काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कर्मचारीले मेयर बालेन्द्र शाहविरुद्ध नाराबाजी गरेका छन् ।
महानगरमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाँईको स्वागत गर्दै कर्मचारीले बालेनविरुद्ध नारा लगाएका हुन् ।
प्रमुख प्रशासकीय अधिकृत गुरागाईँ ३ महिना १४ दिनपछि आज कार्यालय पुगेका छन्।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुरागाईँलाई काठमाडौं महानगरपालिकामै हाजिर गर्ने वातावरण बनाइदिनु भन्दै आज भन्दा ठिक एक महिनाअघि पत्र पठाएको थियो।
उपप्रमुख सुनिता डंगोल, अधिकांश कार्यपालिका सदस्य, वडाध्यक्षहरू र कर्मचारी पनि उनी कार्यालय पुग्दा सँगै रहेका छन्।
मेयर बालेन शाहले उनलाई अवरोध गर्न नगर प्रहरी परिचालन गरे पनि नगर प्रहरीको अवरोध छिचोल्दै कार्यालय प्रवेश गरेका हुन्।
कार्यालय प्रवेश गरेपछि पनि उनी कार्यकक्षमा प्रवेश गर्न खोज्दा मेयर बालेन शाहले कार्यकक्षमै चाबी लगाएर सम्पर्कविहीन भएको कर्मचारीहरूले बताएका छन्।
गुरागाईँले कार्यकक्षमा प्रवेश गर्न रोक लागाएपछि बोर्ड बैठक हलमा उपप्रमुख सुनिता डंगोल, वडाध्यक्षहरू सबै बैठक बसेका थिए।
त्यसपछि कार्यकक्षको ताला तोडेर प्रमुख प्रशासकीीय अधिकृतलाई कार्यकक्ष प्रवेश गराइएको थियो ।
अनौपचारिक बैठकमा उपप्रमुख डंगोलले मेयर शाहको चर्को आलोचना गरिन्।
‘कसैको मनमुटाव होला। जनप्रतिनिधि भएकाले हामी आम नागरिकको सेवामा तल्लीन हुनुपर्छ,’ उनले भनिन्।
उनले हरेक घटनाक्रममा आफूहरू जानकार रहेको भन्दै मेयर शाहलाई कोठामा बसेर निर्देशन नदिन चेतावनीसमेत दिइन् ।
‘मन्त्रालयबाट पठाएपछि प्रमुख प्रशासकीय अघिकृत हाजिर गर्न आउनुभएको छ,’ उनले भनिन्, ‘उहाँ हाजिर गर्न आउँदा यो झडपको अवस्था हुनु राम्रो कुरा होइन। कर्मचारी–कर्मचारीबीच लडाइँ हुनु पनि राम्रो होइन।’
उनले यस्तो मनमुटाव संस्थाभित्र हुन नहुने भन्दै प्रमुख प्रशासकीय अघिकृत दोषी प्रमाणित भएको अवस्थामा कारबाही गर्न तयार रहेको धारणा पनि राखिन्।
अहिले उनलाई दोषी प्रमाणित गर्न नसकेको बताउँदै उनले थपिन्, ‘उहाँलाई हाजिर गर्ने व्यवस्था गर्नुपर्छ। हजारौँ कर्मचारी र लाखौँ काठमाडौंवासीले दुःख पाएका छन्। क्यान्सरपीडितलाई पनि हामीले पैसा दिन सकेका छैनौँ। अझै छानबिन गर्नुपर्ने भए गर्ने हो। तर, यो पीडामा राख्नुहुँदैन।’
महानगरवासीको हित चाहने हो भने सबै एकजुट हुनुपर्ने उनको धारणा थियो।
उनले भनिन्, ‘यो तमासा हामीले हेर्नुपर्ने ? मेयरको आदेश हो भने मेयर अघि आउनुपर्छ। होइन भने कोठामा बसेर आदेश दिन पाइँदैन। पहिला आजको विषय समाधान गर्छौं। त्यसपछि बोर्ड बैठक बस्छौँ। आजका लागि यो समस्या समाधान गर्नुपर्छ।’