसित सम्बन्धको परिप्रेक्ष्यमा नै पूर्णत होइन किनभने संसारको कुनै पनि चिज विचार वा व्यक्ति कहिल्यै पनि पूर्ण हुँदैन ।
जलजला र सुनन्दालाई उपन्यासमा प्रस्तुत गर्ने प्रयत्न गरिएको छ । जलजलाले खालि वैचारिक रूपले मात्र सारा संसारसित आत्मसात गर्दिनन्, उनले सम्पूर्ण ब्रह्माण्ड र पृथ्वीसमेतको पनि परिभ्रमण गर्दछिन् । सुनन्दाले पनि नेपाल, भारत र संसारको ठुलो भागको भ्रमण वा अध्ययन गर्दछिन् । कुमाउँ त उनको मातृभूमि हो र त्यहाँको भूगोल, इतिहास वा संस्कृतिसित जन्मजात रूपमा नै उनको घनिष्ट सम्बन्ध रहेको छ । नेपालको भ्रमणका सिलसिलामा उनी गिरफ्तार हुन्छिन् र भैरहवा जेलमा पर्दछिन् । जेलको जीवनले उनलाई नेपालको सामाजिक र राजनीतिक जीवनको एउटा सामान्य झलक मिल्दछ । काठमाडौँ उपत्यकामा स्वयम्भू, अष्टमातृका, पशुपतिनाथ तथा त्यसपछि क्रमशः नवलपुरको ढुङ्गेयुग, बुटवलको तिनाउ नदीको छेउको रामापिथेकस, लुम्बिनी र कपिलवस्तुको बौद्ध सभ्यता, थारू, मगर, खस जातिको इतिहास, कर्णाली प्रदेशको जीवन, इतिहास र संस्कृतिसमेतको ज्ञानबाट उनलाई नेपालको विस्तृत ज्ञान प्राप्त हुन्छ । नेपालमा बस्दाबस्दै उनलाई त्यो बेलाको पञ्चायती राजको पनि धेरै नै ज्ञान हुन्छ ।
युरोपको भ्रमणका सिलसिलामा उनलाई फ्रान्सको इतिहास र संस्कृति, जर्मनीको हिटलरको फासिवाद र त्यसका विरुद्ध जनताको वीरतापूर्ण सङ्घर्ष, रुसको समाजवादी क्रान्ति र त्यसको पतन, हिटलरको आक्रमणका विरुद्ध स्टालिनग्राद र लेनिनग्रादका जनताको वीरतापूर्ण सङ्घर्ष, युनानको प्राचीन दर्शनको इतिहास र त्यहाँका इतिहासका कैयौँ गौरवमय पक्षको पनि ज्ञान हुँदै जान्छ । त्यसरी उनको जीवन खालि विशुद्ध व्यक्तिगत जीवन मात्र हुँदैन, त्यो सम्पूर्ण विश्वको एउटा ठुलो भागसित जोडिएको हुन्छ । त्यसरी उपन्यासको प्राक्कथनमा बताइए झैँ उनीहरू दुवै जना सामान्य व्यक्तिहरू मात्र भए पनि विश्वसित उनीहरूको कति धेरै र घनिष्ट सम्बन्ध रहेको छ ? उपन्यासले त्यो कुरामाथि प्रकाश हाल्ने प्रयत्न गरेको छ ।
उपन्यासले जुन क्रान्तिकारी मान्यतालाई अर्थात् संसारलाई बदल्नका लागि आफूलाई सम्पूर्ण रूपले समर्पित गर्ने मान्यतामा जोड दिएको छ, त्यसअनुसार नै पात्रको पनि चित्रण गर्ने प्रयत्न गरिएको छ । कामरेड जलजला र कामरेड अजित दुवै पार्टी र क्रान्तिका लागि सम्पूर्ण रूपले समर्पित कार्यकर्ता हुन् । सुनन्दा पनि पहिले गान्धीवादी थिइन् । त्यो बेला पनि उनी गान्धीवादी सिद्धान्त र आदर्शका लागि समर्पित कार्यकर्ता थिइन् । उनको त्यही प्रकारको उच्च र कर्तव्यपरायण चरित्रका कारणले नै उनी मार्क्सवादी–लेनिनवादी बनिन् र त्यो बेला पनि उनी सबै प्रकारका व्यक्तिगत स्वार्थभन्दा माथि उठेर पार्टी र क्रान्तिको लागि उनले आफूलाई सम्पूर्ण रूपले समर्पण गरेकी थिइन् ।
