काठमाडौँ । राष्ट्रिय जनमोर्चाले सञ्चालन गरेको संघीताविरुद्ध काठमाडौँ केन्द्रित आन्दोलन अन्तर्गत आज (चैत २६ गते) माइतीघर मण्डलामा सभा हुने भएको छ ।
सभाअघि ललितपुरको जाउलाखेलबाट जुलुश प्रदर्शन हुँनेछ । जाउलाखेलबाट पुल्चोक, कुपन्डोल, थापाथली हुँदै माइतीघर पुगेर सभामा परिणत हुने राजमो केन्द्रीय कार्यालयले जनाएको छ ।
सभालाई राजमो महासचिव मनोज भट्टलगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।
यसअघि आइतबार चैत २४ गते शान्तिवाटिका र २५ गते चाबहिलमा जनसभाका कार्यक्रम भएका छन् । दुवै कार्यक्रममा उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएका छन् ।
राजमोले संघीयताविरुद्ध साताव्यापी रुपमा राजधानी केन्द्रित आन्दोलन तय गरेकोमा बढ्दो प्रदूषणका कारण दुई दिन छोट्याएर चैत २८ गते कार्यक्रमको समापन गरिने जनाएको छ
राजमोसहित चार शक्तिको प्रदर्शन, ट्राफिक व्यवस्थापन प्रभावित बन्न सक्ने
मंगलबार काठमाडौँ उपत्यकाका ४ स्थानमा राजनीतिक दल तथा संघसंस्थाले प्रदर्शन गर्ने भएपछि ट्राफिक व्यवस्थापन प्रभावित बन्ने देखिएको छ ।
घोषित कार्यक्रमअनुसार आज माइतीघर मण्डलामा राष्ट्रिय जनमोर्चा, बल्खुमा राष्ट्रिय प्रजातन्त्र पार्टी, बानेश्वर र माइतीघर सडक क्षेत्रमा नेपाल शिक्षक महासंघ र शान्तिवाटिकामा सहकारी र लघुवित्त पीडितले प्रदर्शन गदैछन् ।
जसले गर्दा आज काठमाडौँ उपत्यकामा सवारीसाधन सञ्चालनमा असर पर्ने देखिएको छ।
यसैले ट्राफिक प्रहरीले वैकल्पिक मार्ग प्रयोग गर्न सवारीसाधन चलाउनेहरूलाई आग्रह गरेको छ।
खासगरी राप्रपाले बल्खुलाई केन्द्र बनाएर विभिन्न स्थानबाट जुलुस निकाल्ने हुँदा ट्राफिक प्रहरीले यातायात डाइभर्सन गर्ने भएको हो।
डाइभर्सन गरिने मुख्य स्थान
खसीबजार-मकालु, कलंकी चोक-बाफल
बल्खु चोक-कुलेश्वर, कालीमाटी चोक-टेकु
कीर्तिपुर-सुन्दरीघाट, सानेपा-एकान्तकुना
आवश्यक परेमा थप गरिने डाइभर्सन प्वइन्ट
त्रिपुरेश्वर, बालाजु, हलचोक, नैकाप, सीतापाइला,
चोभार, फर्पिङ, नख्खु दोबाटो र कोटेश्वर।
कार्यक्रममा सहभागी हुन सवारीसाधन लिएर आउने व्यक्तिहरूले पार्किङ गर्ने स्थानहरू
-त्रिवि गेटदेखि चोभार सडक
-सानेपा करिडोर सडक (दुवैतर्फ)
-चोभार सुख्खा बन्दरगाह
-नयाँबसपार्क
-सीतापाइला-बाफल सडकखण्डमा एक लाइन