उपन्यासमा कामरेड गढवालीजस्ता पात्रको पनि निर्माण गरिएको छ, जो सबै प्रकारको परिस्थितिमा सम्पूर्ण रूपले क्रान्तिकारी सिद्धान्तप्रति सधैँ सच्चा, दृढ र प्रतिबद्ध रहन्छन् । त्योबाहेक उनमा अरू कुनै स्वार्थ हुँदैन ।
हर्के र उजेली पनि आदर्श क्रान्तिकारी पात्र हुन् । ती दुवै जना पार्टी र क्रान्तिप्रति पूरै समर्पित छन् । मैले कपिलवस्तु जेलमा लेखेको र हराएको पहिलेको एउटा उपन्यास “ओखरकोट” मा उनीहरू मुख्य पात्र थिए । अहिलेको उपन्यास कामरेड जलजलामा पनि उनीहरूको महत्त्वपूर्ण स्थान रहेको छ । मेरा अन्य कतिपय नाटक, एकाङ्की, कविता वा निबन्धमा पनि उनीहरू बारम्बार आउने गरेका छन् । उपन्यासमा त्यस प्रकारका अरू पनि कैयौँ पात्रको चित्रण गरिएको छ ।
उपन्यासमा कैयौँ वास्तविक पात्रको पनि चित्रण गरिएको छ, जसको पार्टी र क्रान्तिबाहेक अन्य कुनै पेसा रहेको छैन वा थिएन† जस्तै : कामरेड निर्मल लामा, कामरेड जयगोविन्द शाह, कामरेड चित्रबहादुर केसी, कामरेड रश्मिराज नेपाली वा कामरेड खगुलाल गुरुङ । उपन्यासमा त्यही प्रकारका अन्य कतिपय पात्रको पनि चित्रण गरिएको छ, जसले क्रान्तिकारी आन्दोलनको अखण्डित प्रवाहलाई अगाडि बढाउने काम गर्दछन् । आज विश्वमा कम्युनिस्टको पनि ठुलो पैमानामा पतन हुँदै गएको पृष्ठभूमिमा उपन्यासमा उल्लेख गरिएका त्यस प्रकारका पात्रले विशेष महत्त्व राख्ने कुरा प्रष्ट छ ।
उपन्यासमा उच्च आदर्श र क्रान्तिकारी पात्रका साथै कैयौँ नकारात्मक पात्रको पनि चित्रण गरिएको छ, जसले आज विश्व र नेपालमा पनि आफ्ना क्रान्तिकारी आदर्शबाट पतित भएका कम्युनिस्टको प्रतिनिधित्व गर्छन् । उनीहरूका लागि कुनै सिद्धान्त वा आदर्शभन्दा व्यक्तिगत स्वार्थ वा महत्त्वाकाङ्क्षा नै प्रधान हुन्छन् र त्यसका लागि उनीहरूले आफ्ना सिद्धान्त वा आदर्शलाई जुन बेला पनि छाड्न वा सौदाबाजी गर्न तयार हुन्छन् । डा. जगदीश त्यही प्रकारका एक जना प्रतिनिधि पात्र हुन् । उपन्यासमा डा. केशरजङ्गको पनि उल्लेख गरिएको छ, जो पार्टीका महामन्त्री थिए, जसले आफ्ना व्यक्तिगत स्वार्थ वा महत्त्वाकाङ्क्षाका लागि पतनको एउटा निकृष्ट उदाहरण प्रस्तुत गर्दछन् । उपन्यासमा पञ्चायती व्यवस्थाको भय वा त्रासबाट आतङ्कित भएर कम्युनिस्ट पार्टीबाट पलायन गरेका कैयौँ पात्रको पनि चित्रण गरिएको छ† जस्तै : एक जना सिडियो साहेब र शिवध्वज बस्नेत ।
उपन्यासमा दिव्याजस्ती पात्रको पनि चित्रण गरिएको छ, जसले पञ्चायती व्यवस्थाअन्तर्गत भ्रष्टाचार र दलालीद्वारा प्राप्त सम्पन्नतालाई उच्च आदर्शको रूपमा प्रस्तुत गर्दछिन् । उनको त्यस प्रकारको चरित्रले अहिलेको समाजको एउटा ठुलो अङ्गको प्रतिनिधित्व गर्दछ । दिव्याको विचार र व्यक्तित्वबाट प्रभावित भएर विद्या रोकाजस्ती एउटा क्रान्तिकारी पात्रमा पनि विचलन आउँछ । त्यसरी उपन्यासमा के देखाउने प्रयत्न गरिएको छ भने सैद्धान्तिक रूपले स्तर माथि उठ्न नसकेमा एउटा इमानदार र सच्चा व्यक्तिको पनि कसरी विचलन हुन्छ ? त्यो देखाउने प्रयत्न गरिएको छ । विद्याको त्यो उदाहरणले नेपालका हजारौँ क्रान्तिकारीको प्रतिनिधित्व गर्दछ, जसले आफ्ना निम्न सैद्धान्तिक स्तरका कारणले विभिन्न अवसरवादी धार समातेका हुन्छन् वा विभिन्न प्रकारले पलायनको बाटो समातेका हुन्छन् ।
मार्क्सवादी–लेनिनवादी नभए पनि समाजको हितको लागि समर्पित कैयौँ निर्स्वाथ कर्तव्यपरायण व्यक्तिको पनि उपन्यासमा चर्चा गरिएको छ । कौसानी आश्रमकी सरला बहन त्यस प्रकारकी एउटी आदर्श उदाहरण हुन् । उनी एउटी विदेशी युवती थिइन् तर भारतमा आएर कुमाउँका महिलामा शिक्षाको विकासको लागि उनले आफ्नो सम्पूर्ण जीवन समर्पित गरेकी थिइन् ।
विनोवा भावे प्रसिद्ध गान्धीवादी सन्त हुन् । उनले कुनै व्यक्तिगत स्वार्थको लागि होइन, समाजसेवाको लागि नै आफ्नो सम्पूर्ण जीवन समर्पण गरेका थिए । त्यही प्रकारले उपन्यासमा अरू कैयौँ गैरमार्क्सवादी, समाजवादी वा देशभक्तको पनि चर्चा गरिएको छ । तिनीहरूमध्ये फ्रान्सकी जोन अफ आर्कको नाम विशेष रूपले उल्लेखनीय छ । उनी एउटी भर्खरकी किशोरी थिइन् तर उनले आफ्नो देशको स्वतन्त्रताका लागि अङ्ग्रेजका विरुद्धको युद्धमा आफूलाई बलिदान गरेकी थिइन् ।
उपन्यासमा त्यस प्रकारका त्याग र बलिदानका अरू पनि कैयौँ राष्ट्रिय वा अन्तर्राष्ट्रिय उदाहरणको चर्चा गरिएको छ । त्यसरी उपन्यासले यो देखाउने प्रयत्न गरेको छ कि सबै मानिसले व्यक्तिगत स्वार्थका लागि मात्र काम गर्दैनन् तर देश र समाजको लागि आफूलाई बलिदान दिने मानिसको पनि संसारमा ठुलो सङ्ख्या छ । त्यसरी उपन्यासले देवकोटाले आफ्नो कवितामा बताएजस्तै संसारमा “आफूलाई मेटाई अरूलाई दिने” मानिसको पनि ठुलो सङ्ख्या छ भन्ने वास्तविकतामाथि प्रकाश हाल्ने प्रयत्न गरेको छ । त्यो समाजको उज्ज्वल पक्ष हो र जसले समाजको त्यो उज्ज्वल र आदर्श पक्षमाथि प्रकाश हाल्ने प्रयत्न गरेको छ । त्यस प्रकारको आदर्श पक्षले नै संसारको भावी उज्ज्वल पक्षको जग हाल्नेछ ।
प्रेम संसारको एउटा मेरुदण्ड नै हो । त्यसमाथि नै सारा संसार टिकेको छ भने पनि सायद अत्युक्ति हुनेछैन । मानवका बिचको सम्बन्ध प्रेममाथि नै आधारित हुन्छ । प्रेमको अभावमा संसारको स्वरूप कस्तो हुन्छ होला ? मानव समाज एक प्रकारले सुस्क र निरसजस्तै हुन्थ्यो । मानिसलाई आपसमा बाध्ने जुन डोरी छ, सायद त्यो टुट्दथ्यो होला । प्रेमको क्षेत्र अत्यन्त विस्तृत छ । प्रेमीप्रेमिका वा पति र पत्नीका बिचमा प्रेम हुन्छ । परिवारका बिचको सम्बन्ध पनि प्रेममाथि नै टिकेको हुन्छ । गाउँ, इष्टमित्र वा देशप्रति पनि प्रेमको विस्तार हुँदै जान्छ र त्यो सारा संसारप्रति पनि फैलिँदै जान्छ । प्रस्तुत उपन्यासले प्रेमलाई पनि व्यक्तिगत र सङ्कीर्ण स्वार्थको घेराभन्दा माथि उठाएर उच्च, मानवीय र दार्शनिक धरातलमा वा समाजको सेवा र परिवर्तनको महान् यज्ञमा स्थापित गर्ने प्रयत्न गरेको छ ।
सर्वप्रथम सरस्वतीको सुनन्दाप्रतिको प्रेमलाई नै हेरौँ, उनीहरू दुवैको बिचमा कुनै नाता पर्दैन तर सरस्वतीले सुनन्दालाई आफ्नी छोरीलाई जस्तै माया गर्दथिन् । उनको त्यस प्रकारको प्रेम प्रकारान्तरले “रातो लालटिन” का पात्रका बिचको पारस्परिक प्रेमसित तुलना गर्न सकिन्छ, जसको बिचमा कुनै नाता पर्दैनथ्यो तर जसले एकअर्कालाई अत्यन्त माया गर्दथे । त्यस प्रकारको माया वर्गीय र क्रान्तिकारी सम्बन्धमाथि आधारित थियो । सरस्वतीको सुनन्दाप्रतिको माया त्यस प्रकारको वर्गीय वा क्रान्तिकारी सम्बन्धमाथि आधारित थिएन तर त्यो उच्च प्रकारको मानवीय भावनामाथि आधारित थियो ।
सरस्वती पहिलेकी एउटी स्वार्थी र पिछडिएकी महिला थिइन् । त्यसैले भारतको स्वतन्त्रता सङ्ग्राममा समर्पित भएर काम गरेको हुनाले उनले आफ्नो पतिलाई पनि त्यागेकी हुन्छिन् तर पछि उनी बदलिन्छिन् र आफ्नो पतिलाई पूरै प्रेम गर्न थाल्दछिन् । त्यो प्रेम व्यक्तिगत रूपमा आफ्नो पति प्रतिको प्रेम मात्र हुँदैन, उनको भारतीय स्वतन्त्रता सङ्ग्रामप्रतिको निष्ठाप्रतिको पनि प्रेम हुन्छ । उनमा भएको उच्च मानवीय भावनाको विकासको नै परिणाम हुन्छ कि उनले आफ्ना कुनै नाता नपर्ने सुनन्दालाई पनि छोरीजस्तै मान्न थाल्दछिन् । आफ्ना पतिको आफ्नो कर्तव्यप्रतिको पूरै समर्पण र कर्तव्य, निष्ठताको प्रतिबिम्ब उनले अजितमा पनि देख्दछिन् । अजित र सुनन्दाको विवाहको बेलामा उनले प्रकट गरेको अभिव्यक्तिबाट उनको दृष्टिकोण कति धेरै मानवीय र उच्च बनेको थियो, त्यो कुराको झलक मिल्दछ । उपन्यासमा हर्के र उजेलीका बिचको प्रेम पनि पार्टी र क्रान्तिको उच्च धरातलमा स्थापित प्रेम हो । त्यही प्रकारको प्रेम जलजला र अजितका बिचको र सुनन्दाको जलजला र अजितप्रतिको प्रेम पनि हो । उनीहरू सबैका बिचको प्रेम सामान्य व्यक्तिगत जीवनको सङ्कीर्ण घेराबाट माथि उठेर उच्च क्रान्तिकारी उद्देश्यका लागि पूरै समर्पणको धरातलमा स्थापित भएको हुन्छ । उपन्यासले त्यसरी प्रेमलाई उच्च धरातलमा स्थापित गर्ने प्रयत्न गरेको छ ।
समाजमा प्रेम कैयौँ विकृत रूपमा पनि देखा पर्ने गर्दछ । त्यो जति धेरै स्वार्थको सङ्कीर्ण घेरामा सीमित हुँदै जान्छ, त्यो त्यति नै विकृत हुँदै जान्छ । समाजमा प्रेमीप्रेमिकाबिचको प्रेमलाई सबैभन्दा गहन रूपमा लिने गरिन्छ । त्यसको मुख्य र प्रधान सकारात्मक पक्ष यो हो कि उनीहरूले एकअर्काबाट स्वार्थ पूरा गर्नेभन्दा एकअर्काका पक्षमा बढीभन्दा बढी त्याग वा समर्पण गर्ने गरेका हुन्छन् । कैयौँपल्ट त्यसको विपरीत पनि हुने गर्दछ र उनीहरूले आफ्नो स्वार्थको पूर्तिका लागि नै प्रेम वा विवाह पनि गर्ने गर्दछन् । त्यसको परिणामस्वरूप उनीहरूका बिचमा अन्तरविरोध बढ्दै जान्छ र उनीहरूको जीवन नारकीय बन्न जान्छ । अहिले हाम्रो समाजमा त्यस प्रकारका उदाहरण थुप्रै पाइन्छन् । घरघरमा परस्परमा झगडा मात्र हुने गर्दैनन् तर उनीहरूका बिचमा कुटपिट हुने आपसमा मुद्दामामिला चल्ने वा एकअर्कालाई हत्या गर्नेसम्मका कार्य हुने गर्दछन् । छोराले बाउलाई, बाउले छोरालाई, छोराले आमालाई पतिले पत्नीलाई, पत्नीले पतिलाई सम्म हत्या गरेका कैयौँ समाचार आइरहन्छन् तर आमाले आफ्ना छोराछोरीलाई हत्या गरेका भने कुनै उदाहरण पाइँदैनन् । उपन्यासले त्यस प्रकारका सामाजिक विकृतिलाई समाप्त गरेर प्रेमलाई निस्वार्थ रूपमा स्थापित गर्ने कुरामा जोड दिन्छ ।
त्यसरी सङ्क्षिप्तमा उपन्यासले उच्च क्रान्तिकारी, दार्शनिक र मानवीय आदर्शलाई स्थापित गर्ने प्रयत्न गरेको छ । त्यो उपन्यासको कल्पना मात्र होइन, उपन्यासले यो कुरामा जोड दिन्छ कि त्यस प्रकारका आदर्शलाई व्यवहारमा उतार्न सकिन्छ, उतार्नु पनि पर्दछ र त्यस प्रकारको उच्च दार्शनिक समझदारीका आधारमा नै संसारलाई बदल्न र त्यसलाई स्वर्ग पनि बनाउन सकिन्छ । त्यस प्रकारको दार्शनिक समझदारी नै उपन्यासको आधारशिला हो ।
साहित्यले त्यस प्रकारका जीवनका विभिन्न क्षेत्रमा उच्च बिन्दु स्थापित गर्ने र त्यसद्वारा समाजलाई अभिप्रेरित गर्ने प्रयत्न गर्नुपर्दछ र संसारको साहित्यको सर्सरी अध्ययन गर्ने हो भने पनि त्यो दिशामा साहित्यले लगातार उच्च मापदण्ड स्थापित गर्दै आएको देखिन्छ । हामीले आशा गर्नुपर्दछ नेपाली साहित्यले पनि त्यस प्रकारका उच्च मापदण्ड स्थापित गर्दै जानेछ । त्यो दिशामा यो उपन्यासले थोरै मात्र पनि योगदान दिन सक्यो भने त्यो यो उपन्यास लेखकका लागि धेरै प्रसन्नता र सन्तोषको कुरा हुनेछ ।
उपन्यासमा नेपालको साहित्यिक जगतका कैयौँ विभूतिको पनि चर्चा गरिएको छ । त्यस सिलसिलामा प्रस्तुत उपन्यासमा सामान्यः पारिजातबारे र विशेष रूपले लक्ष्मीप्रसाद देवकोटाबारे प्रकाश हाल्ने प्रयत्न गरिएको छ ।
नेपाली साहित्यमा पारिजातको प्रवेश ‘शिरीषको फूल’ का साथै हुन्छ र त्यो उपन्यासले नै उनलाई नेपाली साहित्यको उच्च शिखरमा पुऱ्याउँछ तर त्यो उपन्यासको मुख्य आधारशिला शून्य, निराशा वा मृत्यु हुन्छ तर ‘शिरीषको फूल’ लेख्ने पारिजातपछि ‘पर्खालभित्र र बाहिर’ उपन्यास लेख्न पुग्दछिन्, जसमा जीवनप्रति आशा र विश्वास तथा त्यसका लागि लड्ने उद्घोष हुन्छ । यो उल्लेखनीय छ कि पञ्चायती कालमा धेरै प्रगतिशील साहित्यकारले राजा र पञ्चायती तानाशाही व्यवस्थाका अगाडि आत्मसमर्पण गरेका थिए र त्यसरी प्रतिगामी दिशा समातेका थिए तर ‘शिरीषको फूल’ लेख्ने पारिजात ‘पर्खालभित्र र बाहिर’ लेख्नु पुगेकी थिइन् र त्यसरी उनले उच्च प्रगतिवादी र वामपन्थी दिशा समात्न पुगेकी थिइन् । उपन्यासले उनमा आएको त्यस प्रकारको परिवर्तनको चर्चा गरेको छ ।
उपन्यासमा ‘देवकोटा’ शीर्षकको एउटा पूरै परिच्छेद छ । त्यसमा उनको साहित्य वा उनको साहित्यिक जीवनको विस्तृत रूपले अध्ययन वा विश्लेषण गर्ने प्रयत्न गरिएको छ । उनको साहित्यिक जीवन मुख्य रूपले ‘मुनामदन’ बाट सुरु भयो भने पनि हुन्छ यद्यपि त्योभन्दा पहिले पनि उनी कैयौँ कविता लेख्ने गरेका थिए । ती कविताहरू मुख्य रूपले ईश्वर र आध्यात्मिक भावनासित नै सम्बन्धित थिए । त्यसपछि उनले ‘मुनामदन’ कालमा प्रवेश गर्दछन् । त्यो रचना मुख्य रूपले सामाजिक जीवनसित सम्बन्धित थियो । त्यसपछि उनी ‘सकुन्तला महाकाव्य’, ‘पहाडी पुकार’ आदि रचनाका बिचमा हुँदै ‘प्रमिथस’ महाकाव्यको रचना गर्न पुग्दछन्, जसले स्वर्गीय सत्ताप्रति विद्रोह गर्दछ र ईश्वरको अस्तित्वलाई नै अस्वीकार गर्दछ ।
उपन्यासमा ‘प्रमिथस’ बारे मार्क्सका विचारको उल्लेख गर्दै लेखिएको छ– ‘मार्क्सले आफ्नो पिएचडीको थेसिसमा प्रमिथसको उल्लेख गर्दै उनको सबैभन्दा ठुलो गुण आफ्ना सिद्धान्त र आस्थाका विरुद्ध कहिल्यै कसैका अगाडि आत्मसमर्पण नगर्ने भएको बताएका छन् । स्वर्गका राजाले उनलाई आत्मसमर्पण गर्नका लागि सन्देश पठाउँदा उनले (प्रमिथसले) जबाफमा भनेका थिए– मैले आफ्नो दुर्भाग्यलाई तिम्रो दासतासित साट्ने छैन । जिउसको गुलाम हुनुभन्दा यही चट्टानको सेवक भएर बस्नु राम्रो ठान्छु ।’ उनको त्यस प्रकारको उच्च चरित्र र नैतिक बलका कारणले नै मार्क्सले उनलाई दर्शनको इतिहासका सबैभन्दा प्रमुख सन्त र सहिद बताएका थिए । त्यस प्रकारको महान् नायकबारे महाकाव्यको रचना गरेर वास्तवमा देवकोटाले उनी (प्रमिथस) प्रति मात्र होइन, उनका सबै विचार आस्थाप्रति पनि उच्च सम्मान प्रकट गरेका छन् ।’
मृत्युको बेला उनले भनेका थिए– “आखिर रहेछ श्रीकृष्ण एक” । प्रमिथस लेख्ने देवकोटा अन्तमा कसरी “आखिर रहेछ श्रीकृष्ण एक” भन्न पुगे ? उपन्यासले त्यो कुराको विश्लेषण गर्दै भनेको छ– उनी वास्तवमा नास्तिक थिएनन् र मूल रूपमा अध्यात्मवादी नै थिए । उनी कम्युनिस्ट वा भौतिकवादी थिएनन् तैपनि उनको सोचाइ लगातार प्रगतिशील दिशामा माथि उठ्दै गएको थियो । त्यस रूपमा उपन्यासले देवकोटाको विस्तृत, गहन र सन्तुलित प्रकारले विश्लेषण गरेको छ । जे भए पनि यो कम महत्त्वपूर्ण कुरा होइन कि ‘शिरीषको फूल’ लेख्ने पारिजात ‘पर्खालभित्र र बाहिर’ लेख्न पुगेजस्तै मृत्युको सैयामा उनले ‘आखिर रहेछ श्रीकृष्ण एक’ जस्तो उद्गार प्रकट गरे पनि ‘प्रमिथस’ जस्तो महाकाव्य लेखेर उनी वास्तवमा एउटा प्रगतिशील लेखक भएको परिचय दिएका छन् । त्यसका लागि नेपालको प्रगतिशील साहित्यले उनलाई सधैँ सम्मान गरिरहने छ ।

